२०८१ चैत २० गते बुधवार / Apr 02 , 2025 , Wednesday
२०८१ चैत २० गते बुधवार
Ads

‘सरकार र समुदाय मिलेर स्वास्थ्य क्षेत्र सुधार गर्नु आजको आवश्यकता हो’

draupadi film
सुर्य प्रसाद भुसाल
२०८१ असोज १२ गते २२:१०
‘सरकार र समुदाय मिलेर स्वास्थ्य क्षेत्र सुधार गर्नु आजको आवश्यकता हो’

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकार र समुदाय मिलेर स्वास्थ्य क्षेत्रको आमुल परिवर्तन गरी  सुधार ल्याउनुपर्ने बताएका छन् ।  गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले विश्व मुटु दिवसको अवसरमा बुटवलमा आयोजना गरेको स्वास्थ्य सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री आचार्यले स्वास्थ्य क्षेत्रको विकासका  लागि सरकार, समुदाय, निजी क्षेत्रबीच सहकार्य गर्नुपर्नेमा जोड दिए । 

‘म गम्भीर रोगलाई जितेर यहाँसम्म आइपुगेको छु ।  बिरामी हुँदा कस्तो अनुभुती हुन्छ, परिवारले कस्तो संकट भोग्नुपर्छ, त्यो सबै अनुभुती मसँग छ, त्यसैले स्वास्थ्य क्षेत्रमा बिरामी र तिनका परिवारले भोग्ने समस्याहरु समाधान गर्न लुम्बिनी प्रदेश  सरकार तयार छ’ उनले भने, ‘स्वास्थ्य क्षेत्रलाई नजिकबाट बुझ्ने अवसर पनि मिल्यो, हामी सुधार गर्ने ठाउँमा छौं । अनुभुती हुनेगरी सुधार गर्छौं केही समय पर्खनुस म परिवर्तन गर्छु ।

मुख्यमन्त्री आचार्यले मुटुसँगै मिर्गौलाको उपचार र डायलाइसिस सेवालाई पनि सहज बनाउने बताए  । समुदायबाट स्वास्थ्य क्षेत्रमा गरिएको योगदानको प्रशंसा गर्दै उनले गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको जग्गा र भवन निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे  ।

 कार्यक्रममा पूर्व स्वास्थ्यमन्त्री बिष्णु पन्थीले सरकारी स्वास्थ्य क्षेत्रका कर्मचारीहरुको ढिलासुस्ती र लापरबाहीका कारण सरकारले स्वास्थ्य उपचारमा आलोचना खेप्नुपरेको भन्दै सरकारले गरेका नीति नियमहरुको कार्यान्वयन गर्ने तहमा बसेका कर्मचारीहरु नसुध्रिएसम्म कुनैपनि क्षेत्र सुधार गर्न नसकिने दाबी गरे ।

उनले सरकारले अगाडि सारेका स्वास्थ्यका योजनाहरु कार्यान्वयन गर्न र सहज बनाउन कर्मचारी र स्वास्थ्यकर्मी पूर्ण रुपमा तयार हुनुपर्ने बताए । ‘कपिलवस्तुको जितपुरमा डायलाइसिस सेन्टरको अनुमति ल्याउन म आफै दुईवर्ष सम्म धाउँदा पनि सकस परेको छ । दुई वर्ष निरन्तर पहल गर्दा बल्ल अनुमति ल्याउन सकियो, यस्तो ढिलासुस्तीले जनताले कहिले सहज र सुलभ रुपमा स्वास्थ्य सेवा पाउन सक्छन्, कर्मचारी तहबाट ढिलासुस्ती हुनु राम्रो होइन,’ पन्थीले भने ।

कार्यक्रममा प्रदेशसभा सदस्य चिन्तामणी पाण्डेले समुदायले स्वतःस्फुर्त रुपमा सञ्चालन गरेका गैरनाफामुलक संस्थाले सरकारले सघाउनुपर्ने बताए  ।

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले रुपन्देहीका उद्योगी व्यवसायी, विभिन्न रोटरी क्लब तथा समाजसेवीहरुको सहयोगमा अस्पताल स्थापना गरिएको भन्दै अब अस्पतालको जग्गा प्राप्ती र भवन निर्माणमा अभिभावकत्व लिन मुख्यमन्त्री आचार्यलाई आग्रह गरे ।

अस्पतालका सहसचिव बाबुराम बोहराको सञ्चालन तथा उपाध्यक्ष रामप्रसाद बस्यालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा अस्पतालका निर्देशक वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर समीर गौतमले अस्पतालमा हालसम्म भएका गतिविधि तथा मुटुरोगबाट जोगिन अपनाउनुपर्ने सावधानी बारे जानकारी दिए ।

कार्यक्रममा रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा र रोटरी क्लब अफ बुटवलका अध्यक्ष प्रज्वल थान्जु लगायतले सम्बोधन गरेका थिए ।

२०७० साल पुस १० गते स्थापना भएको मुटु अस्पतालबाट झण्डै ११ सय मुटुका बिरामीले क्याथल्याबबाट सेवा लिइसकेका छन् । 

ADV

सम्बन्धित खबर

Advertise