२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

ADV
रासस
२०८१ असोज ६ गते ११:४६
गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

बागलुङः प्रसूति व्यथा लागेर रक्तचाप नियन्त्रण नभएपछि तमानखोला गाउँपालिका–१ की २० वर्षीया सुनिला विकको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले गर्भवती विकको हेलिकप्टरमार्फत उद्धार गरेको हो ।

शनिबार साँझ व्यथा लागेपछि स्थानीय स्वास्थ्य संस्थाको सल्लाहमा विकलाई परिवारले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएको थियो । स्वास्थ्य केन्द्र आउने बेला सामान्य व्यथा लागेकी विकलाई आज बिहानदेखि एक्कासी रक्तचाप बढ्ने, शरीर काप्ने र बेहोस हुन थालेपछि आमा बच्चा दुवैको ज्यान जोखिममा देखिएकाले हेलिकप्टरमार्फत काठमाडौं पठाइएको स्वास्थ्य केन्द्रका डा नवीन्द्र ढकालले बताए । उनका अनुसार विकलाई प्रसूतिगृह पठाइएको छ ।

घुमफिरको याम भएकाले विकको उद्धारका लागि हेलिकप्टर पाउन समस्या भएको थियो । निजी कम्पनीका सबै हेलिकप्टर पर्यटक बोकेर हिँडेकाले धेरै मेहनतपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गर्न सकिएको गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले बताए । ‘बिहान ४ बजे खबर पाएदेखि सबै निजी कम्पनीसँग सम्पर्क गर्यौँ तर सबै ‘रिजर्भ’ भएकाले सम्भव भएन’, उनले भने, ‘गृह र रक्षामन्त्रीले समयमा सहयोग गर्नुभएकाले नेपाली सेनाको हेलिकप्टर पठाउन सक्यौँ । हामीले आमा र बच्चा दुवैको स्वास्थ्य सुरक्षा गर्न प्रयास गरेका छौँ ।’

उच्च रक्तचापको औषधि चलाउँदा गर्भवती आमालाई कम्पन आउने, बेहोस हुने र पेटमा भएको बच्चाको समेत मुटुको चालमा तलमाथि हुने भएपछि बुर्तिबाङमा सुत्केरी गराउन सम्भव नभएको डा ढकालले जानकारी दिए । शनिबार साँझदेखि गर्भवतीको स्वास्थ्य सुरक्षाका लागि डा ढकालसहित डा रचना सुवेदीलगायत स्वास्थ्यकर्मीको समूह खटेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise