२०८१ असोज १० गते बिहिवार / Sep 26 , 2024 , Thursday
२०८१ असोज १० गते बिहिवार

बुटवल उपमहानगरपालिकामा सरसफाइ अभियान शुरु

ADV
सुर्य प्रसाद भुसाल
२०८१ असोज ९ गते २२:४३
बुटवल उपमहानगरपालिकामा सरसफाइ अभियान शुरु

बुटवल : बुटवल उपमहानगरपालिकाले सरसफाइ अभियान शुरु गरेको छ । चाडपर्वलाई लक्षित गरेर बुटवलले बसपार्क, मुख्य सडकहरु र सार्वजनिक स्थलहरु सरसफाइ अभियान शुरु गरेको हो । 

अभियानको शुरुवात गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले यो अभियानलाई नियमित बनाइने बताए । उनले बुटवललाई सफा राख्नका लागि सबै क्षेत्रको साथ र सहयोग आवश्यक पर्ने बताए ।

उनले बुटवललाई सफा, सुन्दर र हरियाली शहरका रुपमा स्थापित गरी पर्यटकीय विश्रामस्थलको रुपमा विकास गर्न गत आर्थिक वर्षदेखि हरियाली र उज्यालो बुटवल अभियान शुरु गरिएको प्रमुख पाण्डेयले बताए ।

बुटवलको ऐतिहासिक, व्यापारिक, आर्थिक महत्वलाई जोगाउँदै पर्यटकीय विश्रामस्थलको रुपमा विकास गर्ने मुख्य लक्ष्यसहित सरसफाई तथा हरियाली अभियान र उज्यालो बुटवल अभियान सञ्चालन गरिएको नगरप्रमुख पाण्डेयले बताए । अभियानलाई सफल बनाउन नगरवासी, टोल विकास संस्था, राजनीतिक दल, सामाजिक संघसंस्था तथा सरोकारवाला निकायहरूलाई साथमा लिएर अगाडि बढेको उनले बताए ।

अभियानमा सरिक हुन जनप्रतिनिधिहरूसँगै कर्मचारी, नगरवासी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, सामाजिक संघसंस्थाहरु, राजनीतिक दल, स्वयंसेवी संस्थाहरूलाई आह्वान गरेको उपप्रमुख सावित्रादेवी अर्यालले बताइन् । उनले नगर सफा रहेमात्रै नागरिक स्वस्थ रहने भएकाले घरघरबाटै सहर सफा राख्ने अभियान नियमित हुनुपर्ने बताइन् । 

अभियान अन्तर्गत यही असोज ११ गते कालिका स्कुलदेखि बसपार्कसम्म, १८ गते बसपार्कदेखि ट्राफिक चोकसम्म, कात्तिक २ गते ट्राफिक चोकदेखि गोलपार्कसम्म, ९ गते गोलपार्कदेखि तल्लो सिद्धबाबा मन्दिरसम्म र कात्तिक २३ गते योगीकुटीदेखि कालिका स्कुलसम्म सरसफाइ गरिनेछ । यस्तै कात्तिक ३० गते कालिका स्कुलदेखि बसपार्कसम्म र भित्रि सडक, वडा क्षेत्र र सार्वजनिक स्थलहरुमा नियमित सरसफाइ गर्ने कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले जानकारी दिए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise