२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

पोखरामा एक महिनामै ६ गुणाले बढ्यो डेंगु संक्रमण

ADV
रासस
२०८१ असोज ५ गते १६:३०
पोखरामा एक महिनामै ६ गुणाले बढ्यो डेंगु संक्रमण

पोखरा : कास्कीको पोखरा महानगरपालिकामा गत भदौ पहिलो सातायता डेंगु संक्रमण ६ गुणाले बढेको छ ।

भदौ पहिलो साता डेंगु संक्रमितको संख्या सात सयको आसपास रहेकामा महिना दिनमा बढेर चार हजार चार सय ३३ पुगेको हो । महानगरको स्वास्थ्य महाशाखाका अनुसार संक्रमितको उक्त कुल संख्या गत पुसयताको हो ।

महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले संक्रमितको संख्या ३१ सयबढी पुग्न नदिइ डेंगु रोकथाम गर्ने लक्ष्य लिइएका उक्त लक्ष्य पूरा गर्न नसकिएको बताए ।

‘पछिल्लो एक महिनामा डेंगु संक्रमण ह्वात्तै बढ्यो, यही अवस्था रहिरहे पाँच हजार बढीमा संक्रमण देखिन सक्छ’, उनले भने, ‘प्रत्येक व्यक्तिले सावधानी नअपनाएसम्म डेंगु रोकथाम चुनौतीपूर्ण छ ।’

गतवर्ष पोखरा महानगरपालिकाका ती हजार तीन सय ७० जनामा डेगु संक्रमण पुष्टि भएको थियो । कात्तिक महिनासम्म संक्रमणको जोखिम रहने भएकाले यो वर्ष संक्रमितको संख्या अझै बढ्नसक्ने देखिएको जनस्वास्थ्य निरीक्षक रेग्मीले बताए । उनका अनुसार डेंगु संक्रमणबाट पोखरामा तीन जनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका–५ का ५२ वर्षीया महिला, १२ का ४० वर्षीय र १० का ८० वर्षीय पुरुषको डेंगु कारण मृत्यु भएको उनले जानकारी दिए । पोखरा महानगरपालिका–नं ५, ८ लगायतका वडा डेंगुबाट बढी प्रभावित भएको स्वास्थ्य महाशाखाले जनाएको छ ।

जनघनत्व बढी भएका ठाउँमा डेंगु छिटो फैलिने हुँदा महानगरको मुख्य सहरी क्षेत्रमा संक्रमण तीव्र बनेको हो । संक्रमण तीव्र बन्दै जाँदा उक्त रोग लाग्नबाट जोगिन विशेष सावधानी अपनाउन चिकित्सक तथा स्वास्थ्यकर्मीले सुझाएका छन् ।

स्वास्थ्य कार्यालय, कास्कीका प्रमुख रामबहादुर नेपालीले संक्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुनसक्ने भएकाले डेंगु रोग सार्ने लामखुट्टेको टोकाइबाट बच्नु नै उक्त रोगबाट बच्ने उत्तम उपाय भएको बताए ।

प्रमुख नेपालीले असारदेखि कात्तिकसम्म डेंगुको संक्रमण बढी फैलने बताए । समयमा जोखिम न्यूनीकरण र नियन्त्रण गर्न नसके डेंगुले महामारीको रुप लिनसक्ने प्रमुख नेपालीले बताए ।

‘डेंगुलाई सामान्य रुपले नसोचौँ, यसका अप्रिय उदाहरण हामीसँग छन्’, उनले भने, ‘डेंगु भइसकेपछि धेरै पीडा र दर्द हुन्छ, उपचार र हेरचाह पुगेन भने स्वास्थ्य अवस्था जटिल बन्दै गएर बिरामीको मृत्युसमेत हुनसक्छ ।’

डेंगु रोकथाम र नियन्त्रणका लागि सबै पक्ष सचेत र जिम्मेवार हुनुपर्ने प्रमुख नेपालीको भनाइ छ । चार प्रकारको भाइरसबाट मानिसमा डेंगु संक्रमण हुने गरेको उनले बताए । उक्त लामखुट्टले जम्मा भएको सफा पानीमा फुल पार्ने र लार्भा जन्माउने गरेको उनको भनाइ छ । यो लामखुट्टेले दिनमा मात्र टोक्ने गरेको उनले बताए ।

डेंगु संक्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकान जस्ता लक्षण देखिए चिकित्सकको विशेष निगरानीमा उपचार गर्नुपर्ने चिकित्सक बताउँछन् ।

डेंगु भएमा आराम गर्ने, पानीलगायत झोलिलो पदार्थ पिउने र जथाभावी औषधि सेवन गर्न नहुने उनीहरुको सुझाव छ । वृद्धवृद्धा, दीर्घरोगी, गर्भवती र बालबालिकामा डेंगुको संक्रमण भएमा स्वास्थ्यमा जटिलता निम्तन सक्ने खतरा हुने प्रमुख नेपालीले बताए ।

डेंगु सार्ने ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टे जमेको सफा पानीमा बस्ने हुँदा घर, कार्यालय र सार्वजनिकस्थलमा पानी जम्न दिन नहुने उनको भनाइ छ ।

डेंगुको भाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, भाँडाकुँडा, ड्रम आदिमा जम्मा भएको सफा पानीमा बस्ने हुँदा तिनलाई खाली गर्नुपर्ने प्रमुख नेपालीले बताए ।

कास्कीमा हालसम्म चार हजार पाँच सय ५२ जनामा डेंगु संक्रमण पुष्टि भएकामा पोखरा महानगरपालिकाबाहेक अन्नपूर्ण, रुपा र मादी गाउँपालिकामा नौ/नौजना र माछापुच्छ्रे गाउँपालिकामा ३८ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise