२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

नेपाली राजनीतिमा संस्कारको खडेरी

ADV
२०८१ असोज २ गते ०६:२५
नेपाली राजनीतिमा संस्कारको खडेरी

–नन्दराम खड्का 

राज्य सञ्चालन गर्ने हेतुले स्थापित राजनैतिक परम्परा ठ्याक्कै कसले स्थापित गर्यो भन्ने आजसम्म यकिन छैन । नेपालको मध्यकालीन इतिहासलाई हेर्ने हो भने काठमाडौंमा वि.स.९३६ देखि लिच्छविकालीन राजाहरुले राज्य चलाएका थिए ।  

त्यसको केही सय वर्षपछि वि.सं.१२५८ सालमा मल्लहरु राजा बने । उनीहरुले समयक्रसँगै भक्तपुर, पाटन र काठमाडौंलाई २ भागमा विभाजन गरेर राज्य सञ्चालन गरेका थिए । समयक्रसँगै वाइसेचौबिसे राज्यहरू विस्तार हुँदै गए । त्यो पनि टुक्रिँदैटुक्रिँदै बिक्रम सम्वत्को १८औँ शताब्दीसम्म पुग्दा मेचीदेखि महाकालीको भेगमा ५२ वटा भन्दा बढी राज्य स्थापित हुन आए । १८औं शताब्दीमा गोरखाका तत्कालीन राजा पृथ्वीनारायण शाहले विभिन्न राज्यहरुसँग युद्ध जितेर नेपाल एकीकरण गरी काठमाडौंलाई देशको राजधानी घोषणा गरेका थिए । समयक्रमसँगै १०४ वर्षे राणा शासनपछि आन्दोलनमार्फत् २००७ सालमा प्रजातान्त्रिक राजनैतिक व्यवस्था स्थापना हुनपुुग्यो । ०१७ सालमा पञ्चायती व्यवस्था र २०४६ सालमा बहुदलीय व्यवस्था स्थापना भयो । २०६२/०६३ मा राजसंस्थाकै अन्त्य गरेर गणतन्त्र स्थापित गरियो । इतिहासलाई नियाल्ने हो भने मुलुक आजको राजनैतिक प्रणालीसम्म आइपुग्दा इतिहासका विभिन्न कालखण्डमा थुप्रै राजनैतिक घटनाक्रमहरु घटेका छन् । सत्ता हडप्ने दाउमा थुप्रै झालझेल, चतु¥याइँ, झुट, धोका, हत्या आदि हर्कतहरु हुने गरेका घटना इतिहासमा पाइन्छन् । राजनैतिक इतिहासलाई हेर्दा राज्यसत्ता प्राप्तिको स्वार्थमा मानिसहरु विभिन्न अमानवीय हर्कत गर्न समेत पछि पर्दैन भन्ने पनि देखिन्छ ।

पूर्वीय प्राचीन धर्म दर्शनहरुमा पनि राज्य र राजनैतिक परम्परा अध्ययन गर्न पाइन्छ । विष्णु महापुराणमा राजा बलीको बारेमा वर्णन गरिएको छ । राजा बलीले १०० यज्ञ अनुष्ठान गरेर स्वर्गका राजा ईन्द्रको सिंहासन हडप्न खोजेको भन्ने पौराणिक कथाहरुमा वर्णित छ । अर्थात् त्यस समयपनि राज्य प्राप्तिका लागि मानिसहरुले हर प्रयास गर्दथे, मानिसले धर्तीको राजा हुने अवसर पायो भने स्वर्गलाई समेत निशाना साध्न पछि पर्दैन रहेछ भन्ने आश्चर्यजनक किम्बदन्तीहरु पाइन्छन्  । प्रशिद्ध हिन्दु ग्रन्थ रामायणमा हजारौं वर्ष पहिले त्रेता युगमा भगवान श्रीरामको वंशज राजा रहेको वर्णन गरिएको छ । उनका पिता दशरथ अयोध्याका राजा थिए । जब उनले आफू वृद्व भएको महसुस गरेर जेष्ठ सन्तान रहेका भगवान श्रीरामलाई राज्यभार सुम्पने निर्णय गरेका थिए, त्यही बखत उनकी सौतेनी आमा कैकेइले आफ्नो छोरा भरतलाई राजा बनाउने नियतले राज्यभिषेककै दिन राजा रामलाई १४ वर्षे कठोर वनवास जीवन बिताउन अयोध्या नगरीको दरबारबाट निकाला गरिएको कहानी पढ्न पाइन्छ । यसको मतलब तत्कालीन समयमा पनि राजनीतिलाई लिएर परिवारमै द्वेषभाव थियो भन्ने स्पष्ट हुन्छ । राजनैतिक स्वार्थ अगाडि परापूर्व काल देखि नै मानिसहरुले अहंकार र स्वार्थवस अमानवीय क्रियाकलाप समेत गर्न पछि पर्दैनथिए भन्ने भावार्थ बुझिन्छ ।

महाभारत ग्रन्थमा उल्लेख गरिएअनुसार १८ दिने भीषण महासंग्राम शुरु हुनु अगाडि पाण्डुका सन्तान ५ पाण्डवलाई उनकै काका का छोरा राजकुमार दुर्योधनले ५ गाउँ दिन अस्वीकार गरेको थिए । स्वयं भगवान् श्री कृष्णले शान्ति दुत बनेर सिंगो तत्कालीन हस्तिनापुर राज्यबाट मात्रै ५ गाउँ दिन अनुरोध गर्दापनि एकल राज गर्ने उद्देश्यले कौरबहरु राजी हुन सकेनन् । बरु उल्टै वंश विनाश हुने गरी महायुद्धलाई आमन्त्रण दिन तयार बने । महाभारत युद्वलाई अधर्ममाथि धर्मको लडाइँ भन्ने गरिएपनि त्यसको कारण राज्य महत्वाकांक्षा नै रहेको देखिन्छ । १२ वर्ष वनबास र १ वर्ष अज्ञातवास बसेर आएका आफ्नै ठुलोबुवाका सन्तानहरुलाई दुर्योधनले आफ्नो राज्यबाट शरणका लागि सीमित गाउँ दिन नमानेको पढ्न पाइन्छ ।

सदियौँ कालदेखि नै सिंहासन र सत्ता मोह कै कारण विश्व र नेपाली राजनीतिमा द्वेष, क्लेश लगायत अनेकौं घृणित खेल र षड्यन्त्रहरु रचिँदै आएका थुप्रै उदाहरणहरु पढ्न पाइन्छ ।  त्यसो त राजनैतिक परम्परामा त्याग, आदर्श र सरल राजनीतिज्ञ नभएका भने होइनन् । कमै भएपनी त्यस्ता असल छवि बनाएका शासकहरुका बारेमा पनि इतिहासहरु पढ्न पाइन्छन् । पछिल्ला नेपाली राजनीतिमा बिपी कोइराला र पुष्पलाल श्रेष्ठ, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मदन भण्डारी लागायतका स्वर्गीय नेतालाई आजपनि आदर्श राजनीतिज्ञका रुपमा प्रायः सबै पार्टीमा आस्था राख्नेहरुले स्वीकार्ने गर्दछन् ।

तर, पछिल्लो समय नेपाली राजनैतिक बजारमा संस्कारको खडेरी बढ्न थालेको छ । राजनीति राज्य सञ्चालन गर्ने नीति भएकाले अधिकांश नागरिकहरुको चासो राजनीतिप्रति हुन्छ । कुनै मानिसलाई अन्य कुनै विषयमा ज्ञान होस् नहोस् तर, उसलाई सामान्य राजनैतिक ज्ञान भने भएको पाइन्छ । चिया पसलदेखि भट्टी पसलसम्म आजकाल राजनीति कै चर्चा बढी हुने गर्दछ । राजनैतिक विचारलाई लिएर एक आपसमा तर्क बितर्क, वादविवाद, आरोपप्रत्यारोप, चरित्र हत्या, गाली, धम्कीका क्रियाकलापहरु छताछुल्ल बन्दै गैरहेका छन् । बढ्दो प्रविधीको युगमा आजभोलि सामाजिक संजालहरुमा पनि राजनैतिक टिप्पणी, समर्थन र विरोध लगायतका छुद्र संस्कारहरु सतहमा आउन थालेका छन् । गाउँदेखि केन्द्रसम्मका राजनैतिक विषयमा मानिसहरु विवेक गुमाएर एक आपसमा उछितो काढ्ने, झगडा गर्ने, धम्की दिने बोली बार्ने घटनाहरु नेपाली समाजमा नौला भने होइनन् । तथापि पछिल्लो समय यो प्रवृत्ति नराम्ररी मौलाउँदै गइरहेको छ । स्थानीय नेताहरु आफ्नो गतिविधि लुकाउन, देखाउन, प्रचारप्रसार गर्न नै कार्यकर्ता जुधाउनमा व्यस्त देखिन्छन् । अझ राजनीतिमा पछिल्लो समय अन्टसन्टको होडबाजीले पनि गतिलै स्थान पाएको छ ।  

राज्य सञ्चालन गर्ने सबैभन्दा प्रमुख र जिम्मेवार निति हो राजनीति । कार्यकर्ताहरु विचारका नाममा सामाजिक एकता, संस्कार, सहिष्णुता र मानवीयताको जग नै भत्काउने हर्कत गर्न पछि नपरेको देखिन्छ । जुुन विकृतिले सबैभन्दा ठूलो नीतिलाई घृणित र पतित बनाइरहेको छ । गाउँ–गाउँमा राजनीति नपसेको कुनै घर छैन, कुनै परिवार छैन । राजनीति नपुगेको कुनै समाज छैन । जातमा राजनीति, धर्ममा राजनीति, शिक्षामा राजनीति, सबैतिर राजनीति हावी देखिन्छ । तर, राजनैतिक चेतनालाई सहि सदुपयोग गर्न नसक्दा राजनीतिलाई सामाजिक एकता र सहिष्णुतालाई संकुचित बनाउने नकारात्मक अस्त्रको रुपमा स्वीकार गर्ने अवस्थाको निर्माण हुँदै आएको छ ।  

आफ्ना–आफ्नाबीच नै राजनैतिक मतभेदले चर्का विवाद बढ्दै जान थालेका छन् । हाम्रो परम्परागत सामाजिक दुरी र मानवीय दुरीलाई राजनैतिक विचारको दुरुपयोगले साँघुरो बनाउँदै लगेको देखिन्छ । विकसित मुलुकहरुमा अक्सर चुनावका बेला मात्रै राजनैतिक सक्रियता बढाइएको देखिन्छ । चुनाव ताका पनि उम्मेदवारहरु एक्लै मत मागेर हिँडिरहेको दृश्य सामाजिक संजालहरुमा देखिन्छन् । त्यसो त राजनीतिको अनेकौँ परिभाषा रहेपनि सारमा राजनीति भनेको सामाजिक सेवाको चरम अवस्था हो । यसले राज्य सञ्चालनको निति निर्माण गरेर राज्य सञ्चालन गर्ने तथा नागरिकलाई सहज दैनिकी बनाउन मद्दत गर्दै चार किल्लाको रक्षा गर्ने नीति हो । राजनीतिमा आबद्ध भएर आफ्नो जीविका सञ्चालन गर्ने र समृद्ध बन्ने पेशा भने होईन । राजनीति गर्नेहरुले भएको सबैथोक त्यागेर समाज र राष्ट्रको कल्याणका लागि आफूलाई समर्पण गर्ने सामाजिक जिम्मेवारी हो । 

पछिल्लो समय नेपाली समाजमा राजनीतिलाई पेशा बनाएर व्यक्तिगत स्वार्थका लागि पदीय जिम्मेवारीको दुरुपयोग गरेर अनियमितता र भ्रष्टाचार जस्ता विकासका प्रमुख शत्रु रहेका विकृतिहरुलाई बढवा दिने गरेको पाइन्छ । राजनीतिको साहारा लिएर एकपटक सार्वजनिक जिम्मेवारीमा पुगेपछि आफू, आफ्नो परिवार, नातेदार र कार्यकर्ताको स्वार्थपूूर्ती गर्ने माध्यम राजनीतिलाई बनाइन थालिएको छ । पदीय जिम्मेवारीबाट बाहिर भैसक्दापनि जिम्मेवारी सम्हालेका समय विभिन्न स्वार्थका लागि राजनैतिक शक्ति दुरुपयोग गरेर भ्रष्टाचार गरेकाहरु हिरासत गएका राजनीतिज्ञहरुको इतिहास पनि हाम्रै समाज र मुलुकमा छन् । जब–जबसम्म राजनीतिलाई राजनीति जस्तो स्वच्छ र विशाल नीति बनाउन राजनीतिज्ञहरु लाग्दैनन् तबसम्म कुनैपनि समाज र राष्ट्रको आमूल परिवर्तनको परिकल्पना एका देशको कहानी जस्तै बनिरहन्छन् ।  

पछिल्लो समय संस्कारको खडेरी बढ्दै गइरहेको नेपाली राजनीतिमा सम्पर्ण राजनीतिज्ञ र खासगरी राजनीति गर्ने युवाहरुले संस्कार, मर्यादा, इमान, आदर्श र मर्यादा सहितको राजनैतिक संस्कार स्थापित गर्न आवश्यक देखिन्छ । सबै क्षेत्रमा जर्बजस्त प्रभाव जमाउन सक्ने राजनीति शुद्धीकरण गरेर सामाजिक एकताको शुत्रमा बाँध्न आवश्यक छ । अन्यथा अन्धभक्त ढंगबाट गरिने स्वार्थ केन्द्रित राजनीतिले समाजमा अराजकता बढाउने र समाजलाई आपसी द्वन्द्वमा ढकेल्ने प्रवल संभावना देखिन्छ । भावी पुस्तामा सामाजिक एकतामा विचारको विभेद, हिंसा, भ्रष्टाचार लगायतका बेथितिहरुलाई प्रश्रय दिन दूरगामी नकारात्मक असर पुर्याउने पक्का देखिन्छ । इमान, नैतिकता, संस्कार र आदर्श सहितको राजनीतिले मात्रै विविधतायुक्त समाजलाई एकताबद्व बनाएर समृद्धिको दिशामा लैजान सक्दछ । राजनीतिमा व्यापक सभ्यता र संस्कारको बहस र अभ्यास आवश्यक छ । 

ADVADV

सम्बन्धित खबर

Advertise