२०८२ जेठ २० गते मङ्गलवार / Jun 03 , 2025 , Tuesday
२०८२ जेठ २० गते मङ्गलवार
Ads

सुनौला हजार दिनका आमाहरुलाई सम्मान

सन्तोष पौडेल
२०८१ जेठ ३० गते २२:३२
सुनौला हजार दिनका आमाहरुलाई सम्मान

बर्दिया : सरसफाइसम्बन्धी ६ असल व्यवहारहरु आफ्नो दैनिक जीवनमा लागू गरेका सुनौला हजार दिनका आमाहरुलाई बर्दियाको राजापुरमा सम्मान गरिएको छ । खानेपानी सरसफाइ तथा स्वच्छता प्रवद्र्धन कार्यक्रममा नियमित रूपमा सहभागी भइ ६ वटा सूचकहरु दैनिक जीवनमा लागू गरेका राजापुर नगरपालिका वडा नं ६ का नमुना परिवारका ४० जना सुनौला हजार दिनका आमाहरुलाई सम्मान गरिएको हो ।

मापुर टपरा स्वास्थ्य चौकीमा आयोजित  खानेपानी सरसफाइ स्वच्छता प्रवद्र्धन उन्मुख घरधुरी घोषणा कार्यक्रममा उनीहरुलाई राजापुर नगरपालिकाकी उपप्रमुख मनकला कुमारी चौधरी र वडा नं. ६ का वडा अध्यक्ष असराज न्यौपानेले संयुक्त रुपमा सरसफाइ सामग्री तथा सम्मानपत्र प्रदान गर्दै सम्मान गरेका हुन् । 

प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारू जनसेवा केन्द्रको साझेदारी तथा राजापुर नगरपालिकाको समन्वयमा सञ्चालित सशक्त बालिका परियोजना अन्तर्गत सञ्चालित घरघुरी तहमा खानेपानी सरसफाइ तथा स्वच्छता प्रवद्र्धन कार्यक्रममार्फत उनीहरुलाई सम्मान गरिएको हो ।

वडा तथा समुदायस्तरमा खानेपानी सरसफाइ स्वच्छता सम्बन्धी ६ वटा सूचकहरु चर्पीको गुणस्तर तथा प्रयोग, जोखिपूर्ण समयमा साबुन पानीले हात धुने अभ्यास, महिनावारी सरसफाइ, खानेपानीको सुरक्षा, हात धुने स्थान, खानाका स्वच्छता एवम् सुरक्षा, घर तथा आँगनको सरसफाइको अवस्थाको बारेमा घरधुरी सर्वेक्षण तथा अनुगमन पश्चात नमुना परिवारमा छनौट गरी सम्मान गरिएको राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दियाकी फिल्ड सुपरभाइजर रेणुका चन्दले बताइन् । 

समुदायस्तरमा खानेपानी सरसफाइ स्वच्छता प्रवद्र्धन गर्नमा महिला स्वास्थ्य स्वंयसेविका, आमा समुहको भूमिका प्रभावकारी हुने बताउँदै राजापुर नगरपालिकाकी उपप्रमुख चौधरीले आफ्नो घर परिवार, टोल, छिमेकमा खानेपानी सरसफाइ स्वच्छता प्रवद्र्धन गर्नका लागि निरन्तर रुपमा सक्रियता जनाउन आग्रह गरिन् । वडा अध्यक्ष न्यौपानेले राधाकृष्ण थारु जनसेवा केन्द्रले वडा तहमा साथै समुदायस्तरमा खानेपानी सरसफाइ स्वच्छता प्रवद्र्धन गर्नमा अति प्रशंसनीय कार्य गरेको बताउँदै संस्थासँग सहकार्य गर्न वडा सधैं तयार रहेको बताए ।

ADV

सम्बन्धित खबर