
काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसिया सरकारले मापदण्ड तोकेर सिन्डिकेट खडा गरेको भन्दै त्यसको विरोधमा संघर्षका विभिन्न कार्यक्रम घोषणा गरेको छ ।
संघका अध्यक्ष भुवनसिंह गुरुङको अध्यक्षतामा शुक्रबार बसेको कार्यसमिति बैठकले सिन्डिकेडका विरुद्ध प्रतिबद्धता नजनाउने वैदेशिक रोजगार व्यवसायीका कम्पनीको नाम सार्वजनिक गर्नेदेखि नेपालस्थित मलेसियाको राजदूतावासमा ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेको महासचिव महेशकुमार बस्नेतले जानकारी दिए । त्यसका लागि कार्यसमिति पदाधिकारी र सदस्यहरूको जिम्मेवारी बाँडफाँट पनि गरिएको छ ।
संघले विभिन्न निकाय तथा संस्थाहरूसँग छलफल गर्न संघका अध्यक्ष गुरुङको संयोजकत्वमा प्रथम उपाध्यक्ष सुजितकुमार श्रेष्ठ, महासचिव महेशकुमार बस्नेत र दुई पूर्वअध्यक्षहरू गरी पाँच जनाको वार्ता तथा समन्वय समिति बनाएको छ ।
संघले सिन्डिकेटधारी र सिन्डिकेट पक्षधरका व्यक्ति, संस्था तथा निकायसँग संघर्ष गर्न संघका द्वितीय उपाध्यक्ष देवकुमार खोखालीको संयोजकत्वमा संघर्ष समिति बनाएको छ ।
त्यस्तै सिन्डिकेटको विरोध वा सहमति नभएको विषय समेटेर प्रतिबद्धता पत्र दिन बाँकी संस्थासँग प्रतिबद्धता पत्र माग्ने र आएका प्रतिबद्धता पत्रहरूको सूचनासमेत सार्वजनिक गर्ने कामको जिम्मेवारी संघका सदस्य भरत सापकोटाले पाएका छन् ।
वार्ताका लागि चिठीपत्र तयार गर्न संघका तृतीय उपाध्यक्ष बैकुण्ठ पौडेललाई तोकिएको छ । संघले नेपाल मेडिकल संघ, नेपाल स्वास्थ्य व्यवसायी महासंघसँग आवश्यकताअनुसार छलफल गर्ने बताएको छ ।
समस्याको समाधान नभएको अवस्थामा नेपालस्थित मलेसियन दूतावासमा आमव्यवसायीहरूसहित शान्तिपूर्ण आन्दोलन गरी ज्ञापनपत्र बुझाउने, व्यवसायी भेला बोलाउने र वैदेशिक रोजगार विभाग घेराउ गर्दै ध्यानाकर्षण गराउनेदेखि केही दिन उडान रोक्न सम्पूर्ण व्यवसायीहरूलाई आह्वान गर्नेलगायतका कार्यक्रमहरू गर्ने निर्णय भएको महासचिव बस्नेतले जानकारी दिए ।