२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

सिलदेवी मेलामा देउडा, भलिबल र कृषि प्रदर्शनी मेला हुने

ADV
सत्यराज सिंह
२०८१ असोज ३० गते १३:५३
सिलदेवी मेलामा देउडा, भलिबल र कृषि प्रदर्शनी मेला हुने

बझाङ : बझाङको सदरमुकाम चैनपुरमा लाग्ने प्रसिद्ध ऐतिहासिक, धार्मिक, व्यापारिक सांस्कृतिक, एवंम पर्यटकीय सिलदेवी मेलामा देउडा, भलिबल र कृषि प्रदर्शनी मेला हुने भएको छ । कार्तिक १ गते पूर्णिमाको दिन देखि शुरू हुने सिलदेवी मेलामा महिला-पुरूष अन्र्तरपालिका भलिबल, देउडा र कृषि प्रदर्शनी मेलाको आयोजना गरिएको उद्योग बाणिज्य संघ बझाङका उपाध्यक्ष शंकर रसाइलीले बताए । 

उद्योग वाणिज्य संघ बझाङले आज पत्रकार सम्मेलन गर्दै मेलाको अवसरमा गरिने खेलकुद लगायतका कार्यक्रमहरूको बारेमा पत्रकारहरूलाई जानकारी दिएको छ । कोभिड र विपद्का कारण केही वर्ष उद्योग वाणिज्य संघले मेलामा हुने कार्यक्रम आयोजना गर्न नसकेको र यो वर्षदेखि फेरि निरन्तरता दिएको उधोग बाणिज्य संघ बझाङका अध्यक्ष दान बहादुर सुर्मेलीले बताए ।

कार्तिक १ गतेबाट शुरू हुने सिलदेवी मेलाको अवसरमा सुरू हुने कार्यक्रमहरू कार्तिक ७ गते सम्म चल्ने भएका छन् । मेलामा आयोजना गरिएको भलिबल प्रतियोगिता अन्तरपालिका स्तरीय हुने आयोजकले जनाएको छ । पुरूष भलिबलतर्फ प्रथम पुरस्कार २ लाख २ हजार ८१ रहेको छ । द्वितीय पुरस्कार १ लाख २ हजार ८१, तृतीय पुरस्कार ५२ हजार ८१ भने सान्त्वना पुरस्कार १२ हजार ८१ रूपैयाँ रहेको छ । 

पुरूष भलिबलका लागि टिम दर्ता शुल्क १० हजार तोकिएको छ । यस्तै महिला भलिबल तर्फ प्रथम पुरस्कार १ लाख २ हजार ८१, द्वितीय पुरस्कार ५२ हजार ८१, तृतीय पुरस्कार २२ हजार ८१, सान्त्वना पुरस्कार ५ हजार ५ सय ८१ रहेको छ भने टिम दर्ता शुल्क ५ हजार रूपैयाँ रहेको छ । पुरूष भलिबलमा ३० टिम र महिला भलिबलमा २० टिम सम्म पुग्ने अनुमान आयोजकले गरेको छ । सिलदेवी मेलामा आयोजना गरिने भलिबलले बझाङबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडिहरू उत्पादन गरेको आयोजकले जनाएको छ । 

स्थानीय भेषभूषा र देउडाको संरक्षणका लागि देउडा प्रतियोगिता

स्थानीय भेषभूषा र देउडाको संरक्षणका लागि सिलदेवि मेलामा अन्तरपालिका महिला-पुरूष देउडा प्रतियोगिता आयोजना गरिएको छ । उद्योग वाणिज्य संघ बझाङले देउडा संस्कृति जोगाउन स्थानीय भेषभूषा, मौलिकता र पहिरनमा देउडा प्रतियोगिता आयोजना गरेको हो । हराउँदै गएको देउडा संस्कृतिको संरक्षण गर्न र मौलिकताको प्रचारप्रसारको लागि देउडा प्रतियोगिता आयोजना गरिएको उधोग वाणिज्य संघ बझाङका महासचिव नरेन्द्र खड्काले बताए । बझाङको मौलिक परम्पराका रूपमा रहेको देउडा गीतको संरक्षण र विकास गर्ने उद्देश्यले देउडा प्रतियोगिता आयोजना गरिएको महासचिव खड्काको भनाई छ ।

आधुनिकतामा रमाउँदै आएका पछिल्लो समयका युवा पुस्ताका मानिसहरूलाई परम्परागत रितिरिवाज, 
चालचलन, मौलिकता, गीत संगीतका संरक्षण र स्थानीय पुरानो पहिरनका साथै यसको संरक्षण तथा महत्वबारे पुस्तान्तरण गर्नको लागि सन्देश दिन देउडा प्रतियोगिताको आयोजना गरिएको उद्योग वाणिज्य संघ बझाङका अध्यक्ष दान बहादुर सुर्मेलीले बताए । उनले भने,‘समाजमा केही कुराको जानकारी र सन्देश दिन अन्य कार्यक्रमभन्दा गीत, संगीत र देउडा खेलको अत्यन्तै प्रभावकारी भूमिका हुन्छ । स्थानीय, मौलिक परम्परा,भेषभूषा, चालचलन, धर्म र सांस्कृति जगेर्ना गर्नु हाम्रो कर्तव्य हो । त्यसैले युवा जनमानसमा, स्थानिय देउडाको संरक्षण र चेतनाको सन्देश फैलाउनका लागि देउडा प्रतियोगिता आयोजना गरेका छौं ।’

सहभागी देउडियाबाट प्रथम हुनेलाई, ३० हजार, द्वितीय हुनेलाई २० हजार र तृतीय स्थान हासिल गर्ने प्रतियोगीलाई १० हजार पुरस्कार रहेको छ । पुराना पुस्ताका मौलिक परम्परागत, पहिरन, साथै देउडा खेलसमेत लोप हुने अवस्थामा रहेकाले यसलाई संरक्षण गर्नको लागि सबैले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने समेत आयोजकले बताएको छ ।

स्थानीय बालीको संरक्षण प्रवर्दधन र बजारीकरण गर्न स्थानीय उत्पादनको प्रदर्शनी

सिलदेवी मेलामा स्थानीय उत्पादन (कृषि मेला) प्रदर्शनी आयोजना गरिएको छ । कृषि ज्ञान केन्द्र बझाङको आयोजना र उद्योग बाणिज्य संघको समन्वयमा स्थानीय बालीको संरक्षण प्रवर्द्धन र बजारीकरण गर्न सहयोग पु¥याउने उद्देश्यले मेलामा स्थानीय उत्पादनको प्रदर्शनी (कृषि मेला) आयोजना गरिएको हो । प्रदर्शनीमा किसानहरूले आफै उत्पादन गरेका रैथाने वस्तुहरूका स्टल राखिने उधोग बाणिज्य संघ बझाङका महासचिव नरेन्द्र खड्काले बताए । पछिल्लो समय बाहिरबाट आयातित खाद्यान्नका कारण स्थानीय उत्पादनमा गिरावट आउन थालेपछि किसानहरूलाई स्थानीय उत्पादनमा लाग्न प्रेरित गर्ने हेतुले स्थानिय उत्पादन प्रदर्शनी आयोजना गरिएको उनको भनाई छ । 

मेलामा १० हजार दर्शक सहभागी हुने आयोजकले अपेक्षा गरेको छ । मेलाको ९० प्रतिशत तयारी सक्किएको आयोजकले जनाएको छ । मेलालाई व्यवस्थित र सफल बनाउन स्वयंमसेवक तोकेको र सबै सुरक्षा निकायसँग छलफल भएको उधोग बाणिज्य संघ बझाङका उपाध्यक्ष शंकर रसाइलीले बताए । मेलामा राष्ट्रिय कलाकारहरूको प्रस्तुति समेत देखाइने भएको छ ।

सिलदेवी मेलाको महत्व

एघारौं शताब्तीतिर दुर्गादेवीकी १६ बहिनीमध्ये सुर्मादेवी सुर्मा सरोवर जाने क्रममा चैनपुर आएको र चैनपुरका जोख्या थापासित काँक्रो माग्दा नदिएपछि आफ्नो दिव्य शक्तिले सेती नदी र बाहुलीगाड खोलाको बहाब बढाई चैनपुर बगाइदिएको किम्बदन्ती छ ।

उक्त भनाइअनुसार कोजाग्रत पूर्णिमाको दिन भएको घटना चैनपुरको बीच भागमा रहेको ढुंगामा बसेर सुर्मादेवीले हेरेकाले सोही ढुंगा (सिल)लाई यहाँका मानिसले मन्दिर बनाई पूजा गर्दै मेला गर्न थालेका हुन् । त्यही दिनको सम्झनामा प्रत्येक कोजाग्रत पूर्णिमाको दिन मेला लाग्ने गरेको बझाङी इतिहासका अध्येता विष्णुभक्त शास्त्री बताए ।

शास्त्रीका अनुसार पछि सोह्रौ शताब्दीतिर बझाङी राजा गजराज सिंहले यो मन्दिरलाई अझ भव्य बनाउन लगाएको र मेलालाई पनि थप व्यवस्थित तथा आकर्षक गराउन पहल गरेका थिए । मेलाको दिन आएर सिलदेवीको दर्शन गरे पुण्य प्राप्त हुने र इच्छित बर प्राप्त हुने भनाइले यसको महत्व अझ बढेको शास्त्री बताउँछन् । मेला अवलोकनका लागी बझाङ लगायत सुदूरपश्चिमका विभिन्न जिल्लाबाट दर्शनार्थी सदरमुकाम चैनपुर आउने गर्छन् ।
 

ADVADV

सम्बन्धित खबर

Advertise