२०८१ असोज १७ गते बिहिवार / Oct 03 , 2024 , Thursday
२०८१ असोज १७ गते बिहिवार

गाउँघरमा दशैंको रौनक, बजार सुनसान

ADV
सुर्य प्रसाद भुसाल
२०८१ असोज १७ गते २१:१५
गाउँघरमा दशैंको रौनक, बजार सुनसान

अर्घाखाँची : दशैं नजिकिँदै गर्दा अर्घाखाँची जिल्लाका विभिन्न गाउँमा चहलपहल बढेको छ । तर जिल्ला सदरमुकाम सन्धिखर्क तथा पुरानो व्यापारिक बजार चुत्राबेसी सदरमुकामका आसपासका क्षेत्रहरुमा भने दशैं आएजस्तो चहलपहल देखिएको छैन । बजार सुनसान बन्दै गएको छ । सन्धिखर्क सदरमुकाममा अध्ययन गर्ने क्याम्पसका  विद्यार्थी, बोडिङ स्कुलका विद्यार्थी, तीनका अभिभावकहरु सदरमुकामबाट गाउँतिर लागेपछि सदरमुकाम सन्धिखर्क चुत्राबेसी  सुनसान बनेको हो । रोजगार, अध्ययन र अन्य कामका लागि गाउँबाट बहिरिएकाहरु चाडबाडका लागि अहिले धमाधम गाउँमा फर्किन थालेपछि यहाँका ग्रामीण बस्तीमा भने निकै चहलपहल बढेको शितगङ्गा नगरपालिका वडा नम्बर ४ का व्यापारी डिल बहादुर गुरुङ बताउँछन् । 

गुरुङ भन्छन्,‘कामको सिलसिलामा गाउँ छोडेर गएका अहिले धमाधम गाउँ फर्किन थालेपछि यहाँका गाउँमा दशैंको निकै चहलपहल बढेको छ, तर सहर बजार भने खाली हुँदै गएका छन् ।’

जिल्लामा  अबिर वर्षाका कारण सडकहरु अबरुद्ध भएपनि अहिले ग्रामीण सडकहरु सुचारु भएको र अहिले अर्घाखाँचीका गाउँघरमा रहेका पसलहरुमा दशैंका लागि आउने तथा नयाँ लुगा किन्नेहरुको भीड लाग्ने गरेको छ । यहाँका गाउँघरमा अहिले सञ्चालन भइरहेका गाडीहरुमा स्थानीयवासीले भरीभराउ हुने गरेको गुरुङ बताउँछन् । 

प्रमुख व्यापारी केन्द्रमा व्यापार व्यवसाय गर्ने व्यक्तिहरु प्रायः जिल्लाबाहिर तथा गाउँमा बसोबास गर्ने नागरिक भएका कारण पनि उनीहरु भने दशंैका लागि अन्तिम दिन मात्रै गाउँ जाने भएका कारण बजारमा अझै दिउँसोमा बाहिर जिल्लाबाट सदरमुकाम सन्धिखर्कमा ओर्लने गाडीका यात्रुहरुले गर्दा केही चहलपहल भएपनि गाउँमा भने त्यसको तेब्बरले चहलपहल बढेको नरपानी जगतका व्यापारी किशोर न्यौपानेले बताए ।

न्यौपानेले भने,‘बजारमा बस्ने प्रायः सबै मान्छे आ–आफ्ना गाउँ फर्किन थालेका छन्, बजारमा व्यापारसमेत घटेको छ ।’ यहाँका बजारमा व्यापार व्यवसाय गर्ने आधाभन्दा बढी ग्रामीण क्षेत्रका विभिन्न गाउँबाट आएका छन् भने कतिपय जिल्लाबाहिरबाट आएर व्यापार–व्यवसाय गरिरहेका छन् । उनीहरूले पसल खोलेपनि बजार र गाउँमा मूल्य खासै फरक नपर्ने भएको कारण बाहिरबाट आउनेहरुले सदरमुकाममा भन्दा गाउँका पसलहरुमा किनमेल गर्ने गरेको कारण दशैंबजार गाउँमा चहलपहल बढी छ ।

उता चाडपर्वका साथमा जिल्लामा अप्रिय घटना नहोस् भन्दै जिल्लामा शान्ति सुरक्षाको अवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए । प्रजिअ अर्यालले  भने,‘चाडबाडमा हुने घटनाको अवस्थालाई दृष्टिगत गरी हामीले शान्ति सुरक्षाको अवस्था मजबुद बनाएका छौं, कुनै अप्रिय घटना हुन दिने छैनौं ।’ अहिले यहाँका बजार तथा ग्रामीण इलाकामा सुरक्षाकर्मीले निगरानी बढाएका छन् ।

सदरमुकाम बाहिरका गाउँमा भने दिनप्रतिदिन चहलपहल निकै बढ्नुको साथै ग्रामीण क्षेत्रका दजनौँ गाउँमा चर्खे र लिंगे पिङले रमाइलो बढाएको शितगंगाका युवा व्यवसायी नारायण सिंह बेल्वासेले बताए । उनले भने,‘गाउँमा निकै रमाइलो भएको छ, गाउँबाट बाहिरिएका सबै गाउँघर फर्किंदैछन्, अहिले त यहाँका गाउँ बजार भन्दा कम छैनन्, दशैंका लागि हालिएका पिङमा रमाइलो गर्ने झनै बढेका छन् ।’

गाउँमा चहलपहल भएसँगै यहाँका ग्रामीण क्षेत्रका पसलमा व्यापार–व्यवसाय पनि निकै फस्टाएको स्थानीयवासी बताउँछन् । यस्तै गाउँका ग्रामीण क्षेत्रमा रहेका पुराना दरबार, कोट तथा भगवतीका मन्दिरमा दशैं घरमा घटस्थापनादेखि  दैनिक हुने पूजापाठ शुरु भएपछि गाउँको रौनक छुट्टै बनाएको छ । अर्घाखाँचीको अर्घा भगवती  हसपुरको रागामारे जुकेनाको भगवती मन्दिर ठाडाको भगवती मन्दिर ढिकुराको भगवती मन्दिर लगायतका  मन्दिरमा बिहीबार घटस्थापनादेखि नै पूजापाठ गर्नेको भीड लागेको छ ।  

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise