२०८१ मंसिर ६ गते बिहिवार / Nov 21 , 2024 , Thursday
२०८१ मंसिर ६ गते बिहिवार

विश्व हात धुने दिवसको अवसरमा आमाहरूलाई सरसफाइ सामाग्री

ADV
सन्तोष पौडेल
२०८१ असोज २९ गते २१:५०
विश्व हात धुने दिवसको अवसरमा आमाहरूलाई सरसफाइ सामाग्री

बर्दिया : बर्दियाको बारबर्दिया नगरपालिकामा आमाहरूलाई सरसफाइका सामग्री वितरण गरिएको छ । विश्व हात धुने दिवसको अवसर पारेर मंगलबार बारबर्दिया नगरपालिका वडा नं. ५ पथ्थरपुरका गर्भवती तथा ८ वर्ष सम्मका वच्चाका आमाहरूलाई सरसफाइका सामाग्रीहरू वितरण गरिएको हो । 

वडा नं. ५ का वडा अध्यक्ष लालबहादुर चौधरी, बारबर्दिया नगरपालिकाका सरसफाई फोकल पर्सन कृष्ण प्रसाद गौतम, आधारभूत स्वास्थ्य केन्द्र जब्दहवाका प्रमुख कमल आचार्यले हात धुने साबुन तथा ट्वाइलेट सफा गर्ने हार्पिक र ब्रस वितरण गरेका थिए । 'किन सफा हातहरू अझै महत्त्वपूर्ण छन् ?' भन्ने नारासहित विश्व हात धुने दिवस मनाउन आयोजित कार्यक्रममा २६ जना आमाहरूलाई सरसफाइका सामाग्री वितरण गरिएको थियो । 

कार्यक्रममा बोल्दै वडा अध्यक्ष लालबहादुर चौधरीले स्वच्छ समाज र स्वस्थ जीवनका लागि महत्त्वपूर्ण रहेको हात धुनुलाई सबैले व्यवहारमा उतार्नुपर्ने बताए । उनले आफ्नो दिनचर्यामा नियमितरूपमा हात धुने कार्यलाई समावेश गर्न सबै वडा वासीलाई आग्रह गरे । 

बारबर्दिया नगरपालिकाका सरसफाइ फोकल पर्सन कृष्ण प्रसाद गौतमले स्थानीय सरकार सँगको सहकार्यमा विभिन्न सङ्घ संस्थाहरूले नगरपालिका वासीहरूको स्वास्थ्यमा सुधार ल्याउन विभिन्न कार्यक्रमहरू गरिरहेको बताउँदै सिकेका कुरा व्यवहारमा उतार्न अनुरोध गरे । 

सशक्त बालिका परियोजनाका परियोजना संयोजक मनोज पौडेलले साबुनपानीले मिचिमिची हात धुने बानीले श्वासप्रश्वासजन्य एवम् निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन र जीवाणुद्वारा लाग्ने रोगबाट पनि बच्न सकिने तथ्य विभिन्न अध्ययनले देखाएको बताए । उनले भने, 'विभिन्न सङ्क्रमण फैलिन नदिन नियमित रुपमा साबुन पानीले हात धुनु सबैभन्दा सर्वसुलभ, सजिलो र महत्त्वपूर्ण उपाय हो ।' 

सशक्त बालिका परियोजना अन्तर्गत प्लान इन्टरनेसनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दियाको आर्थिक सहयोग तथा बारबर्दिया नगरपालिका ५ नं. वडा कार्यालय एवम् वडा स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । 

विश्व हात धुने दिवस विश्वभरका मानिसलाई हात धुने बानीमा सुधारका लागि उत्प्रेरित र परिचालन गर्ने एउटा अन्तर्राष्ट्रिय अभियानका रूपमा घोषणा गरिएको हो । नेपालमा सन् २००८ देखि यो दिवस मनाउन थालिएको हो ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise