काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) का नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले क्यानमाथि लगाएको प्रतिबन्ध छिट्टै फुकुवा गर्ने विश्वास दिलाएका छन् । आईसीसीकै सल्लाह र निर्देशनअनुसार काम भैरहेकोले उनले आईसीसीले नै अब बस्ने बैठकबाट क्यानमाथिको प्रतिबन्ध हटाउने उनको दाबी छ ।
उनले भने, ‘मलाई लाग्दैन् कि उसले अब पनि प्रतिबन्ध जारी राख्छ, नेपाल ठूलो सम्भावना भएको देश हो, यो कुरा आईसीसीलाई राम्रोसँग थाहा छ । आईसीसीले पनि नेपाललाई बचाउन खोजेको छ । नेपालको पक्षमा निर्णय गर्छ ।’ सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा अध्यक्ष चन्दले क्रिकेट विकासका लागि गृहकार्य थालिएको सुनाए । उनले भने,‘निलम्बन फुकुवाको लागि हामीले पत्राचार गरिरहनु पर्दैन्, नेपाली क्रिकेटको निकासलाई आइसिसीले दिएको रोडम्याप अनुसार नै हामीले काम पूरा गरेका छौं । आइसीसीकै निगरानीमा निर्वाचन भएकाले निलम्बन चाँडै फुकुवा हुने विश्वास छ ।’
उनले सरकारी हस्तक्षेप भएको, र स्वतन्त्र र निश्पक्ष चुनाव नभएकोले आईसीसीले क्यानमाथि प्रतिबन्ध लगाएको भन्दै अहिले आईसीसीकै निर्देशनअनुसार आफूहरुले स्वतन्त्र र निश्पक्ष ढंगले सहमतिमै निर्वाचन सम्पन्न गरेकोले अब चाँडै निलम्बन फुकुवा हुने स्पष्ट पारे । उनले भने,‘अन्य कुराहरु सुशासनलगायतका काम गर भनेपछि हामी गर्छौं, निलम्बन फुकुवाको लागि क्यानले प्रपोजल हाल्नुपर्ने कुरा छैन् । हामीले त आईसीसीले जे भन्यो त्यही त्यही खुरुखुरु गरेका हौं ।’
अध्यक्ष चन्दले नेपाली क्रिकेटले अब फड्को मार्ने विश्वास दिलाए । ‘हामी यो क्षेत्रको विकास र विस्तारको लागि योजनाबद्ध तवरले अघि बढिरहेका छौं ।’ उनले थपे । चन्दले खेलाडी छनोटको आधार तय गर्ने बताउँदै भने,‘विगत लामो समयदेखि क्यान निलम्बनमा रहँदा खेलाडी छनोटको कुनै आधार थिएन, मनोमानि ढंगले खेलाडी छनोट गरिएको छ । अब व्यवस्थित ढंगले खेलाडी छनोट गर्छाैं ।’
पछिल्लो समय खेलमैदान पनि निर्माण भैरहेको सुनाउँदै अब क्रिकेटले गति लिने पनि बताए । उनले भने,‘म यही मञ्चबाट चाँडोभन्दा चाँडो खेल मैदानहरु निर्माण गर्नको लागि सरकार, राखेप, प्रदेश सरकार र स्थानीय सरकारसँग अनुरोध गर्दर्छु । प्रत्येक गाउँपालिका र नगरपालिकामा करोडौंको खेलमैदानहरु बनेका छन् । दुर्गम क्षेत्रमा पनि खेलमैदानको लागि त्यत्रो लगानी गरेको छ । यसमा एउटा क्रेज छ । त्यसलाई व्यवस्थित् र स्तरीय बनाउनको लागि सबैको साथ र भूमिका अपरिहार्य छ ।’
अध्यक्ष चन्दले राम्रो खेल मैदान भएपछि राम्रो क्रिकेट प्रतियोगिता हुने र राम्रो प्रतियोगिता भएपछि खेलाडीहरुले पनि राम्रो र उत्कृष्ट प्रदर्शन गर्न पाउने सुनाए । सरकारसँग खेलमैदानको लागि सहकार्य गरेर अघि बढ्ने उनले सुनाए । काठमाडौं मुलपानी क्रिकेट रंगशालाको सवालमा पनि राखेपले गरेको काममा सहकार्य गर्ने उनको विश्वास छ । उनले भने,‘विगत तीन वर्षदेखि कर्मचारीहरुलाई तलब दिन सकेका छैनौं । हामी सही ट्रयाकमा ल्याउन संघर्षरत छौं । हामी अध्ययन गर्छौं । हामी आफ्नो तवरबाट सक्दो प्रयास गर्छौं । राखेपले गरेको काममा सघाउँछौं ।’
खेलाडीहरुसँग सहकार्य गर्ने सुनाउँदै खेलाडीहरुपनि अनुशासित हुनुपर्ने बताए । ‘३६ देखि चालिस जनालाई नेश्नल सेन्ट्रल कन्ट्याक्टमा ल्याउँछौं’–उनले भने,‘दुई वटा टिम अट्नेगरि हामी होमवर्क गरिरहेका छौं । प्यारालल दुई वटा टिम बनाउने लक्ष्य छ । एउटा सिनियर टिम हुन्छ । अर्को चाहीँ यु–२३ बारे कुरा चलिरहेको छ ।’
निर्वाचनमा पराजित भएका साथीहरुसँग सल्लाह गरी नै अगाडी बढ्ने उनको भनाई छ । निर्वाचनमा हार जित एक प्रक्रिया भएपनि क्रिकेटमा लामो समय बिताएका साथीहरुको सल्लाह अनुसार क्यानलाई अगाडि बढाउने उनको भनाइ छ ।
उनले विगतमा क्रिकेटका लागि दिएको अनुदान सही सदुपयोग हुन नसकेको आइसिसीको आशंका रहेको पनि सुनाए । उनले भने,‘हामीले कुनै खालको गैरपारदर्शी र विवाद हुने काम गर्दैनौ ।’ उनले क्यानमा जित्ने व्यक्ति गौण भएको बताउँदै उनले भने,‘व्यक्ति गौण हो, संस्था मुख्य कुरा हो । आइसिसीलगायत सरकारले व्यक्तिलाई हेर्दैन् ।’
उनले क्यानको सिईओ पनि प्रतिष्पर्धाको आधारमा नियुक्त गर्ने स्पष्ट पारे । उनले भने,‘आइसीसीले हामीसँग आर्थिक पारदर्शिताका चुस्त प्रशासन सञ्चालनका लागि सिइओ राख्नुपर्ने शर्त राखेको छ । हामी आइसीसीको शर्तमा रहेर काम गर्छौं ।’ त्यस्तै, उनले प्रादेशीक क्रिकेटलाई सशक्त बनाउने आफ्नो योजना रहेको सुनाए । उनले थपे,‘सम्पूर्ण क्रिकेटको विकासका जिम्मा प्रादेशीक क्रिकेटलाई दिन्छौं । नेपाल क्रिकेट संघले सुपरीवेक्षण र गतिविधिलाई सघाउनेछ ।’
अहिले निजीस्तरबाट भैरहेका विभिन्न लिगहरुलाई पनि कानुनबमोजिम बनाउने उनको भनाइ छ । अध्यक्ष चन्दले यही वर्ष आफूहरुले देशकै ठूलो नेपाल प्रिमियर लिग (एनपिएल) आयोजना गर्ने पनि बताए । उनले भने,‘अब नेपालको आधिकारिक र सबैभन्दा ठूलो लिग एनपिएल हुन्छ, यो लिगबाट नेपाली खेलाडी र नेपाली क्रिकेटले ठूलो प्रगति र फड्को मार्छ ।’
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies