२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

सुरक्षा निकायलाई जलचर तथा वन्यजन्तु संरक्षण ऐनसम्बन्धी अभिमुखीकरण

ADV
सन्तोष पौडेल
२०८१ असार १ गते १६:२६
सुरक्षा निकायलाई जलचर तथा वन्यजन्तु संरक्षण ऐनसम्बन्धी अभिमुखीकरण

बर्दिया : बर्दिया र कैलालीका सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुलाई टिकापुरमा जलचर तथा वन्यजन्तु संरक्षण ऐन र दिगो ढुंगा, गिट्टी तथा बालुवा उत्खननसम्बन्धी अभिमुखीकरण गराइएको छ ।

'कर्णाली नदीमा ओत संरक्षणका लागि नदीमा आश्रित समुदायको जीविकोपार्जन तथा अभिभावकत्व सवलीकरण परियोजना’ अन्तर्गत डल्फिन संरक्षण केन्द्र भजनी कैलालीले अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो ।

सुरक्षा निकायलाई जलचर संरक्षण तथा नदीमा हुने अवैध तथा अनियमित गतिविधि नियन्त्रण गर्न क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको डल्फिन संरक्षण केन्द्रका सचिव विजयराज श्रेष्ठले बताए ।

कार्यक्रममा बर्दियाको इलाका प्रहरी कार्यालय पाताभार तथा राजापुर, सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुक्षा गुल्म राजापुर, कैलालीको इलाका प्रहरी कार्यालय टिकापुर, लम्की, भजनी तथा प्रहरी चौकी अमरावती र सशस्त्र प्रहरी बल टिकापुरका प्रमुखसहित ३० जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

अभिमुखीकरण कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन (पाँचौं संशोधन), २०७३ र नदीसम्बन्धी अन्य कानूनहरू, ओत संरक्षणमा सरोकारवालाहरुको भूमिका, यसको शिकार प्रजाति र बासस्थान संरक्षण, जलीय जैविक विविधता संरक्षण र सिमसार/नदी संरक्षणसम्बन्धी कार्यहरूका विषयमा बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले सहजीकरण गरेका थिए ।

त्यस्तै पशुसेवा तालिम केन्द्र धनगढीका मत्स्य विकास अधिकृत डा. सूर्यबहादुर शाहीले जलचर संरक्षण ऐन २०१७ र एक्वाटिक्स (अनुबन्ध) नियम, २०१९ लगायत नदीमा हुने अवैध गतिविधिहरूका बारेमा सहजीकरण गरेका थिए ।

एकदिने कार्यक्रममा वातावरणविद् दिनेश चन्द्र जोशीले नदीमा गिट्टी, ढुंगा, बालुवा उत्खनन र त्यसले निम्त्याउने समस्या तथा सकारात्मक र नकारात्मक असरहरु, नकारात्मक प्रभावबाट बच्ने उपायहरू, प्रारम्भिक वातावरणीय अध्ययनबीचको अन्तर, अवैध बालुवा र गिट्टी उत्खनन बन्द गर्न नियामक निकायको भूमिकाका विषयमा सहजीकरण गरेका थिए ।

विश्व वन्यजन्तु कोष नेपालद्वारा नेपाल सरकारसँगको समन्वय र बेलायत सरकारअन्तर्गत दार्विन इनिसिएटिभको सहयोग, सोनाह विकास समाज बर्दिया, डल्फिन संरक्षण केन्द्र कैलाली, मुक्त कमैया महिला विकास मञ्च कैलाली र साना स्तनधारी संरक्षण तथा खोज अनुसन्धान केन्द्र काठमाडौंद्वारा परियोजना सञ्चालित छ ।

ADVADV

सम्बन्धित खबर

Advertise