– प्रीति आत्रेय ज्ञवाली, कम्बोडिया
पढ्दा शब्द बुझेर अर्थिन गए पढ्दा हुने भो मजा
बुझ्दैनन् यदि अर्थ पाठक भने पढ्दा त खै के मजा !
लेख्नैपर्दछ भाव पाठक बुझी कस्तो तिनी बुझ्दछन्
बुझ्दैनन् यदि काव्य पाठक भने लेखेर के हुन्छ झन् ।।१।।
उस्तै ज्ञान हुँदैन व्यक्ति सबको शब्दार्थ खुट्ट्याउने
यस्तो हो यसको त अर्थ ल भनी शब्दार्थ नै सम्झिने ।
कोही बुझ्दछ अर्थ एक लटमा के हो त भावै भनी
कोही बुझ्दछ बारबार पढिँदा के हो त अर्थै भनी ।।२।।
कोही बुझ्दछ अर्थ भाव कविता प्रश्नै गरेरै अनि
कोही खोज्दछ कोश नै छ त कता शब्दै त के हो भनी।
लाएरै मन बुझ्न खोज्छ कविता इच्छा भए पाठक
इच्छा नै नभए कसोगरि बुझे काव्यादि नै पाठक ।।३।।
हुन्छन् भिन्न यहाँ त पाठकहरू भावादि बुझ्ने सबै
हुन्नन् भाव समान अर्थ बुझिने सम्पूर्णले एक नै ।
यस्तै ख्याल गरेर सर्जकहरू काव्यादि नै रच्दछन्
बुझ्ने जो जति छन् कवित्व बुझिँदा क्या बात ! नै भन्दछन् ।।४।।
छन्दः शार्दूलविक्रीडित
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies