२०८१ मंसिर ७ गते शुक्रवार / Nov 22 , 2024 , Friday
२०८१ मंसिर ७ गते शुक्रवार

सिर्सिया नदीलाई प्रदुषण मुक्त बनाउने प्रयासमा वीरगंज महानगर, लापरवाही गर्नेलाई तीन लाख जरिवाना

ADV
महमद सदाब
२०८१ कार्तिक १० गते ०९:४०
सिर्सिया नदीलाई प्रदुषण मुक्त बनाउने प्रयासमा वीरगंज महानगर, लापरवाही गर्नेलाई तीन लाख जरिवाना

वीरगंजः वीरगंज महानगरपालिका सिर्सिया नदीलाई प्रदुषण मुक्त बनाउने प्रयासमा जुटेको छ । महानगरअन्तर्गतको प्रदुषण नियन्त्रण समितिले बैठक बस्दै बारा औद्योगिक करिडोरका उद्योगबाट निस्किने फोहोरका कारण सिर्सिया नदी प्रदूषित हुँदै आएकोले उक्त नदीलाई  प्रदुषण मुक्त बनाउने निर्णय गरेको महानगर उपप्रमुख इम्तियाज आलमले बताए । ‘सिर्सिया नदीलाई प्रदुषण मुक्त बनाउन नगर प्रमुख र मेरो पहलमा पटक–पटक उद्योगीहरुसँग छलफल भएको छ तर उद्योगीहरुले अटेरी गरी प्रदुषित पानी सिर्सिया नदीमा फाल्छन्’, उनले भने ।

अब भने अनुगमनको क्रममा कुनै पनि उद्योगले लापरवाही गरेको पाइएमा तीन लाखसम्म जरिवाना तिर्नुपर्ने उपप्रमुख आलमले जानकारी दिए । साथै आउँदै गरेको छठमा नदीहरुमा गइ अर्घ्य दिनुपर्ने भएकाले पनि सिर्सिया नदीलाई प्रदुषण मुक्त बनाउनमा महानगर लागिपरेको उनले बताए ।

‘हिन्दुहरुको महान् चाड छठमा छटी मय्यालाई अर्घ्य दिनको लागि श्रद्धालुहरु सिर्सिया नदीमा जाने गरेका छन् । तर उद्योगीहरुको लापरवाहीले गर्दा सिर्सिया नदीमा अर्घ्य दिन सक्ने अवस्था छैन । अब भने सिर्सिया नदीलाई प्रदुषण मुक्त बनाउने अभियान नै चलाउँछौं’, उपप्रमुख आलमले भने । लापवाही गर्नेलाई जरिवाना तिराएर हदसम्मको कारवाही र कानुन बमोजिमको सजाय प्रक्रिया पनि अगागि बढाउने निर्णय बैठकमा भएको उनले बताए । 

यस्तै, उद्योग वाणिज्य संघका प्रतिनिधि मनोज उपाध्यायले नदीमा प्रदुषण सिर्जना गर्ने खालका वस्तु नफाल्न आफूहरुले पटक–पटक पत्राचार गर्दा पनि उद्योगीहरुले नमानेकोमा आपत्ति व्यक्त गरे । त्यसकारण अब कारवाहीको मार्गलाई चुनेर महानगर नदी प्रदुषण मुक्त बनाउने अभियानमा लागेको बताए । 

त्यसैगरी जितपुर सिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारीले आफ्नो नगरमा रहेको उद्योगहरुमा नियमित अनुगमन गरिरहेको बताए । साथै सिर्सिया नदी अतिक्रमण र प्रदुषण मुक्त गर्न आफ्नो नगर पनि वीरगंज महानगरको साथमा रहेको उनको भनाइ थियो ।

वीरगंज महानगर उपप्रमुख आलमको अध्यक्षतामा बसेको उक्त कार्यक्रममा जितपुर सिमरा उपमहानगरपालिकाका उपप्रमुख अधिकारी,  सिमराका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दहाल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक रोषन थापा, जितपुर सिमरा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन प्रसाद शर्मालगायतका प्रतिनिधिहरुको सहभागिता रहेको थियो। वीरगंज महानगरपालिकाले हाल ४६ वटाभन्दा बढी उद्योगहरुमा अनुगमन गर्दै आइरहेको छ। 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise