काठमाडौं : दशैंको मुखमा वीर अस्पतालबाट निकालिएका ९ जना कर्मचारीलाई पुनःकाममा फर्काउने सहमति भएको छ । निष्कासनमा परेका कर्मचारीहरुले लगातारको आन्दोलनपछि उनीहरुलाई पुनः काममा फर्काइएको हो । उनीहरुको आन्दोलनमा कर्मचारी र मजदुर संगठनहरुले समेत साथ दिएका थिए । रोजगारदाता कम्पनी इन्फोटिचले ५० वर्षे उमेरहद देखाएर १५ वर्षदेखि कार्यरत ९ जना श्रमिकलाई कामबाट निष्कासन गरेको थियो ।
वीर अस्पताल प्रशासनले ५० वर्ष उमेर पुगेका कर्मचारीलाई काममा नराख्न भनी सम्झौता गरेको भन्दै रोजगारदाता कम्पनीले श्रम ऐन विपरीत कामदार निकालेको थियो । कर्मचारीले नियमित हाजिरी गर्न पाउनु पर्ने माग गर्दै कर्मचारी र मजदुर संगठनहरु आन्दोलनरत थिए ।
कर्मचारी, अस्पताल प्रशासन र रोजगारदाता कम्पनी बीचको वार्ता सहमति नजिक पुगेको छ । जारी श्रम विवाद निरूपण गर्ने विषयमा वीर अस्पताल र ट्रेड यूनियनबीच छलफल सकारात्मक छ । कार्यालयमा हाजिर गर्न वञ्चित ९ जना श्रमिकहरूलाई वीर अस्पतालमा केही समयपछि हाजिर गराउने गरी बुधबार छलफल टुंगिएको श्रमिकहरुको पक्षमा वकालक गर्दै आएको संस्था, नेपाल सुरक्षा ट्रेड युनियनका अध्यक्ष प्रेम बहादुर कार्कीले जानकारी दिए ।
नेपाल सुरक्षा ट्रेड यूनियनका महासचिव बेद प्रसाद हुमागाँईले श्रमिकको पक्षमा मजदुर संगठनले खेलेको भूमिकाप्रति वीर अस्पतालका निर्देशक डाक्टर सन्तोष पौडेल सकारात्मक भएका बताए । उनका अनुसार डाक्टर पौडेलले रोजगार कम्पनीको विषयमा वास्तविकता बुझेर मजदुरलाई परेको अन्यायमा विकल्प निकाल्न सहयोग गर्न प्रतिबद्धता जनाएका छन् ।
अस्पताल प्रशासनले कर्मचारीलाई प्रशासनमा बोलाएर अबको एक महिनाभित्र हाजिर गराउने र काममा फर्काउने बाचा गरेको एकीकृत ट्रेड यूनियन वीर अस्पताल प्रतिष्ठानकी इकाई अध्यक्ष सरिता दुलालले जानकारी दिइन् । यसरी अस्पतालबाट निष्कासन भएका श्रमिकहरूमा बसुन्धरा रम्तेल,संगीता श्रेष्ठ,जुनकेरी श्रेष्ठ, दिलबहादुर परियार, इन्द्र राना, मुना बजगाई, शान्ता नेपाल, चौबहादुर गुरूङ र हिरा नेपाली छन् ।