२०८१ असोज १४ गते सोमवार / Sep 30 , 2024 , Monday
२०८१ असोज १४ गते सोमवार

लैंगिक तथा अपाङ्गतामैत्री शौचालय विद्यालयलाई हस्तान्तरण

ADV
सन्तोष पौडेल
२०८१ असोज १३ गते २२:२४
लैंगिक तथा अपाङ्गतामैत्री शौचालय विद्यालयलाई हस्तान्तरण

बर्दिया : बर्दियाको बारबर्दिया नगरपालिका वडा नं. ५ तर्कापुरस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा निर्माण भएको लैङ्गिक तथा अपाङ्गतामैत्री शौचालय एक कार्यक्रमकाबीच विद्यालयलाई हस्तान्तरण गरिएको छ । 

बारबर्दिया नगरपालिकाका उपप्रमुख रत्नकुमारी पाण्डे र बि–ग्रुपका कार्यकारी निर्देशक डम्मर सुनारले संयुक्त रुपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कल्लुराम थारु र प्रधानाध्यापक ललित सापकोटालाई एक कार्यक्रमकाबीच हस्तान्तरण गरेका हुन् । 

बारबर्दिया नगरपालिकाको समन्वय तथा प्लान इन्टरनेसनल नेपाल र बि–ग्रुपको साझेदारीमा सञ्चालित बाल विवाह न्यूनीकरण परियोजनामार्फत १४ लाख ३८ हजार रुपैयाँको लागतमा लैङ्गिक तथा अपाङ्गतामैत्री शौचालय निर्माण सम्पन्न गरिएको हो । विद्यालयको परिसरमा सम्पन्न भएको हस्तान्तरण कार्यक्रममा विद्यालयलाई लैङ्गिक तथा अपाङ्गतामैत्री शौचालय हस्तान्तरण गरेपछि नगरपालिकाका उपप्रमुख पाण्डेले शौचालयमा राखिएको शिलापत्र अनावरण गरेसँगै सञ्चालनमा ल्याइएको हो । 

हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि एवं बारबर्दिया नगरपालिकाका उपप्रमुख पाण्डेले पालिकाको समग्र शैक्षिक क्षेत्रको सुधारमा आफु सदैव दृढ भएर लागेको बताउँदै शौचालय निर्माणमा बि–ग्रुप र प्लान इन्टरनेशनल नेपालको सहयोग महत्वपूर्ण रहेको बताइन् । 

उनले शैक्षिक क्षेत्रको सुधारका निम्ति आगामी दिनमा बि–ग्रुप र प्लान इन्टरनेसनल नेपालसँग हातेमालो गर्न तयार रहेको बताइन् । 

कार्यक्रममा बि–ग्रुपका कार्यकारी निर्देशक डम्मर सुनारले शिक्षालाई गुणस्तरिय बनाउने पूर्वाधार निर्माणको पनि महत्वपूर्ण भूमिका हुने बताए । उनले किशोरीहरू महिनावारी भएको बेला विद्यालयमा उचित व्यवस्थापन हुन नसक्दा कक्षा छोड्ने अवस्थाको सृजना भएको देखिएकोले शौचालय निर्माणले यसलाई न्यूनीकरण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । बाल बालिकाहरूलाई नियमित कक्षामा सहभागि गराउन सकेमात्र बाल विवाहका घटनाहरू न्यूनिकरण हुन सक्ने उनको तर्क थियो । 

कार्यकारी निर्देशक सुनारले हेर्दा साना जस्तो देखिएतापनि शौचालय निर्माणले शिक्षण सिकाइ क्रियाकलापमा ठुलो महत्व राख्ने बताए । उनले बालबालिकाहरूलाई निरन्तर शिक्षण सिकाइ क्रियाकलापमा संलग्न गराउन सके बाल विवाह रोकथाममा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

ADVADV

सम्बन्धित खबर

Advertise