कालीकोट : कालीकोट जिल्लाको सदरमुकाम मान्ममा सञ्चालन गरिएको आँखा जाँच तथा शल्यक्रिया शिविर सम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघ, जिल्ला आँखा उपचार केन्द्र मान्म कालिकोटको आयोजना, रिड्ले आई फाउन्डेशन नेपालको आर्थिक सहयोग तथा राप्ती आँखा अस्पताल दाङको प्राविधिक सहयोगमा कात्तिक ८ गतेदेखि १० गतेसम्म सञ्चालित ३८औं सर्जिकल आँखा उपचार तथा शल्यक्रिया शिविर सम्पन्न भएको हो ।
शिविरबाट ओपीडी सेवा २३०, मोतियाविन्दु शल्यक्रिया ७४ जना गरी जम्मा ३०४ जनाको आँखा जाँच तथा शल्यक्रिया गरिएको नेपाल नेत्रज्योति संघ, जिल्ला आँखा उपचार केन्द्र कालीकोटका प्रमुख डब्बल अधिकारीले जानकारी दिए ।
शिविर शुरु भएसँगै जिल्लाका नौ वटै स्थानीय तहबाट आएका सेवाग्राहीहरुले सेवा लिएका छन् । आर्थिक अभावका कारण आँखाको उपचार गर्न नसकेकालाई यो शिविर सहयोगी दाता जस्तै भएको स्थानीयहरुले बताएका छन् ।
नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित विभिन्न अस्पतालहरूले विभिन्न संघ संस्थासँगको सहकार्यमा निःशुल्क आँखा उपचार तथा शल्यक्रिया शिविर सञ्चालन गर्दै आइरहेको छ ।