२०८१ पुष ७ गते आइतवार / Dec 22 , 2024 , Sunday
२०८१ पुष ७ गते आइतवार

संविधानमाथि उठिरहेको प्रश्न

ADV
२०८१ असोज ६ गते ०६:२५
संविधानमाथि उठिरहेको प्रश्न

–अच्युतप्रसाद पौडेल ‘चिन्तन’ 

हाम्रो संविधान निकै जोसिलो र जाँगरिलो छ । निकै ठुलो खर्च, निकै धेरै समय, निकै धेरै नेपालीलाई निलेर आएको संविधानमा निकै जोस छ, यति धेरै जोस, यसअघिका कुनै संविधानमा थिएन । अहिलेको संविधान आएपछि व्यापार घाटामा हामी उन्नत भएका छौँ, आन्तरिक र बाह्य ऋणमा अब्बल छौँ, नेपाली जनता निर्याततक र खाद्यान्नलगायतका तमाम विषयवस्तुहरूको आयतक पनि बन्न अब्बल छौँ । नयाँ पुस्ता नचाहिने भएका छौँ र जतिसुकै रोगी भए पनि उमेर ढल्केका र पाका भनिएका नेताहरूबाट देश सञ्चालन गर्न पाएका छौँ, त्यो पनि पालैपालो । आफ्नो जातभातमा नआउनेको त सास पनि गनाउने गरेको छ, बालेनको काठमाडौं सुन्दरता मन नपर्ने भएको छ, एक अर्कामा पानी बाराबार छ । यसअघि आफ्नो जातभात मिल्दा कति रमाइलो थियो, सिंहदरबार र बालुवाटारलाई, अब कुमारी जात्रा, इन्द्रजात्रा, अनन्त चतुर्दशी जस्तो सांस्कृतिक, धार्मिक र ऐतिहासिक चाड जसले राष्ट्रिय समन्वय, आपसी मैत्री गराउँथ्यो, त्यो नचाहिने भएको छ । र वर्षभरि भएका कुण्ठा बिर्साउने गरी सञ्चालन हुने गरेका यस्ता पर्वमा एकले अर्कालाई देख्नै नपर्ने गरी देशको इतिहासमै रेकर्ड तोड्ने गरी कार्यक्रम देखाउन पनि हाम्रो संविधान सफल भएको छ । कसैको टिसर्ट लगाएर युवाहरू नयाँ सडक गएकै भरमा प्रहरी नियन्त्रणमा राख्ने हाम्रो संविधान छ र यसपालि त पहिलोपल्ट मधेस सरकारको आन्तरिक मन्त्रालयले दिवसको रूपमा पनि मानेको छ ।

यो संविधान आएपछि धेरै नेपालीहरूको घर–आँगनमा अँध्यारो छाएको थियो र अहिले असोज ३ गते यसको दिवस मनाइरहँदा काठमाडौँको थापाथलीमा यसमा आगलागी भइरहेको थियो, मधेसका धेरै ठाउँहरूमा ब्ल्याक आउट भइरहेको थियो, जताततै उग्र नारा अनि संविधानको अन्त्येष्टि पनि हुँदै थियो, प्रहरी र प्रदर्शनकारी बिच झडप पनि । काठमाडौँमा त अलि अघिदेखि नै धेरै जोस जाँगरसहित युवाहरू सडकमा विरोध गर्दै ओइरिइरहेका छन् र वैदिक सनातनीहरूको आफ्नो भावना मुखरित भएन, देशमा रहेका बहुसंख्यकक वैदिकहरूलाई होच्याइयो भन्दै ठुलै असन्तोष व्यक्त गरिरहेका देखिन्थे । गति छोडेरै यसको विरोध गर्नेलाई अदालतबाट स्वीकृति लिई पक्राउ गर्न, घर घेराउ भएका दृश्यहरू पनि देखिन्थे भने सामाजिक सञ्जालहरूमा कालो दिवस भन्दै छरपस्ट आफ्ना अभिव्यक्तिहरू प्रस्तुत भइरहेका थिए । रेडियो समाचारलगायतका कार्यक्रममा यो संविधानले निजामती सेवा ऐन ल्याएन, शिक्षा सेवालगायतका दर्जनौँ ऐन कानुनहरू बनाएन र पैसा असुल्ने खालको मात्र कानुन बनायो भन्दै विज्ञहरूको लामो अभिव्यक्तिहरू सुनिँदै थियो ।

संविधान सञ्चालकहरू भने टुँडिखेलमा चर्को भाषण ठोक्दै थिए र भन्दै थिए, समृद्धि नचाहने, विकास नचाहने, परिवर्तनलाई आत्मसात् नगर्नेहरूले विरोध गर्दैछन् । युवाहरूमा केही गरौँ भन्ने हुटहुटी छ, त्यसलाई रोक्न चाहनेहरूको समूहप्रति जाइलाग्नु पर्छ । बिचरा तिनलाई थाहा रहेन कि युवा जति खाडी पसे, देशमा भ्वाङ्ग परिसकेको छ, भ्रष्टाचारको खाल्डोमा देश फसिसकेको छ, देशका गाउँ बस्ती उजाड भइसकेको छ, बाटा घाटाहरू रद्दीको टोकरीमा फाल्ने बेला भइसकेको छ, मलामी र जन्ती जाने मान्छे छैन, रोजगार र उत्पादन छैन, सवा सय वर्षमा २९ सय मेगावाट बिजुली उत्पादन गर्ने देशमा खपत नभएर निर्यात गर्नु परेको छ, जसले खपत गरेको थियो, उसले महसुल तिर्न मानेको छैन र २० युनिट प्रयोग गरिब उपभोक्ताको लाइन संविधान दिवसकै सेरोफेरोमा काटिएको छ, चालु खर्चलाई देशले धान्न नसकेको छ, पुँजीगत खर्च भएको छैन र भएको पनि असारे, डोजरे र माटो छोप्ने मात्र भएको छ र वडाध्यक्षहरूको डोजरहरूले प्रकृतिको दोहन गरेर भूस्खलनको मात्रा तीव्र बढाएको छ । मोनो रेल र मेट्रो रेल अनि घरघरमा ग्याँसका पाइप लाइनको सपना अधुरो छ ।

सार्वजनिक बसहरू दिनका दिन नदी स्नान गर्न जाने गरेका छन्, खोज्न गएको विदेशी चुम्बक पनि तिनकै साथमा सती जाने गरेका छन्, आफ्नो भुटीभ्वाँग क्षमता नभए पनि पूर्वपश्चिम रेल चलाउने सपना देखाउने उन्नत संविधान छ हामीकहाँ, भएको रेललाई घुम्टो ओढाउने, चालु राख्दा निकै ठुलो घाटामा जाने अनि यात्रुहरूको शिला खोज्नु पर्ने बेला छ, बनेका अन्तर्राष्ट्रिय विमानस्थलहरू सुकी टाट हुन लागेका छन् भने एयरपोर्टको छोटो दूरीको प्रवेश आज्ञा पाएको छैन, अर्को सिमरामा विमानस्थल बनाउने धोको पनि राखेको छ यो संविधानले ।

संविधानले सडकमा नारा लागिरहँदा एमसीसीमै गरिसकिएको छ, गण्डकमा गरिएको छ, कोसीमा गरिएको छ, महाकाली, टनकपुरमा गरिसकिएको छ, चुच्चे र बुच्चे दुई थरी नक्सा छन् । नागरिकता विधेयकमा एउटा सभामुख अर्कै राष्ट्र प्रमुख, लिपुलेक, कालापानीमा विदेशीले एक दशक लगाएर बनाएको सडक उद्घाटनमा मात्र जानकारी पाउने हाम्रो लोकतन्त्र र संविधान संसारमै अब्बल भन्नुपर्छ । संसदमा यति धेरै ठुलो जुहारी छ कि आम नेपालीहरूलाई त्यही जुहारी हेरेर आफू रोजगार भएको महसूस गर्नु परेको छ । अदालतले दिएको परमादेशलाई पटक–पटक भ्याकेटमा गइरहन्छ, हाम्रो संविधान त्यसैले अब्बल छ, जोसिलो छ, फुर्तिलो छ, स्वतन्त्र न्यायालय, शक्ति पृथकीकरणको सिद्धान्त सायद हाम्रो संविधानलाई अपाच्य छ । हरेक साता नयाँ नयाँ मसलाहरू दिएर नेपालीहरूलाई गृहकार्य दिइरहने, व्यस्त बनाइरहने हाम्रो लोकतन्त्रले अहिले नदी किनाराको दूरी थप २० मिटरको दिएको छ, चाहेमा एक सातामा दुई तिहाइको संविधानले नदीको मापदण्ड तोकेर ऐन बनाउन सक्नेमा त्यो नगरेर संसद नै अधिवेशन अन्त्य गर्न पनि सफल छ संविधान ।

दैलोमा सरकार बनाउन सकेको छ संविधानले र दैलोमै चिथोर्ने नङ्ग्रा धेरै लिएर आएको संविधानले आयस्रोत नभएका नागरिकबाट उठिबास लगाउने गरी जग्गा र घरको कर असुल्ने गरेको छ, कुनै बन्द व्यवसाय गर्न खोज्यो भने पचास संयन्त्रमा दैदस्तुर बुझाउनु पर्ने भएको छ । घर उठाएर लग्न नसकिने भएको छ, सडकबाट सवारी उठाएर लग्न सकिँदैन र लुकीलुकी जरिबाना उठाउन पनि सफल छ । अर्बौँ अर्ब रकम जरिवाना उठाउन सफल छ, संविधान यति अन्धो छ कि विदेशमा ट्राफिक देखिन्नन्, प्रणालीले काम गर्छ, बाटाघाटा ठुला छन्, तर यहाँका सडक कस्ता छन् कि हरेक १० मिनेटमा सवारी साधनबाट जरिवाना उठाउन सकिने खालको छ । कमलादीको भ्वाङ्ग टाल्नु पर्दैन, मेलम्ची नआए पनि हुन्छ नआउँदा पनि पाइपहरू फुट्छन् सडकमै पानी जहाज चलाउनु पर्ने अवस्था हुन्छ । 

बैङ्कहरूले व्याजलाई सिनित्तै घटाएका, ब्याज कर भने बडेको छ र अधिक तरलता भएको लगानीयोग्य रकम लगानी गर्न उद्यमीहरू उत्साहित नगराउने र त्यो वातावरण तय नगर्ने बरु विदेशबाट आयात गरेर भन्सार राजस्व असुल गर्दे वित्तीय सञ्चालन गर्न पनि माहिर छ हाम्रो संविधान । भ्यु टावर बनाउँदै तिनमा मुसा दौडाउने र सुकुम्वासीलाई बनाइएको इचँगुका भवनहरू निकम्मा राखेर नदी किनारामा भोटबैँक तयार गर्न सफल छ हाम्रो संविधान । अरू देशले एक थान संविधान बनाए भने सामान्य संशोधन बाहेक वर्षौँ वर्षसम्म चलाइरहेका छन्, यहाँ २००७ सालदेखि बनेका संविधानका ताँती नै छन् र कुनैले आफ्नो लक्ष्यमा पुग्न नसकेको अवस्था छ । कुनै देशमा त लिखित संविधान पनि छैन तर, उन्नत र विकसितको रूपमा चर्चित छ, अनि हाम्रा जति राजा राजाहरू कुनै देशका संविधानले बनाएकै छैनन्, यहाँ जनता भन्दा राजनैतिक कार्यकर्ता धेरै छन् र सबैजसोले राजनैतिक रोजगारी पाएका छन् जसले पाएका छैनन् खाडीमा बा अन्यत्र कतै छन् बा निराश भएर यहाँ बेकामी भएर दिन गुजार्दै छन् । यहाँको काण्डको चाङ यति ठुलो छ कि काण्ड मत्थर पार्नैका लागि सत्ता परिवर्तन हुन्छ, रातारातै अरू एजेन्डा नै चाहिँदैन, आफ्नो परेन कुनै मान्छे र त्यो जनताबाट अनुमोदित भयो भने उसलाई खुइल्याउनैका लागि सबैजसो समय खर्च हुन्छ के–के आयोगहरू बन्छन् ।

र, अन्त्यमा संविधान संवाहकहरूले युगान्तकारी दस्ताबेज पनि भनेका छन्, यति धेरै प्रशंसा र यति धेरै विरोध हुने गरेको संविधान सायद युगान्तकारी नै होला । यसकारण पनि यो युगान्तकारी हुनुपर्छ कि यति धेरै कुण्ठा, आक्रोश, निराशा यस अघिका कुनै संविधानमा थिएनन् र देश सिनित्तै हुने गरी छोड्नेको संख्या र भएको जनसंख्याको गति पनि माइनस तिर जान लागेको पहिलो अवस्था नै होला । अब एक दशकमा त देशको हालत के होला सजिलै आकलन गर्न सकिने भइसकेको छ । संविधानले समावेशी अधिकार दिएछ र आफ्नै भिआइपीहरूलाई उच्च ओहोदामा पनि लैजान सहज बनाएछ, त्यस कारण पनि यो संविधान उन्नत छ, अब्बल छ, जोस जाँगरयुक्त छ भन्नै पर्छ । 

ADVADV

सम्बन्धित खबर

Advertise