२०८१ कार्तिक १९ गते सोमवार / Nov 04 , 2024 , Monday
२०८१ कार्तिक १९ गते सोमवार

आन्तरिक रोजगार सुनिश्चित नभएसम्म वैदेशिक रोजगारको विकल्प छैन : श्रममन्त्री भण्डारी

ADV
२०८१ कार्तिक १० गते ०६:१०
आन्तरिक रोजगार सुनिश्चित नभएसम्म वैदेशिक रोजगारको विकल्प छैन : श्रममन्त्री भण्डारी

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आफ्नो एक सय दिनको मन्त्रालयको जिम्मेवारीमा वैदेशिक रोजगार सुधार तथा आन्तरिक रोजगारीमा उल्लेखनीय पहल भएको बताएका छन् । मन्त्रालयको जिम्मेवारी सम्हालेको एक सय दिन पूरा भएको अवसरमा शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भण्डारीले आन्तरिक रोजगारी वृद्धि गरेरमात्र वैदेशिक रोजगारमा अपेक्षित सुधार गर्न सकिने बताउँदै वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको सीप र क्षमता विकासको पक्षमा पनि मन्त्रालयले दीर्घकालीन सुधारका पहल गरिरहेको बताए ।

उनले भने, ‘आन्तरिक तथा वैदेशिक रोजगारको क्षेत्रमा सुधारका काम धेरै छन्, अन्तर मन्त्रालय समन्वयको अभाव छ, सय दिनभित्रै ठूलाठूला उपलब्धिको अपेक्षा राख्नु व्यवहारिक विषय होइन । नीतिगत सुधारका कामहरू भइरहेका छन् ।’

यस अवधिमा मन्त्रालयले सेवा प्रवाहमा सहजीकरण, सामाजिक सुरक्षा र वैदेशिक रोजगार व्यवस्थापनमा प्रगति भएको भन्दै मन्त्री भण्डारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा र क्षेत्रीय विमानस्थल, पोखराबाट श्रम स्वीकृतिलगायत शुरु गर्ने तयारी गरिएको, श्रम स्वीकृतिलगायतका कार्य गर्न सबै सरोकारवालासँग छलफल गरी प्रतिबद्धता प्राप्त भइ यी विमानस्थलबाट सेवा प्रवाहको तयारी पूरा गरिएको बताए ।

मन्त्री भण्डारीले श्रम सम्झौताका माध्यमबाट नेपाली कामदारका अधिकार सुनिश्चित गर्ने प्रयास जारी रहेको भन्दै दक्षिण कोरिया (ईपीएस) र मलेसियासँगको द्विपक्षीय श्रम सम्झौता नवीकरण, साउदी अरेबिया र ओमानसँग द्विपक्षीय श्रम सम्झौताको तयारीमा रहेको बताए । साउदी अरेबियासँग आफ्नो अघिल्लो कार्यकालमा समयावधि तोकेर श्रम सम्झौता गर्ने सहमति भएपनि त्यसपछिको सत्ता समीकरणमा भएको परिवर्तनले त्यसलाई बिथोलेको उल्लेख गरे ।

नेपालको तर्फबाट मलेसियासँगको श्रम सम्झौतालाई अन्तिम रुप दिइ परराष्ट्र मन्त्रालयमार्फत मलेसिया सरकारसमक्ष पठाइएको, तर जवाफ प्राप्त हुन बाँकी रहेको भन्दै ओमानसँगको द्विपक्षीय श्रम सम्झौताका लागि नेपालमा उच्चस्तरीय छलफलपछि प्रारम्भिक सहमतिपछि ओमान पठाइएको बताए ।

स्पेनसँगको श्रम समझदारी पत्रलाई अन्तिम रुप दिइएको, रोमानिया र जापानसँगको द्विपक्षीय समझदारी पत्र कार्यान्वयन गर्न संयुक्त प्राविधिक कार्यदलबाट प्रोटोकल डकुमेन्ट निर्माण गर्ने समझदारी भएको पनि मन्त्रीले भण्डारीले उल्लेख गरे ।

मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई बिनाधितो ऋण उपलब्ध गराउनेसम्बन्धी कार्यविधिको अन्तिम मस्यौदा तयार भइ स्वीकृतिको चरणमा पुर्‍याएको, श्रम स्वीकृत नभएका वा श्रम स्वीकृत नवीकरण नभएका नेपाली नागरिकलाई श्रम स्वीकृति दिने अभियान चलाउँदा पुरूष र महिला दुवै कामदार लाभान्वित भएको दाबी गरे । त्यसबाट महिला कामदारले बढी लाभ प्राप्त गरेकोे उनले जिकिर गरे ।

मन्त्री भण्डारीले मिटरब्याज र अन्य शोषणबाट बचाउन तथा सेवा शुल्क एकिन गर्न वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई बिनाधितो ऋण उपलब्ध गराउनेसम्बन्धी कार्यविधि बनाइरहेको पनि जानकारी दिए । वैदेशिक रोजगारमा जाने कामदारको सीप विकास मन्त्रालयको प्राथमिकतामा रहेकोे भन्दै उनले मधेश प्रदेशमा व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको तालिम केन्द्र निर्माणका लागि जग्गा प्राप्तिको काम भइरहेको जानकारी दिए ।

त्यसैगरी यसअघिको नियमावली संशोधन गरी वैदेशिक रोजगारीका क्रममा वा नेपाल फर्किएको एक वर्षभित्र मृत्यु भएमा दश लाख रुपैयाँ क्षतिपूर्ति दिने व्यवस्था गरिएको बताउँदै मन्त्री भण्डारीले त्यसबाट मृतकका आश्रित परिवारलाई ठूलो राहत पुगेको बताए ।

वैदेशिक रोजगार ऐन समयसापेक्ष संशोधनको प्रक्रियामा रहेको, श्रम आप्रवासन नीतिको मस्यौदा प्राप्त गरी विभिन्न सरोकारवाला संस्था तथा नागरिकबाट प्राप्त सुझावको अध्ययन भइरहेको, आन्तरिक रोजगार प्रवद्र्धन दशक सञ्चालनको तयारीका लागि रणनीतिक योजनामा परामर्श, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई विपद् व्यवस्थापनसमेतमा परिचालन गर्न सकिने गरी कार्यविधिमा थपलगायतका काम भइरहेको जानकारी दिए ।

सामाजिक सुरक्षा कोषको पुनः संरचना र कोषबाट प्रवाह हुने सेवा सुविधामा सुधार गर्न पूर्वसचिव केवलप्रसाद भण्डारीको संयोजकत्वमा कार्यदल गठन गरिएको, वैदेशिक रोजगार बोर्डको भूमिका र संरचनालगायत आप्रवासनका सबै चरणमा कल्याणकारी कार्यका सम्बन्धमा सुझाव दिन पूर्वसचिव प्रताप पाठकको संयोजकत्वमा कार्यदल गठन भइ प्रतिवेदन तयारी गरिरहेको, वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण तथा प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा अध्ययन कार्यदल गठन भएको उनले बताए । १६औं योजनाका लक्ष्य प्राप्तिका लागि मन्त्रालयले लिनुपर्ने नीति र रणनीतिका सम्बन्धमा प्रदेश र स्थानीय तहसँग छलफल गर्ने तयारी भइरहेको पनि उनले बताए । 

पत्रकार सम्मेलनमा सचिव मुकुन्द निरौला, वैदेशिक रोजगार विभागका महानिर्देशक सुर्यबहादुर खत्रीसहित मन्त्रालयका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise