बैतडी : बैतडीको पाटनमा सम्पन्न पाँचौं संस्करणको उदयदेव–पाटन प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि कोइनोडा गुरुखोला लायन्सले हात पारेको छ ।
शनिबार सम्पन्न फाइनल खेलमा हिमचुली युवा क्लब पाटन–६ लाई ६ विकेटले पराजित गर्दै गुरुखोलाले लगातार दोस्रो वर्ष उपाधि जित्न सफल भएको आयोजक पाटन एकता समाजका सचिव हरिष केसीले जानकारी दिए ।
फाइनल खेलमा हिमचुलीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै २० ओभरमा १ सय १० रनको योगफल तयार गरेको थियो । तर गुरुखोलाले लक्ष्य ८ ओभरमै पूरा गर्दै उत्कृष्ट जित निकालेको थियो ।
प्रतियोगितामा पाटन एकता समाजका खेलाडी समीर भण्डारीलाई उदयीमान खेलाडी घोषित गरियो । उनले ४ हजार ४ सय ४४ रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।
त्यस्तै, प्लेयर अफ द सिरिजले २२ हजार ३ सय ५० रुपैयाँ, बेस्ट ब्याटर र बेस्ट बलरले क्रमशः ८ सय र ६ सय ५० रुपैयाँ नगद पुरस्कार पाए ।
विजेता, उपविजेता तथा अन्य विधाका विजेतालाई पाटन एकता समाजका अध्यक्ष किरण चन्द, पाटन नगरपालिकाका प्रमुख गिरीशचन्द्र भट्ट, उप-प्रमुख कमला बोहरा तथा बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दलगायतले पुरस्कार वितरण गरेका थिए ।
समापन समारोहमा प्रमुख अतिथि तथा पाटन नगरपालिका प्रमुख गौरीसिंह रावलले आगामी वर्ष खेलमैदान थप सुविधा सम्पन्न बनाइने प्रतिबद्धता जनाए । उनले सम्बन्धित निकायसँग समन्वय गरेर आवश्यक पूर्वाधार विकास गर्ने तयारी भइरहेको बताए ।
पाटन एकता समाजको आयोजनामा र पाटन नगरपालिकाको सहयोगमा असोज २५ देखि शुक्रबारसम्म भएको प्रतियोगितामा १३ टोली सहभागी थिए ।