सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जनतालाई आशा जगाएर सुशासन कायम गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको बताएका छन् । बुधबार सल्यानमा आयोजित सर्वदलीय बैठकमा मुख्यमन्त्री कँडेलले लामो समयको संघर्षपछि राजनीतिक परिर्वतन भएको र जनताले नयाँ किसिमले कार्यसम्पादन खोजिरहेकोले नागरिकलाई आशा जगाएर सुशासन कायम गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताए ।
‘गणतान्त्रिक व्यवस्था ल्याउन हामी सबै मिलेर संघर्ष गरेका हौं,’ मुख्यमन्त्री कँडेलले भने,‘ व्यवस्थाका लागि संघर्ष गर्दा जनता समक्ष गरिएका बाचाहरु पनि बिर्सनुहुँदैन ।’ उनले दलका नेता र जनप्रतिनिधिमध्ये कोही कसैले गलत गर्यो भन्दैमा व्यक्तिको गल्तीलाई सिंगो व्यवस्थामामाथि नै दोष लगाएर जनतामा वितृष्णा फैलाउने काम भइरहेको भन्दै मुख्यमन्त्री कँडेलले व्यवस्थामाथि लान्छाना लगाउनु भन्दा आफ्ना काम र कर्तव्यमा जिम्मेवार बन्नुपर्ने धारणा राखे ।
व्यक्ति विशेष खुशी बनाउने नाममा अनेकन विकृतिहरु भित्रिरहेको बताउँदै मुख्यमन्त्री कँडेलले व्यक्ति खुशी बनाउनुभन्दा नीति र निर्णय राम्रो बनाउन सके सबैले लाभ लिन सक्ने परिस्थिति निर्माण हुनेमा जोड दिए । यसअघि जिल्लास्थित स्थानीय तहका प्रमुख एवम् सरकारी कार्यालयका प्रमुखहरुसँगको छलफल कार्यक्रममा मुख्यमन्त्री कँडेलले संविधानले तीनै तहका सरकारलाई आ–आफ्ना सीमा क्षेत्र तोकेको बताउँदै तीनै तहका सरकारबीच समन्वयात्मक ढंगले अघि बढ्नुपर्ने बताए ।