२०८१ असोज ७ गते सोमवार / Sep 23 , 2024 , Monday
२०८१ असोज ७ गते सोमवार

विश्व नदी दिवसमा चित्रकला प्रतियोगिता

ADV
सन्तोष पौडेल
२०८१ असोज ६ गते २१:४४
विश्व नदी दिवसमा चित्रकला प्रतियोगिता

बर्दिया : कर्णाली नदीको तल्लो तटमा आश्रित समुदायको बस्तीमा रहेका बर्दिया र कैलालीका माध्यमिक तथा आधारभूत तहका विद्यालयलाई समेटेर कैलालीको टिकापुरमा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । 

विश्व नदी दिवसको अवसर पारेर ‘पानी सबैको लागि’ विषय वस्तुमा आधारित माध्यमिक तथा आधारभूत विद्यालय स्तरीय चित्रकला प्रतियोगिता आयोजना गरिएको हो । 

जल संरक्षणको महत्व, स्वच्छ पानीमा समतामूलक पहुँच र नदी तथा जलस्रोतको संरक्षणका बारेमा जनचेतना जगाउनु प्रतियोगिताको प्रमुख उद्देश्य रहेको थियो । कलात्मक अभिव्यक्तिमार्फत, सहभागीहरूले ‘सबैका लागि पानी’ सुनिश्चित गर्न दिगो पानी व्यवस्थापन र सामूहिक जिम्मेवारीको आवश्यकतालाई बढावा दिँदै जीवन, समुदाय र पारिस्थितिक प्रणालीलाई दिगो बनाउन पानीले खेल्ने महत्वपूर्ण भूमिकालाई प्रतिबिम्बित गर्न प्रतियोगिताको आयोजना गरिएको विश्व वन्यजन्तु कोषका आशिष कपालीले बताए । 

प्रतियोगितामा रेडियसन मन्टेश्वरी इङ्लिस स्कुल टीकापुर कैलालीका रितु रावल र शिशिर मल्ल ताम्राकारले प्रथम र दोश्रो स्थान प्राप्त गरेका छन् । त्यस्तै खडक स्मृति माध्यमिक विद्यालयका डिम्पल बडायकले तेश्रो स्थान प्राप्त गरेकी छन् भने चौथो र पाँचौ रेडियसन मन्टेश्वरी इङ्लिस स्कुल टीकापुर कैलालीकै सुमन चौधरी र प्रकृति थापा मगर भएका छन् । 

प्रतियोगितामा कर्णाली नदी तल्लो तटीय क्षेत्र वरपर बर्दिया र कैलालीका ११ वटा विद्यालयका ३६ जना छात्र छात्रा सहभागी थिए । 

कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा बेलायत सरकार अन्तर्गत डार्बिन इनिसिएटिभको सहयोगमा सन् २०२३ देखि ओत संरक्षणका लागि नदीमा आश्रित समुदायको जिविकोपार्जन तथा सवलीकरण परियोजना अन्तर्गत बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिका तथा कैलालीको टीकापुर, लम्कीचुहा, भजनी नगरपालिका र जानकी गाउँपालिकाको समुदाय स्तरमा विभिन्न जनचेतना मुलक कार्यक्रम सञ्चालन हुँदै आएको छ । 

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने प्रतियोगीहरुलाई कार्यक्रमका प्रमुख अतिथि टीकापुर नगरपालिकाका नगरप्रमुख रामलाल चौधरीले नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतियोगिताको निर्णायकमा कलाकार रमेश कडायत, चराविद् हिरुलाल डंगौरा, प्राणीशास्त्री प्राध्यापक लक्ष्मण उपाध्याय, सोनाहा विकास समाजका प्रतिनिधि रोबिन चौधरी रहेका थिए । 

‘हाम्रो प्रण, कर्णाली नदिको संरक्षण’ भन्ने मूल नाराका साथमा बेलायत सरकार अन्तर्गत डार्बिन इनिसिएटिभको सहयोग तथा विश्व वन्यजन्तु कोष नेपाल, डल्फिन संरक्षण केन्द्र भजनी कैलाली, सोनाहा विकास समाज बर्दिया र रेडियसन मन्टेश्वरी इङ्लिस स्कुल टीकापुर कैलालीको संयुक्त आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise