२०८२ चैत ८ गते आइतवार / Mar 22 , 2026 , Sunday
२०८२ चैत ८ गते आइतवार
Ads

कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’

shivam cement
रासस
२०८१ असोज ५ गते १३:२०
Shares
कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’

दाङ : लमही नगरपालिका–९ रिहार निवासी ५७ वर्षीया सम्झना चौधरीले कुचोबाट आफ्नो जीविकोपार्जन गर्दै आएकी छिन्। उनले कुचो बनाउने र बजारमा चामलसँग साटेर घर खर्च चलाउने गर्छिन् । 

“कुचो बनाएर घोराही बजार लैजान्छु, धेरैले चामल दिनुहुन्छ”, चौधरीले भनिन्, “कुचो बेचेर, साटेर सङ्कलन भएको चामल तथा रकमले जीविकोपार्जन भइरहेको छ ।” सिरुको कुचो बनाउने गरेको भन्दै यसको बजारमा माग पनि धेरै रहेको उनले बताइन् ।

बजारमा माग भएकाले पछिल्लो एक वर्षदेखि कुचो बनाएर बिक्री गर्ने, चामलसँग साट्ने गरेको चौधरीले बताइन् । “एउटा कुचोबापत दुई मानासम्म चामल दिने गर्नुहुन्छ । नगदभन्दा चामलसँग बढी कारोबार हुने गरेको छ”, उनले भनिन् । 

चार सन्तानकी आमा सम्झनाले छोराछोरीको बिहेपछि आफू घरमा एकै रहेको बताइन् । एक पटकमा ५० वटासम्म कुचो बनाएर बिक्री गरेपछि त्यसबाट भएको आम्दानीले दुई महिनासम्म घर खर्च चलाउन पुग्ने उनको भनाइ छ । “काचो सिरु ल्याएर त्यसबाट कुचो बनाउछौँ, त्यही कुचो सुकेपछि बेच्छौँ”, उनले भनिन् । 

सिरुको कुचो बजारमा पाइने कुचोभन्दा राम्रो हुने भएकाले धेरैले माग गर्ने भन्दै यो पेसालाई निरन्तरता दिने चौधरीले बताइन् । “उमेर पनि गइसक्यो, अरु काम गर्न सकिदैन”, उनले भनिन्, “कुचो बिक्री हुँदासम्म यही पेसालाई निरन्तरता दिनेछु ।” काम सानो वा ठूलो नहुने भन्दै महिला आत्मनिर्भर हुन आर्थिकस्तर सुधार गर्नुपर्नेमा उनले जोड दिइन् ।

ताजा खबर

सम्बन्धित खबर