जुम्ला : जुम्ला कारागारका कैदीबन्दी तथा थुनुवाहरुको स्वास्थ्य परीक्षण गरिएको छ । जुम्ला कारागारका प्रशासक प्रमुख गया प्रसाद पाण्डेका अनुसार १ सय २३ जना कैदीबन्दी तथा थुनुवाको एचआईभी र क्षयरोग परीक्षण गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाको आयोजना तथा जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको समन्वयमा कैदी तथा थुनुवाको एचआईभी र क्षयरोग नमूना जाँच गरिएको हो । जिल्ला प्रहरी कार्यालयले आउँदै गरेको ६९औं प्रहरी दिवस २०८१ को अवसरमा निःशुल्करुपमा क्षयरोग परीक्षण गरिएको प्रहरी नायव उपरीक्षक छेदीलाल कामतीले बताए । उनका अनुसार सबै कैदीबन्दीलाई एकै पटक अस्पताल पुर्याउन नसकिने भएकाले कागारभित्रै स्वास्थ्य जाँच गरिएको हो । पछिल्लो समय कैदीबन्दीहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय जुम्लाले स्वास्थ्य शिविरहरु सञ्चालन गर्दै आएको छ ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहीले कारागारमा रहेका कैदीबन्दीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिन, स्वास्थ्य सेवाको पहुँच बढाउन र कैदीबन्दीहरु बसेकै स्थानबाट स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक रहको बताए । कुनै जटिल प्रकारका रोगहरू समयमा नै पत्ता लगाइ अस्पतालमा पठाउन स्वास्थ्य शिविरले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाइ छ ।
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले कैदीबन्दीहरूको सामूहिक बसाइ, खानपान तथा जीवनशैलीलाई परिमार्जन गर्दे व्यक्तिगत सरसफाइ, खानपिन, जीवनशैलीमा सुधार ल्याउनेसमेतका विषयमा प्रहरीले सक्रियता देखाएको बताए । कारागारभित्र कैदीबन्दीलाई लक्षित गरी स्वास्थ्य जाँचको व्यवस्था मिलाउनु राम्रो पक्ष भएको उनले बताए।
जनस्वास्थ्य कार्यालय जुम्लाका जनस्वास्थ्य निरीक्षक प्रेम सुमाइले जाँच गरिएकाहरुको रिपोर्ट मंगलबार मात्रै आउने जानकारी दिए ।