रौतहटबाट सत्येन्द्र प्रताप सिंह, सिरहाबाट प्रदिप सिंह
लोकआस्थाको महापर्वको रुपमा रहेको छठको बिहीबार तेश्रो तथा मुख्य दिन व्रतालुहरुले भक्तिभावका साथ साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् । छठ मिथिला तथा तराईवासीहरुको सबै भन्दा ठूलो र पवित्र पर्व हो । परिवारका सम्पूर्ण सदस्यहरुको सहभागीता रहने यस पर्वमा हरेक सदस्यले शुद्धता तथा पवित्रता प्रति विशेष ध्यान दिने गर्छन् । निकै कडा धार्मिक नियमका साथ पूजाको तयारी गरिने यस चाडमा चोखो तथा शुद्धताको निकै ध्यान दिने गरिन्छ ।
छठ पूजाको लागि जिल्लाहरुका अधिकांश नदी तथा पोखरी लगायतका जलाशयहरुको किनारलाई सफा सुग्घर पारी श्रृंगारिएको छ । झिलिमिली बत्तिले श्रृंगारिएका छठ घाटहरु यति खेर व्रतालु तथा दर्शनार्थीहरुको लागि तयार छन् । यीनै छठ घाटहरुमा बिहीबार व्रतालुहरुले अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिने छन् ।
संसारलाई जीवन दिने भगवान भाष्कर (सूर्य देव) लाई विधि पूर्वक यस पर्वमा पूजा गर्ने गरिन्छ । चार दिनसम्म मनाइने यो पर्वको बिहीबार तेश्रो दिन सूर्य भक्तिमा लिन भएर पूजाआजा गर्दै साँझ अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिइएको छ भने शुक्रबार आज बिहान उदयमान सूर्यलाई दोश्रो अर्घ दिएपछि विधिपूर्वक यो पर्व सकिनेछ ।
३६ घण्टा लामो निर्जल व्रत
बुधबार बेलुका छठ ब्रतालुहरुले खरना पूजा सम्पन्न गरेका छन् । पूजापछि माटोको चुल्होमा पकाएर तयार पारिएको खिर, रोटी, केरा तथा नुन बिनाको प्रसाद खाएका व्रतालुहरुको ३६ घण्टा लामो निर्जल र निराहार व्रत शुरु भइसकेको छ । बुधबार बेलुका पूजा पश्चात खाएको प्रसादको भरमा रहेर व्रत बसेका व्रतालुहरुले अब शुक्रबार बिहान सूर्यलाई अर्घ्य दिएपछि मात्र अन्न जल ग्रहण गर्नेछन् ।
लगातार ३६ घण्टासम्म निर्जल र निराहार भएर गरिने यो व्रत तराईवासीले निकै आस्था र श्रद्धा पूर्वक मनाउने गर्दछन् । नदी, पोखरी तथा जलाशयको किनारमा पूजा गर्दै शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर घर फर्केपछि मात्र व्रत समाप्त हुनेछ । तराईमा सबै भन्दा बढी श्रद्धा भक्तिका साथ मनाइने भएकोले यो पर्वलाई महापर्व पनि भनिन्छ । छठ व्रत गर्दा शरीरका रोगहरु नाश हुनुका साथै सन्तान प्राप्ति हुने र परिवारमा सुख शान्ति छाउने विश्वास रही आएको हो ।
रौतहट जिल्लाको सदरमुकाम गौर लगायत सरुअठा, गंगा पिप्रा, शिवनगर, गरुडा, कटहरीया तथा चन्द्रनिगाहपुरका लाखौं व्रतालुहरुले भक्तिभावका साथ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ ।
समानताको प्रतीक छठ
लोकआस्थाको यो पर्वलाई समानताको प्रतीकको रुपमा पनि लिने गरिएको छ । नदी तथा पोखरी किनारमा सामुहिक रुपमा छठ गरिरहँदा धनि र गरिब बीचको भेदभाव अनि सानो र ठूलो भन्ने भावनाको पनि अन्त्य भएको देखिन्छ ।
खासगरी उपेक्षित मानिने डुम समुदायले बनाएको बाँसको चोयाको सुपली, नाङ्गलो र डालाको प्रयोग गरिने यस पर्वले छुवाछुतको खाडललाई पनि पुर्ने काम गरेको छ भने समाजमा सबै मानिसको अस्तित्व हुन्छ भन्ने समेत स्वीकार गराएको छ । डुम समुदायलाई यति खेर आफूले बनाएको बाँसका सामग्री बेच्न भ्याइ नभ्याईको अवस्था छ ।
छठ पर्व एक यस्तो पर्व पनि हो जसमा पुरोहित वा पुजारीको प्रयोग नै हँुदैन । अन्य पर्वहरुमा पुजारी र पण्डितले विधिपूर्वक पूजा गराएपनि छठमा उनीहरुको प्रयोग हुँदैन । सामुहिक रुपमा बसेका व्रतालुहरुले पूर्ण विधि विधानले स्वमम् आफँै नै भक्तिभावका साथ चार दिनको पूजा सम्पन्न गर्छन् ।
अन्य चाडपर्वहरुमा देवीदेवताको मूर्ति वा प्रतिमालाई पूजा गर्ने चलन रहेपनि छठ पर्वमा भने अस्ताउँदो र उदयमान सूर्यलाई प्रत्यक्ष हेरेर नै व्रतालुहरुले अर्घ्य दिने गर्छन् । पृथ्वीलाई जीवन दिने सूर्यलाई नै भगवानका रुपमा पूजा गर्ने यो पर्वमा उदाउँदो मात्रै होइन अस्ताउँदो सूर्यको समेत पूजा गर्ने गरिन्छ ।