गत ११ असोज रातिको अत्याधिक वर्षाका कारण आएको बाढी, पहिरो र डुबानका कारण राजधानी काठमाडौं लगभग नाकाबन्दीकै अवस्थामा छ । अरनिको, बीपी, कान्ति, पुष्पलाल मध्यपहाडी, मेची, मदन भण्डारी, काली गण्डकी, पृथ्वी राजमार्ग लगायत सडक खण्ड क्षतिग्रस्त बनेको छ । विशेषरी अरनिको, बीपी, पृथ्वी राजमार्गमा पुगेको क्षतिका कारण राजधानीसँग देशका अरु भू–भागको सम्बन्ध छुटेको छ । सडक विभागका अनुसार देशभर गरी २१ हजार ५ सय मिटर सडक क्षतिग्रस्त बनेको छ । ५ वटा पक्की पुल बगेको छ भने २ सय मिटर बराबर बेलिब्रिज बगेको छ । सडक बग्ने र पुरिने, पक्की पुल र बेलिब्रिज बगाएको ठाउँमा तत्काल अस्थायी रुपमा सडक सञ्चालनमा ल्याउन सजिलो छैन । यद्यपि पक्की पुल बगेका ठाउँमा बेलिब्रिज राखेर भएपनि दशैं अगाडि अस्थायी सडक सञ्चालनको प्रयास भइरहेको छ । सडक सञ्चालनका निम्ति तीनै तहका सरकार र सामाजिक संघसंस्थाहरु परिचालित छन् ।
सडक सञ्जाल टुटेकाले प्रभावित क्षेत्रमा रहेको मानवीय संकटमा सहयोग पुग्न सकिरहेको देखिदैन । विशेषगरी काभ्रे जिल्लामा मानवीय संकट देखिन्छ । रोशी खोलाको शीर भएर पश्चिमतर्फ नख्खु र पूर्वतर्फ रोशी खोला किनार भएर पुगेको क्षति विवरण अहिलेसम्म सार्वजनिक हुनै सकेको छैन । सरकारी निकायहरुले अनुमानकै भरमा १७ अर्ब बराबरको क्षति भएको तथ्याङ्क सार्वजनिक गरेको छ । सरकार मृतक, बेपत्ता र घाइतेहरुको तथ्याङ्क सार्वजनिक गरेर बसेको छ । पीडित परिवारका निम्ति यथोचित सम्बोधन हुन नसकेको प्रष्ट छ । बाढी र पहिरोका कारणले अन्नबाली, भौतिक संरचना, ब्यापार ब्यावसायमा पुगेको क्षतिबारे धेरै कुरा हुन सकेकै छैन । यसरी भएकै क्षति समेत दुनियाँले देख्न नपाउनुमा सडक सञ्जाल टुट्नु हो । पीडितहरुले आफ्ना कुरा राख्नलाई आवश्यक ठाउँ नपाउनु हो । किनकि सडक सञ्जाल नभएकाले मिडिया प्रभावित क्षेत्रमा पुग्न सकेको देखिदैन ।
त्यसैले अवरुद्ध सडक संरचना खुलाउने कुरालाई प्राथमिकतामा राख्नुपर्छ । सडक सञ्जाल खुल्ने मात्र हो भने बाँकी सहयोगहरु जुट्न थाल्नेछ । मनकारी मानिसहरुले राहत लिएर जान पाउनेछन् । घाइतेहरुको उपचार गराउन राम्रो अस्पतालसम्म पुग्न सकिनेछ । अहिले हेलिकोप्टरले दिइरहेको सेवा आमनागरिकको पहुँजमा पुग्न सक्नेछ । तर सडक सञ्जाल अवरुद्ध हुँदा टेलिफोनको समस्या राख्न समेत नागरिकले पाएका छैनन् । एकप्रकारले भन्ने हो भने सडक सञ्जाल टुटेकै कारणले समस्या पहिचान गर्नै सकिएको छैन । जबकी विगतमा महाभूकम्प, कोभिड जस्ता समस्यामा पनि सडक सञ्जाल सञ्चालनमा रहेकै कारण समस्यासँग जुध्न सजिलो भएको थियो । राहत सामग्री लिएर जान, अस्थायी पुनस्र्थापना गर्नदेखि अरु समस्या सम्बोधनमा पनि सहज भएको थियो । अहिले सडक सञ्चालमा ठूलो क्षति पुग्दा अरु समस्याहरु ओझेलमा परेको छ । अझ दशैं, तिहार जस्ता चाडहरु नजिकिएका छन् । लामो तथा छोटो दुरीको यातायात नचल्दा घर फर्कनेहरुलाई समस्या हुनेछ । यी सबै तथ्यहरुलाई आधार मानेर सरकारले सडक सञ्जाल अस्थायी रुपमै भएपनि सञ्चालन गर्ने कार्यलाई प्राथमिकतामा राख्नुपर्छ । यद्यपि मानवीय उद्धारका कार्यहरु भन्दा प्राथमिकतामा चाही सडक सञ्चाल होइन ।