एजेन्सी: इंग्लिस अलराउन्डर बेन स्टोक्सले क्रिकेटका सबैखाले फर्म्याट तत्काल नखेल्ने निर्णय लिएका छन्। स्टोक्सले आफ्नो मानसिक स्वास्थ्यलाई प्राथमिकता दिन र चोट लागेको देब्रे हातको औंलालाई आराम दिन अनिश्चित समयका लागि सबैखाले क्रिकेटबाट बिदा बस्ने निर्णय गरेका हुन्।
भारतसँग घरेलु सिरिज सुरु हुनु अगाडि उनले यो निर्णय लिएका छन्। उनको निर्णयले इंग्ल्यान्डलाई दबाब परेको छ। शुक्रबार इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले उनले विश्राम लिन चाहेको जनाएको छ। इंग्ल्यान्ड र भारतबीच अगस्ट ४ देखि टेस्ट सिरिझ खेल्ने कार्यतालिका रहेको छ।
३० वर्षीय स्टोक्सले मानसिक स्वास्थ्य प्राथमिकतामा राख्न विश्राम लिने निर्णय गरेको बताएका छन्। यसै वर्ष हुने टी-२० विश्वकप पनि उनी हुने नहुने अन्योल छ।
इसिबीले एक विज्ञप्ति जारी गर्दै स्टोक्सले औंलाको चोटका कारण पनि विश्राम लिएको जनाएको छ। उनी यसै महिना क्रिकेटमा फर्किए पनि उनको औंलाको चोट ठिक भएको थिएन।
इंग्ल्यान्डका पुरूष क्रिकेट टिमका म्यानेजिङ डाइरेक्टर एशले जाइल्सले इसिबीले स्टोक्सको निर्णयको सम्मान गर्ने बताए। इंग्ल्यान्डका पूर्व स्पिनर जाइल्सले भने‚ 'आफ्नो भावना र आफ्नो राम्रोका लागि खुलेर कुरा गर्ने साहस गरे। जुन निकै राम्रो हो। महिनौंसम्म सुरक्षा घेरा (कोरोना प्रोटोकल) भित्र रहेर खेल्दा खेलाडिमा मानसिक असर स्वभाविक हो। केही समय परिवारसँग आराम गर्न चाहानु निकै राम्रो हो। पछिल्लो १६ महिनादेखि हामी यही पीडामा छौं।'
उनले आवश्यक पर्दा स्टोक्स जुनसुकै बेला आउने विश्वास ब्यक्त गरे। भारत सिरिजका लागि स्टोक्सको स्थानमा क्रेग ओवरटनलाई टिममा मौका दिइएको छ।
भारतविरुद्धको खेलका लागि स्टोक्सको इंग्लिस टिममा पुनरागमन गरिएको थियो। उनी न्युजिल्यान्डविरुद्ध जुनमा भएको २ टेस्ट सिरिझमा खेलेका थिएनन्। उक्त समय उनी चोटसँग संघर्षरत रहेका थिए।
चोटका कारण आइपिएलबाट बाहिर
आइपिएल २०२१ को सिजनमा राजस्थान रोयल्सबाट खेलेका स्टोक्स सिर्फ १ खेल खेलेर प्रतियोगिताबाट बाहिरिए। उनले पञ्जाबविरुद्ध क्रिस गेलको क्याच लिने क्रममा औंलामा चोट बोकेका थिए।
उनी दोस्रो इनिङमा ब्याटिङका लागि आएका थिए। तर त्यसपछि उनको औंलामा फ्याक्चर भएको पुष्टि भएपछि उनी प्रतियोगिताबाट बाहिरिएका थिए।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies