२०८१ असोज ११ गते शुक्रवार / Sep 27 , 2024 , Friday
२०८१ असोज ११ गते शुक्रवार

फोक्सोलाई कसरी स्वस्थ राख्ने ?

ADV
२०८१ असोज ११ गते ०६:२०
फोक्सोलाई कसरी स्वस्थ राख्ने ?

–डा रवी महत 

हामीले हरेक वर्ष झैँ यस वर्ष पनि २५ सेप्टेम्बरलाई विश्व फोक्सो दिवसका रूपमा मनाएका छौँ  । यो वर्ष ‘सबैलाई स्वच्छ हावा र स्वस्थ फोक्सो’ भन्ने नारासहित नेपालसहित विश्वभर उक्त दिवस मनाइएको छ  । दिवसको सन्दर्भ पारेर यस लेखमा फोक्सोले कसरी काम गर्छ र फोक्सोलाई कसरी स्वस्थ राख्ने तरिकाहरूको बारेमा संक्षिप्तमा जानकारी गराउने प्रयास गरिएको छ  । 

सास फेर्ने प्रक्रिया

सास फेर्दा, हामी नाक वा मुखबाट हावा लिन्छौ । यो हावा नासिका मार्ग वा मुखबाट श्वासका नलीहरू हुँदै फोक्सोमा पुग्छ । फोक्सोका सानो एयर स्याकहरू, जसलाई एल्वियोली भनिन्छ, यहाँ अक्सिजन र कार्बन डाइअक्साइडको आदानप्रदान हुन्छ । रगतले एल्वियोलीबाट अक्सिजन ग्रहण गर्दछ र कार्बन डाइअक्साइडलाई वायुमार्गबाट नाक वा मुखबाट निस्किन्छ ।

फोक्सो आफैंले सास तान्न सक्दैन । सास फेर्ने प्रक्रियामा प्रमुख भूमिका खेल्ने मांसपेशीहरूमा डायफ्राम र छातीका मांसपेशी (इन्टरकोस्टल मांसपेशीहरू) पर्छन् । डायफ्राम छातीको तल्लो भागमा एक गुम्बज आकारको मांसपेशी हो । यसले फोक्सोलाई फुल्न र खुम्चन मद्दत गर्दछ । इन्टरकोस्टल मांसपेशीहरू करंगका हड्डीको बीचमा अवस्थित हुन्छन् । यी मांसपेशीहरूले छातीको केजलाई फुल्न र खुम्चन मद्दत गर्दछ । यिनै मांसपेशीहरुको मद्दतले हामी स्वास फेर्छौ ।

फोक्सोका महत्वपूर्ण कार्यहरू

– फोक्सो शरीरमा अक्सिजन ल्याउन महत्वपूर्ण भूमिका खेल्छ । सास फेर्दा वातावरणबाट अक्सिजन लिन्छ र शरीरमा उत्पन्न भएको कार्बन डाइअक्साइडलाई फोक्सो बाहिर फ्याँक्छ, जसले शरीरलाई स्वस्थ राख्छ र रक्तसञ्चारको शुद्धीकरण गर्छ । 
– फोक्सोमा साना रौँ जस्ता सिलिया हुन्छन्, जसले धूलो, कीटाणु र अन्य हानिकारक कणलाई बाहिर निकाल्न मद्दत गर्छ, जसले शरीरलाई रोगबाट जोगाउँछ ।
– फोक्सोले नाक र मुखमार्फत सासको प्रवाहलाई व्यवस्थित गरेर स्वर यन्त्र (बिचथलह) मा ध्वनि उत्पादनमा सहयोग पु¥याउँछ ।
– अम्ल–क्षारको सन्तुलन राख्दछ ।
हामीले प्रत्येक पटक श्वास लिँदा आधा लिटर जति हावा फोक्सो भित्र तानिरहेका हुन्छौँ एक मिनेटमा ७ देखि ८ लिटर र २४ घण्टामा ११ हजार लिटर जति हावा लिन्छौँ  । प्रदूषित हावामा धुलोको कणहरू तथा हानिकारक ग्याँसहरू मिसिएको हुन्छ  । हामीले श्वास लिँदाखेरि हावासँगै त्यसमा मिसिएका कणहरू तथा हानिकारक ग्याँसहरू पनि फोक्सो भित्र प्रवेश गर्दछ जसले विभिन्न स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ  । धुलोका अत्यन्त साना कणहरू तथा हानिकारक ग्याँसहरू फोक्सोमा मात्र नभई फोक्सोको माध्यमबाट रक्त सञ्चार प्रणालीमा प्रवेश गरी शरीरका अन्य भागहरूमा समेत क्षति पु¥याउन सक्दछ  । वायु प्रदूषण, जलवायु परिवर्तन र जीवनशैलीमा आएको परिवर्तनका कारण फोक्सोका बिरामी दिन प्रतिदिन बढ्दै गएका छन्  । जसका कारण विशेषगरी दमको समस्या, फोक्सोको क्यान्सरको समस्या बढ्दो क्रममा रहेको छ  । 

फोक्सोका रोगहरू

दम (सीओपीडी/आस्थामा) : यो एक दीर्घकालीन समस्या  हो । एसका लक्षणहरूमा खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, सीटी बज्ने र छातीको  दुखाइ आदि पर्दछन् । 

फोक्सोको क्यान्सर : फोक्सोको क्यान्सर एक गम्भीर रोग हो जसमा फोक्सोमा असामान्य कोशिकाहरू अनियन्त्रित रूपमा बढ्छन् । धूम्रपान फोक्सोको क्यान्सरको प्रमुख कारण हो ।

निमोनिया : निमोनिया फोक्सोको सङ्क्रमण हो । यो विभिन्न कारणले हुन सक्छ, जस्तै ब्याक्टेरिया, भाइरस वा फङ्गस । निमोनियाका लक्षणहरूमा खोकी, ज्वरो, छाती दुखाइ र सास फेर्न गाह्रो हुने समावेश छ ।

क्षयरोग(टीबी) : यो एक सङ्क्रामक रोग हो, यो माइकोब्याक्टेरियम ट्युबरक्लोसिस नामक ब्याक्टेरियाबाट हुन्छ । यसले मुख्यतया फोक्सो र शरीरका अन्य अंगहरुमा सङ्क्रमण गर्दछ । 

फोक्सोलाई स्वस्थ राख्ने तरिका

– धुलो, धुवाँ ढुसी आदि हटाउन घरमा नियमित रूपमा सफा गर्ने ।
– घरमा पर्याप्त हावा प्रवाह सुनिश्चित गर्न नियमित रूपमा झ्याल र ढोका खोल्ने बानी गर्ने ।
– अरूले गरेको धूम्रपानबाट बच्ने र अरूलाई पनि धूम्रपान नगर्नको लागि परामर्श दिने ।
– खाना पकाउन, कोठाहरू तताउन कम प्रदुषण गर्ने इन्धन प्रयोग गर्ने ।
– वायु प्रदूषणको स्तर उच्च हुँदा बाहिर ननिस्कने प्रयास गर्नुहोस् ।
– प्रदुषित क्षेत्रमा जानु पर्दा एन–९५ मास्क लगाउनुहोस् ।
– प्रदूषणयुक्त क्षेत्रहरूबाट टाढा रहने प्रयास गर्नुहोस् ।

फोक्सोको स्वास्थ्यलाई कायम राख्न आहार र व्यायाम महत्वपूर्ण भूमिका खेल्छन् । स्वस्थ आहारमा हरियो सागपात, फलफूल समावेश गर्नुपर्छ । साथै, नियमित व्यायामले फोक्सोको कार्यक्षमता सुधार गर्छ । विशेषगरी, गहिरो सास फेर्ने अभ्यास, दौडने, पौडी खेल्ने र योगजस्ता शारीरिक क्रियाकलापले फोक्सोको कार्यक्षमता बढाउँछ । फोक्सोको संक्रमणबाट जोगाउन सङ्क्रमित व्यक्तिको वरपर नजाने, सामाजिक दूरी कायम राख्ने, हात धुने, मास्कको प्रयोग गर्ने, आफूलाई सङ्क्रमण भए सावधानी अपनाउने आदी गर्नुपर्दछ  । 

प्रशस्त झोल कुरा पिउनुपनि स्वास्थ्यका लागि महत्वपूर्ण छ । पानीले फोक्सोको कार्यलाई सुधार गर्न मद्दत गर्दछ, पर्याप्त पानीले फोक्सोको कफलाई पातलो बनाउँछ, जसले श्वासप्रश्वासलाई सहज बनाउँछ । फोक्सोको स्वास्थ्यलाई जोगाउन खोप पनि महत्त्वपूर्ण हुन्छ । फ्लू र निमोनियाबाट बच्नका लागि खोपले केही हदसम्म फोक्सोलाई संक्रमणबाट जोगाउँछ ।

(डा. महत, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीका श्वासप्रश्वास रोग विशेषज्ञ हुन् ।)

ADVADV

सम्बन्धित खबर

Advertise