–डा. विष्णुराज उप्रेती
यस वर्षको संयुक्त राष्ट्र संघको विश्व पर्यटन संगठनले तय गरेको नारा ‘पर्यटन र शान्ति’ रह्यो । यही नारा प्रवर्द्धन गर्न यो संगठनले संसारभर पर्यटन दिवस मनाउने र यी कार्यक्रमहरूमा पर्यटन र शान्तिबारे बहस चलाउने, समीक्षा गर्ने, पर्यटनलाई शान्तिमैत्री र युवा केन्द्रित बनाउने उद्देश्य राख्यो । यही क्रममा जर्जियाको राजधानी तिब्लिसीमा भब्यरुपमा विश्वका पर्यटन मन्त्रीहरू र पर्यटन क्षेत्रका ब्यक्तिहरू भेला भई पर्यटन दिवस मनाए । शान्ति र पर्यटनबीचको सम्बन्धलाई निम्न विभिन्न आयामसँग जोडेर हेर्न सकिन्छ ।
संसारभरको अनुभवले के देखाएको छ भने पर्यटनले शान्ति प्रवर्द्धन गर्न जनतालाई एकै ठाउँमा ल्याउँछ, अर्थतन्त्र सुदृढ गराउँछ र एक अर्का देश, भाषा, संस्कृतिबीच अनुभव आदान–प्रदान गर्दछ । यी सबै अभ्यासबाट द्वन्द्व समाधान र शान्ति प्रवर्द्धनमा प्रत्यक्ष योगदान पुर्याउँछ ।
पर्यटन यस्तो व्यवसाय हो जसले होटल, रेष्टुरेन्ट, टुर गाइड, ट्रेकिङ्ग, कृषि, यातायात, र्याफटिङ्ग, क्लाम्बिङ्ग दर्जनौं पेशालाई एकै ठाउँमा सहकार्यको लागि ल्याउँछ । यसले गर्दा एकैचोटी धेरै स्थानीय मानिसले काम पाउँछन् । बेरोजगारी द्वन्द्वको कारण भएको र रोजगारीमार्फत द्वन्द्वको कारणको सम्बोधन भई शान्ति प्रवर्द्धनमा सहयोग पुर्याउँछ ।
संयुक्त राष्ट्र संघले तय गरेको १७ वटा दिगो विकासको लक्ष्यहरूमध्ये उद्देश्य १६ प्रत्यक्ष शान्ति प्रवर्द्धन, न्याय र सशक्त संगठनहरूको वकालत गर्दछ । त्यसैले यो उद्देश्यसँग पर्यटन र शान्ति पनि जोडिएको छ । पर्यटनले कसरी शान्ति प्रवर्द्धन गर्दछ भन्ने एउटा सशक्त उदाहरण ल्याटिन अमेरिकी देश कोष्टारिका पनि हो, जहाँ लगभग ५१ लख ३५ हजार जनसंख्या भएको देशमा वर्षको ३४ लाखसम्म पर्यटन जान्छन् ।
पर्यटनबाट स्थानीय मानिसले रोजगारी पाएपछि उनीहरूको सामाजिक, आर्थिक अवस्था सुदृढ हुँदै जाने र यसले उनीहरूलाई न्याय माथि पहुँच स्थापित गर्न, बालबच्चालाई शिक्षा दिन सहज भई यसले समाजमा सामाजिक न्याय स्थापना गर्न समेत मद्दत गर्दछ । यसरी आर्थिक असमानता घटाउँदै लैजाँदा यसले लोकतन्त्रको आधार समेत फराकिलो पार्दछ ।
शान्तिको अवधारणालाई पर्यटनका नीति, रणनीति, कार्ययोजना, गुरुयोजना र कानून तथा नियमावलीहरूमा समावेश गरी ‘शान्तिमैत्री पर्यटन’को मूल मान्यता स्थापित गराउन आवश्यक छ । हालसम्म नेपाल सरकारका आधिकारिक दस्तावेजहरूमा शान्तिमैत्री पर्यटनको प्रष्ट परिभाषा, खाका र अवधारणा देखिँदैन । शान्तिमैत्री पर्यटनको अवधारणा विश्व पर्यटन परिषद्ले ल्याउनु आफैँमा राम्रो पक्ष हो र अव राष्ट्रहरूले पनि यो अवधारणालाई कार्यान्वयनमा लान सहजीकरण गर्न आवश्यक छ ।
नेपालको मौजुदा पर्यटन नीति पुरानो छ, समसामयिक र संघीयताको मर्मअनुरुपको छैन, पर्यटन क्षेत्रको गतिशीलता धान्न सक्ने खालको छैन । यसमा समन्वयको अभाव छ, ब्यवसायी र पर्यटकहरूलाई सहजीकरण र सहयोग गर्ने भन्दा नियन्त्रणमुखी छ । अब यी सबै कमीकमजोरीहरूको सम्बोधन गर्ने गरी पर्यटन प्रशासकीय सेवा एकद्वारबाट मात्र र छोटो समयमै उपलब्ध गराउने सुनिश्चिततासहित बनाउन आवश्यक छ ।
पर्यटन क्षेत्र अपेक्षाकृत परिणाम दिन नसक्नु, वार्षिक २५ लाख पर्यटकलाई सुविधा दिन सक्ने नेपालको अहिलेको क्षमता भएर पनि ९–१० लाख पर्यटक भित्राउन नसक्नु, नीजि क्षेत्र उत्साहित भएर लगानी गर्ने वातावरण नबन्नु र पर्यटन क्षेत्रको सम्भावनापूर्ण रुपमा उजागर गर्न नसक्नुमा नेपाल सरकारका नीति, कानून र संस्थागत संरचना समयसापेक्ष, पर्यटक सहयोगी र पर्यटनको निजी क्षेत्रका समस्या सम्बोधन गर्न नसक्ने भएरै हो । बर्षेनी करोडौ खर्च गर्ने नेपाल पर्यटन बोर्ड मन्त्रालयको छाँयामा छ, अपेक्षित रुपमा काम गर्न सकेको छैन । त्यसैले अव पर्यटन मन्त्रालय, पर्यटन बोर्ड, बिभागहरू समेतको एकद्वार पर्यटन सेवाको अवधारणा कार्यान्वयन गर्ने गरी पुनर्संरचना गर्ने, कानून, कार्यविधि र नीति पनि सोही अनुरुप तर्जुमा गर्ने गरी परिमार्जन आवश्यक छ ।
नेपालको पर्यटन क्षेत्रलाई यसको सम्भावनाअनुसार फस्टाउन दिने हो भने अवको नीतिले पर्यटनको क्षेत्रमा ‘सार्वजनिक–निजी साझेदारी’ मोडल कार्यान्वयनमा ल्याउन आवश्यक छ । पर्यटन यति बृहत्त छ कि यसको बिकासको लागि दूरदृष्टी, पूर्ण प्रतिबद्धता, सहयोगी नीति तथा कानून र पर्यटन क्षेत्रभित्र ब्यापक सहकार्य आवश्यक हुन्छ । यसमा सरकारले निजी क्षेत्र अटाउने र पर्यटन प्रवर्द्धन फस्टाउने गरी उपयुक्त वातावरण (ऐन–कानून, संस्थागत संरचना, नीति–कार्यनीति) बनाउन अपरिहार्य छ । अहिलेको अति प्रशासन केन्द्रित, स्वार्थ निर्देशित र नियन्त्रणको मान्यता र अभ्यासबाट सम्भव छैन । यसको परिवर्तनबाट मात्र नेपालमा ‘शान्तिमैत्री पर्यटन’ सुनिश्चित गर्न सकिन्छ । पर्यटन ब्यवसाय पारदर्शी, आचरणयुक्त, जवाफदेहीपूर्ण, पर्यटकमैत्री, राज्यका ऐन–कानून र नीति नियमसंगत तरिकाले सञ्चालन गर्ने काम पर्यटन ब्यवसायी÷निजी क्षेत्रको हो भने यसको कार्यान्वयनको लागि आवश्यक पर्ने सबै वातावरण बनाई दिने राज्यको दायित्व र जिम्मेवारी हो ।
नेपालमा विश्वकै उच्च आठ वटा हिमाल सहित अग्लामध्यका सयौं हिमालहरू, सयौ हिमताल, खर्क, चरण, ठूला ताल, विश्वकै चर्चित मन्दिरहरू (लुम्बिनी, पशुपति आदि), विश्वकै थोरै भूपरिवेष्ठित देशमध्यको अति विविधता भएको देश नेपाल, संयुक्त राष्ट्र संघले विश्व शान्ति कायम गर्न पठाउने सेनाहरूमध्य सबैभन्दा धेरै सेनाहरू पठाउने देश, शान्ति पूर्ण रुपमा राजतन्त्रले गद्दी छोडेको देश, चीन र भारतजस्ता अति ठूला देशबीच अवस्थित देश भएकोले पनि विश्वका नागरिकको ध्यान नेपालले तान्न सक्छ । भारत र चीनमा आउने पर्यटकहरू मात्र हामीले नेपाल पनि ल्याउने वातावरण बनाउन सकेमा र विश्व भर हाम्रो यो विविधताको प्रचारप्रसार गर्न सकेमा नेपालमा वर्षको ५०–६० लाख पर्यटक भित्राउन सकिन्छ ।