२०८१ पुष ७ गते आइतवार / Dec 22 , 2024 , Sunday
२०८१ पुष ७ गते आइतवार

नेपालीले खोजेको परिवर्तन

ADV
२०८१ असोज ७ गते ०६:२०
नेपालीले खोजेको परिवर्तन

–खिमराज गिरी

प्रजातन्त्र र सत्ता प्राप्तिको लागि प्रायः द्वन्द्व चल्ने र मानिस बढी मारिने मुलुकहरूमा दक्षिण र पूर्वी एसिया तथा अफ्रिकी मुलुकहरू कङ्गो, बुरुण्डी, हाइटी, सोमालिया, रुमानिया, रुवान्डा जस्ता देशहरू पर्दछन् । प्रायः अफ्रिकन देशहरूमा लाखौँ मानिसहरूले मृत्युवरण गरे तर, आखिर हाल सत्तामा भएकाहरू विदेशी कठपुतली सरकार सत्ताको वरिपरि नाचिरहेको देखिन्छ र कङ्गोमा त लाखौँ मानिसहरूलाई सडकमा गाडीले किचेर मारिँदासमेत त्यसको प्रतिफल न त तिनका पुस्ताले पाए न त त्यहाँका जनता, अझै स्वतन्त्र रूपमा बाँच्न सकिरहेका छन् । कङ्गोमा सिमल तरुलको जराको पिठो बनाई उनीहरूको अति आवश्यक खानाको छाक टारिरहेको अवस्था छ । जनतालाई उक्साएर आन्दोलनको नेतृत्व गरेका विद्रोही नेता पिटरकर्मी दुई÷चार हजार डलरमा बिकेर अनाहकमा जनताको ज्यान मात्र लिए । त्यस्तै, दक्षिण एसियाका देशहरूमा दुई वर्ष अगाडि मात्र श्रीलङ्का आर्थिक रूपबाट टाट पल्ट्यो । त्यस्तै, पाकिस्तान र भारतको द्वन्द्वको कारणले सार्क राष्ट्रको सम्मेलन सन् २०१४ देखि हालसम्म हुन सकेको छैन । यो वर्षको संसदीय निर्वाचनबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको साख पनि केही घटेको देखिन्छ । किनकि त्यहाँको जातीय तथा धार्मिक द्वन्द्वको राँको अत्यधिक दन्किरहनु र बाहिर जतिसुकै स्वतन्त्रताको कुरा गरे पनि आन्तरिक रूपमा मिडियामा पनि स्वतन्त्र समाचार सम्प्रेषण गर्नमा धेरै कठिनाइहरू सिर्जित हुनु नै प्रमुख कारण मानिन्छ । 

गत अगस्ट महिनामा बङ्गलादेशमा जागिरमा आरक्षणको विषयलाई लिएर विद्यार्थी आन्दोलन भइरहँदा करिब १९० जनाको मृत्यु भयो र अन्तमा बङ्गलादेशको स्वतन्त्रता आन्दोलनकी सेनानी शेख हसिनाले देश छोडेर भाग्नु प¥यो । सन् १९७१ मा करिब आठ महिनाको स्वतन्त्रता आन्दोलनमा करिब २५ लाख मानिसको मृत्यु भएको थियो । तथापि हालको आन्दोलन विदेशी इशारामा चलाइएको भनिएता पनि त्यसको मुख्य जड भनेको हसिनाको दलगत स्वार्थ, आरक्षणलाई समयानुकूल परिमार्जन नगरिनु, भ्रष्टाचारमा लिप्त हुनु, पारिवारिक ऐस आरामको जीवन व्यतीत गर्नु, बेरोजगारी समस्या झाँगिनु, चुनावमा भएको धाँधली, शासकीय अत्याचारी शैली आदि कारणहरू नै उनी सत्ता च्युत हुनुको प्रमुख कारणहरू थिए, बङ्गलादेशका फोटो पत्रकार शाहीदुल आलम ।

राणा र राजा फालेर गणतन्त्रसम्म ल्याउन संघर्ष गरेका केही दलहरू विगत ३५ वर्षदेखि सत्ताको आलोपालोमा छन् । तथापि, जनताले सोचेअनुरूप अवस्था परिवर्तन हुन सकेको छैन । भ्रष्टाचार मौलाएको छ, नेताहरू पारिवारिक तथा दलगत स्वार्थमा लिप्त भएका, देशको अर्थतन्त्र रेमिटेन्सबाट चलेको, विदेशी ऋण बढेको, जनतामा व्यवस्थाप्रति उत्साह होइन निराशा मात्रै व्याप्त छ । यस्तो परिस्थितिमा नयाँ–नयाँ अनुहारहरू उदाइरहेका छन् । तर, मुख्य मुद्दा उनीहरूबाट पनि छायामा पर्दै गएको छ । यस्तो परिस्थितिमा मुलुक कता जाँदैछ भन्ने थप प्रश्न आमरुपमा उठेको छ । सरकारले निरन्तर आश्वासन बाँडिरहेको छ, यद्यपि जनतामा आशा जाग्न सकेको छैन । कारण सतहमै देखिने गरी भ्रष्टाचार मौलाएको छ, बेथितिले सीमा नाघेको छ, सूचकहरू आशा जगाउने खालका छैनन् । 

यसरी विश्वको इतिहास पढ्दा प्रायः गरिब मुलुकहरूमा सत्ताको भ¥याङ्गको खुड्किलो विदेशी इशारा र स्वार्थमा नाचेको देखिन्छ र आन्दोलन गर्दा जनतालाई अग्र भागमा राखिन्छ पछि प्राप्त उपलब्धि भने जनताको लागि हाता लाग्यो शून्य हुन्छ र सत्ताको वरिपरि नाच्ने व्यक्तिहरूको नै हालीमुहाली रहेको पाइएको छ । यसर्थमा देश गरिब हुने मुख्य कारणहरूमा उक्त देशहरूमा भएको व्यापक भ्रष्टाचार, नेताको वरिपरि घुम्ने बिचौलियाहरूको रजगज, देश र जनताको भन्दा पनि पारिवारिक र दलीय स्वार्थमा लिप्त नेता, सत्ताको लागि विदेशी इशारा आदि प्रमुख कारणहरू हुन् ।

हाल सञ्चार क्षेत्रको विकाससँगै नयाँ मिडियाको कारणले विकास तथा हरेक कुराहरूको सूचना तत्कालै प्रवाह हुन्छ, भनिएता पनि धमिलो पानीमा माछा मार्ने प्रवृत्तिका मानिसहरूबाट जोगिनु पर्ने देखिन्छ । त्यस्तै, हिजो कुर्चीमा बसेकाहरू कुर्चीबाट विमुख हुनासाथ जनता उक्साउने प्रवृत्ति नेपालका नेताहरूको लागि नौलो कुरा होइन । त्यसैले सञ्जालमा धेरै मानिसहरूको समर्थन कसैमा छ भनिएता पनि उक्त नेता पनि कतै विदेशीको इशारामा नाचेको त छैन ? यो कुरा सचेत नेपाली नागरिकले गहिरो तरिकाले बुझ्नु जरुरी छ । यसको अर्थ सोसल मिडियाको भड्काउला लाग्नु भन्दा पनि सत्य तथ्य यथार्थ के हो र आन्दोलनको नेतृत्व गर्ने व्यक्तिहरूको पृष्ठभूमिबारे पनि जान्नु आवश्यक छ । त्यस्तै जनताको आँखामा नबिझाउने नेताको रूपमा चिनिएका नयाँ दलका नयाँ नेताहरूको पनि दैनिक भ्रष्टाचार बारे विभिन्न पत्रपत्रिका तथा अन्य मिडियामा कर्तुत आइरहँदा अझै जनताले सादगी भनेर पत्याइरहनु पर्ने बाध्यता या मूर्खता ? 

जनतालाई धेरै वर्षदेखि चुनावताका आँखामा राखे पनि नबिझाउने गरी मन पगाल्छन् र जब चुनाव जित्छन् तब पाँच वर्षको लागि गुप्त वास बस्ने नेताको लागि फेरि पनि किन पत्याउने ? तसर्थ, अहिले जति पनि सामाजिक सञ्जालमा हाउ भाउ देखाएर जनता भड्काएर लिडर बन्ने प्रवृत्तिप्रति सरकारको हेर्ने नजरअन्दाज अर्थात् ओठे जवाफ नभई सबैभन्दा पहिला भ्रष्टाचारमा चुर्लुम्म डुबेको सिनोलाई आफूनै भाइ भए पनि बाँकी नराख्ने, विगतदेखि आजका मितिसम्म लाभको पदमा बसेका व्यक्तिहरूको सम्पत्ति छानबिन गरी यदि भ्रष्टाचार गरेको रहेछ भने विदेशमा भागेका भए पनि उनीहरूको सम्पत्ति जफत गरी राष्ट्रियकरण गर्ने, अस्पतालमा उपचार गर्नको लागि दैनिक खेप्नुपरेको सास्तीलाई मध्यनजर गर्दै भ्रष्टाचार गरेका व्यक्तिहरूको सम्पत्ति जफत फास्ट ट्याकबाट गरी उक्त रकमबाट टिचिङ, कान्ति, वीर अस्पतालजस्ता सरकारी अस्पतालहरूमा थप भवन निर्माण गर्ने र यस्तै भवनहरू हरेक सेवा सुविधासहित प्रत्येक प्रदेशको राजधानीमा निर्माण गर्ने ता कि बिरामीहरू सानोतिनो उपचारको लागि पनि राजधानी धाउन नपरोस् । त्यस्तै, शिक्षामा राजनीति बन्द गरी सैद्धान्तिकभन्दा व्यवहारिक शिक्षामा जोड दिने, दैनिक हजारौँ युवा किन बिदेसिए ? यसको निदानको कारण खोज्ने, के रोजगारी नेपालमा सम्भव छैन ? यसको लागि विज्ञ बहस चलाउने । भाषण र उद्घाटनभन्दा जनताको काममा बढी ध्यान दिने । जल, जङ्गल, जमिन, जनावर, जडीबुटी तथा खानीहरूको सदुपयोग गर्न सके रोजगारीको करिब ४० प्रतिशत भार नेपालमा नै थेग्न सकिन्छ भन्ने फ्रान्सका रोजगारी विज्ञ जोनपेरीको भनाइलाई आत्मसाथ गर्ने जस्ता कार्यतिर सरकारले ध्यान दिन सक्यो भने अहिलेको आन्दोलनको कुनै तुक नै रहँदैन । र, विगतमा विदेशमा भएका विविध किसिमका आन्दोलनबाट नेपालले अब पनि नसिक्ने हो भने कहिले सिक्ने त ? अन्यथा घरभरि जहाँ न मकै बारीमा बाँदरको रजगज भनेजस्तो भएन र ?

ADVADV

सम्बन्धित खबर

Advertise