सप्तरी : सप्तरीका विभिन्न पोखरीमा छठ पर्व मनाउने भक्तजनहरुको भिड लागेको छ । छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै छ ।
सप्तरीको छिन्नमस्ता भगवतीको पोखरीमा पनि छठ पर्व मनाउने भक्तजनहरूको भिड लागेको छ । सो पोखरीमा झिलीमिली बत्ती बालेर छठ घाट सजाइएको छ । छठमा सूर्य भगवानलाई डालीमा केरा, ठेकुवा, विभिन्न किसिमका मिठाइहरू चढाइने गरिन्छ ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलबारदेखि शुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफलहोस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो ।
त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।