२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

बागमती प्रदेश सरकारको बजेट ६४ अर्ब ५४ करोड

ADV
राजकुमार के.सी.
२०८१ असार १ गते २२:४७
बागमती प्रदेश सरकारको बजेट ६४ अर्ब ५४ करोड

मकवानपुर : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि ६४ अर्ब ५४ करोड ४ लाख रुपैयाँको बजेट सहितको नीति तथा कार्यक्रम शनिबार प्रदेश सभामा प्रस्तुत गरेको छ । यो बजेट  चालु आर्थिक वर्षको तुलनामा १ अर्ब ८४ करोड रुपैयाँ बढी हो । बागमती प्रदेशसभामा बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले यस बजेटले प्रदेशको विकासमा दीर्घकालिन प्रभाव पार्ने बताए ।

कुल बजेटमध्ये चालू खर्चतर्फ २६ अर्ब १० करोड १६ लाख रुपैयाँ, पुँजीगत खर्चतर्फ ३६ अर्ब ९३ करोड ८७ लाख रुपैयाँ, र वित्तीय व्यवस्थापनतर्फ १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ । यसले चालूतर्फ ४०.४४ प्रतिशत, पुँजीगततर्फ ५७.२३ प्रतिशत, र वित्तीय व्यवस्थापनतर्फ २.३२ प्रतिशत बजेट छुट्याएको छ ।

बजेटमा आगामी आर्थिक वर्षको खर्चको स्रोतमध्ये कर राजस्वबाट २७ अर्ब ३८ करोड ५७ लाख रुपैयाँ, अन्य राजस्वबाट ६ अर्ब ५१ करोड रुपैयाँ, सङ्घीय वित्तीय हस्तान्तरणबाट १५ अर्ब ५७ करोड ६५ लाख रुपैयाँ, चालू आर्थिक वर्षको अनुमानित सञ्चित कोषको बचत र अन्य प्राप्तिबाट १४ अर्ब ८६ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । बजेटमा प्रदेश सरकारका मन्त्रालयहरूलाई प्राथमिकता र आवश्यकता अनुसार रकम विनियोजन गरिएको छ । 

जसअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयलाई सबैभन्दा बढी २२ अर्ब ६४ करोड रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई २ अर्ब ६२ करोड,संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयलाई २ अर्ब ४६ करोड, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयलाई ७२ करोड, वन तथा वातावरण मन्त्रालयलाई ३ अर्ब २१ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

श्रम, रोजगार तथा यातायात मन्त्रालयलाई ९३ करोड, स्वास्थ्य मन्त्रालयलाई ४ अर्ब ८ करोड र सामाजिक विकास मन्त्रालयलाई ३ अर्ब ९१ करोड रुपैयाँ विनियोजन गरिएको छ । 

युवा तथा खेलकुद मन्त्रालयलाई ७४ करोड, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयलाई ६ अर्ब ९३ करोड, आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई ४४ करोड, आर्थिक मामिला तथा योजना मन्त्रालयलाई २४ करोड २ लाख र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई ५० करोड ६४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

बजेटमा प्रमुख प्राथमिकता शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, तथा स्थानीय विकासलाई दिइएको छ । बजेटले विशेषगरी, साना तथा मझौला उद्यमहरूको विकास, कृषि क्षेत्रको सशक्तिकरण र पर्यटन प्रवर्द्धनका क्षेत्रमा विविध कार्यक्रम तय गरेको छ ।

त्यस्तै बजेटमा प्रदेश सरकारले शिक्षा क्षेत्रलाई व्यवस्थित गर्न र गुणस्तरीय शिक्षा प्रदान गर्न विभिन्न योजना तथा कार्यक्रमहरू सञ्चालनमा ल्याउने उल्लेख गरेको छ ।

प्रदेशका नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच सुधार गर्न, नयाँ अस्पतालहरूको निर्माण र विद्यमान स्वास्थ्य संस्थाहरूको स्तरोन्नति गर्ने योजना सरकारले ल्याएको छ ।

कृषि क्षेत्रको सुदृढीकरणका लागि सिँचाइ सुविधा विस्तार, साना सिँचाइ आयोजनाहरूको निर्माण, र कृषकलाई प्रोत्साहन अनुदानमा बजेट विनियोजन गरिएको र दुग्धजन्य उत्पादनहरूको निर्यात प्रवद्र्धन गर्न आवश्यक बजेट व्यवस्था गरिएको आर्थिक मामिला तथा योजना मन्त्री थपलियाले बताए ।

पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि विभिन्न पर्यटकीय स्थलहरूको विकास, पयर्टक आकर्षण बढाउन रोड शो, मेला, र महोत्सव आयोजना गरिने बजेटमा उल्लेख छ । 

सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत बृद्धभत्ता, अपांगता भत्ता, र अन्य सामाजिक सुरक्षा योजनाहरूलाई निरन्तरता दिँदै विभिन्न जातजाति, भाषा, संस्कृतिका सम्पदाहरूको संरक्षण र विकासमा बजेट विनियोजनले समावेशी विकासलाई टेवा पु¥याउने कार्यक्रम बजेटमा समावेस गरिएको मन्त्री थपलियाले बताए ।
बजेटले बागमती प्रदेशको आर्थिक, सामाजिक, र सांस्कृतिक क्षेत्रमा दीर्घकालीन प्रभाव पारी प्रदेशको दिगो विकास र समृद्धिको मार्गमा महत्वपूर्ण योगदान पुर्याउने लक्ष्य लिएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise