२०८१ मंसिर १० गते सोमवार / Nov 25 , 2024 , Monday
२०८१ मंसिर १० गते सोमवार

दशैंको सम्झना

ADV
किस्ना आचार्य रोशनी
२०८१ असोज २४ गते ०६:१५
दशैंको सम्झना

असोज कात्तिक महिना छर्लङ्ग खुलेको आकाश, धुम्म बादल क्रमशः हटेर फूलका थुँगाका आकृतिमा बदलिँदै आकाशलाई सजाए झैँ लाग्ने मनमोहक दृश्य, सफा सेता टल्किने हिमाल अनि उस्तै प्रस्ट आकृतिमा लहरै उभिएका हरिया पहाड, आलीमा भटमास अनि गह्राभरि पहेँलै लहलह धान झुलेका फाँटहरू । प्रकृतिको अनुपम यो दृश्य, संस्कृतिको रौनक बोकेर आउने दसैँ नजिकिएको संकेत गर्न पर्याप्त छ । 

तिथिका हिसाबले असोज कृष्ण प्रतिपदादेखि औँसीसम्म पितृहरूको पर्वको रूपमा सोह्र श्राद्ध मनाइन्छ । दिवङ्गत आफन्तको सम्झनामा मनाइने यो पर्व सकिए लगत्तै अर्थात् असोज शुक्ल प्रतिपदादेखि सुरु हुन्छ बडादसैँ । असोज शुक्ल प्रतिपदा अर्थात् घटस्थापना दशैंको पहिलो दिन हो भने कोजाग्रत पूर्णिमासँगै दसैँ समापन हुन्छ । घटस्थापनाको दिन पूजा गरी विधिपूर्वक जमरा राखिन्छ भने दशमीदेखि पूर्णिमासम्म टीका र जमरा लगाइ पूर्णिमाको दिन नदी, जलाशय या पानीका अन्य स्रोत नजिक उक्त जमरा सेलाइ विसर्जन गरिन्छ । नवरात्रि आरम्भ भएसँगै हरेक दिन शक्तिकी प्रतीक दुर्गा भवानीको पूजा गरिन्छ । शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री प्रतिपदादेखि नवमीसम्म क्रमिकरूपमा पुजिने शक्तिमाता दुर्गाका स्वरूपहरू हुन् । सप्तमी, अष्टमी, नवमी र दशमी चार दिन बडो धूमधामका साथ मनाइन्छ । सप्तमीलाई फूलपाती भनिन्छ । यस दिन कालरात्रिको पूजन गरिन्छ । घरघरमा हर्षोल्लासका साथ फूलपाती भित्र्याइन्छ । अष्टमीको दिनलाई महाअष्टमी भनिन्छ । यस दिन महागौरीको पूजा गरिन्छ । घरघरमा पूजापाठ गरी उत्सव मनाइन्छ । त्यसै गरी नवमी अर्थात् महानवमीको दिन पनि दुर्गास्वरूपा सिद्धिदात्रीको पूजा आराधना गरी मनाइन्छ । 

शक्ति प्राप्त गर्ने या देवीलाई खुसी बनाउने क्रममा निहत्था र निर्दोष पशुको बलि दिने परम्परा पुनर्विचार गर्नुपर्ने आवाज पनि उठेको पाइन्छ असत्यमाथि सत्यको, दानवविरुद्ध देवताको, असुरमाथि सुरको विजयको उद्घोष भएको स्मरण गर्दै दसौँ दिन विजयादशमीको रूपमा काटमार अन्त्य गरी टीका जमरा लगाइ मनाइन्छ । मान्यजनको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्नु दशैंको सबैभन्दा सुन्दर पक्ष हो । यसले हामीलाई आफन्तसँगको सद्भाव कायम राख्न प्रेरित गर्छ । 

पहिलेको कुरा गर्दा किसान वर्गले खेतबारीको कामबाट फुर्सद पाउने, शिक्षक विद्यार्थीका लागि स्कुल कलेज छुट्टी हुने, कर्मचारीका लागि कार्यालय बिदा हुने (सेना–प्रहरीमा भने दसैँ बिदा सबैका लागि नमिल्ने) परदेशिएका लाहुरे पनि परिवारसँगै पर्व मनाउन घर फर्किने गरेको पाइन्छ । अध्ययन र रोजगारीको सिलसिलामा जन्मस्थलबाट टाढिएकाहरूलाई गाउँघरसम्म डो¥याउने माध्यम बन्थ्यो दसैँ । अहिलेजस्तो सवारी साधनको सुविधा नहुँदा पनि परदेश र सहरको बसाइलाई केही दिनलाई थाती राख्दै गाउँ फर्किने लर्को कयौँ दिनको पैदल यात्रामा पनि खुसी खुसी निस्कन्थ्यो । खुट्टैले नापिन्थ्यो घरदेखि माइत, मावल र ससुरालीसम्मको दुरी । घरवास छोडेर प्रवास पसेका हुन् या घरबार विहीन नै दशैंमा सबैले गाउँघर नै रोज्थे ।

उतिबेला दसैँ कहिले आउला भनेर औँला भाँच्दै दिन गन्दै पर्खिनु, नयाँ लुगा, जुत्ता चप्पल किन्नुको मज्जा अर्कै थियो । आँगनभरि पराले गुन्द्री र मान्द्रोमा बिस्कुन सुकाउनु, अनि कुटानी पिसानीको लागि घट्ट÷मिल जानु दसैँअघिको दैनिकी हुन्थ्यो । दशैंको स्वागतमा सिङ्गो गाउँ जुट्दथ्यो । चौतारी, पाटी, पौवा, मन्दिर, चौर र बाटोघाटोदेखि धारा कुवासम्म सरसफाइको अगुवाइ बुढापाकाले गर्थे, तन्नेरीहरू हातमा हात काँधमा काँध मिलाएर साथ दिन्थे । हरेक घरका भाउजू बुहारीले घरभित्र बाहिर गोबर माटोले लिप्ने, त्यसपछि रातो माटो पोत्ने कमेरो छ्याप्ने गर्थे । झ्याल ढोका रङ्गाउन खोटो (रुखको बोक्रा पानीमा पकाएर बनाइने बाक्लो कालो रङ) प्रयोग हुन्थ्यो । आँगनमा असार साउनमै सारिएका सयपत्री गोदावरी आदिले मगमग वासनाको साथमा सहजै मन चोरिरहेका हुन्थे । तगारो करेसा सबै सफा चट पारिन्थ्यो । 

बाटैभरि छुट्टी मान्न घर फर्किएका लाहुरेको क्यासेट र भरिया दाइहरूको सुस्केरा गुन्जिन्थ्यो । अनि घर आउन नपाएका घरमुलीको खबर बुझ्न आएका गृहिणी र लाहुरबाट ल्याएको पाहुर खाने आसमा झुम्मिने केटाकेटीको भीडले लाहुरेको घर आँगन छपक्क ढाकिन्थ्यो । पिँढीमा बसेर घर कुर्दै कुखुरा हेर्ने वयोवृद्ध हुन् कि बारीमा साग छर्दै गरेकी आमा भाउजू या चौरमा सङ्गीको साथमा रमाई रमाई खेलेको बालसुलभ मन जोकोहीलाई स्वतः स्फूर्त आफूतिर आकर्षित गर्ने रेडियोमा बज्ने मालसिरी धुन, दशैंसम्बन्धी गीत, दुर्गा भजन आदिमा शक्तिको भक्ति अनि वर्ष दिनको चाड मनाउन आउन नपाएका खर्च पठाएका यस्तै यस्तै कारुणिक भाव समेटिएका हुन्थे । दशैंमा मनोरञ्जनका लागि पिङ सर्वोत्तम माध्यम बन्थ्यो । पिङ खेल्नमा भन्दा बढी रमाइलो पिङका लागि आवश्यक सामग्री जुटाउनुमा लाग्थ्यो । चर्खे पिंगका लागि रुख काट्न बोक्नदेखि लिङ्गे पिङमा मच्चिन भनेर बाँस खोज्न, डोरी बाट्न पाट र बाबियो जम्मा गर्न उत्तिकै आनन्द आउने । 

हरेक वर्ष दसैँ आउनुअघि यसरी नै सम्झनाका कुइनेटाहरूमा अलमलिँदै विगतका केही कल्पनामा डुब्दै समय कटाउने पंक्तिकारको मानसपटलमा यसपालि भने वर्षा सकिएर शरद सुरु भइसक्दा अचानक परेको अविरल वर्षासँगै निम्तिएको बाढी र पहिरोको समाचार अनि त्यसले दिएको सन्त्रास छपक्कै छ । प्रकृति यति क्रूर बनेर खै किन हो बेमौसमी बाढीले घर गोठ एकै निमेषमा बगर तुल्याएको छ भने कतै जीवन लीला नै लेदो भेलसँगै बगेर टुङ्गिएको छ । सुनौला बाला झुलाइरहेका धान खेत लगभग स्थायी बगरमा परिणत भएको नमिठो दृश्य किसानको सन्तान हुनुका कारण पनि बढी बिझाउँदो रहेछ । जनजीवन अस्तव्यस्त, अनिश्चित बनिरहँदा आएको दसैँ बाढी पहिरो पीडितका लागि त्रासदी र अन्योलबिच बित्ने भयो ।

ADVADV

सम्बन्धित खबर

Advertise