२०८२ साउन २ गते शुक्रवार / Jul 18 , 2025 , Friday
२०८२ साउन २ गते शुक्रवार
Ads

बीपी राजमार्ग : साउनभर राति १२ घण्टा बन्द

shivam cement
मध्यान्ह
२०८२ साउन १ गते १२:३५
बीपी राजमार्ग : साउनभर राति १२ घण्टा बन्द

काभ्रेपलाञ्चोक : बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आजदेखि एक महिनासम्म राति १२ घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय धुलिखेलले उक्त राजमार्गअन्तर्गत जिल्लाको काभ्रेभञ्ज्याङदेखि सिन्धुली–सीमा नेपालथोकसम्म एक महिनाका लागि रोक लगाइएको जनाएको छ । 

कार्यालयले सार्वजनिक अपिल गर्दै मनसुन सक्रिय रहेको अवस्थामा बीपी राजमार्गमा बाढीपहिरोको सम्भावित जोखिम रहेकाले विपद्जन्य घटना हुनसक्ने भएकाले जोखिम न्यूनीकरणका लागि राजमार्गको उल्लेखित क्षेत्रमा आजदेखि साँझ ५ बजेदेखि विहान ५ बजेसम्म एक महिनाका लागि यातायात सञ्चालनमा रोक लगाएको जनाएको हो । काठमाडौंबाट जाने सवारीलाई जिल्लाको काभ्रेभञ्ज्याङ र काठमाडौंतर्फ आउने सवारीलाई सिन्धुलीको सिमाना नेपालथोकमै रोकिने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । 

उनका अनुसार मनसुनजन्य विपद्बाट हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै यसअघि काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाको सुरक्षा समितिका पदाधिकारीको अन्तरजिल्ला समन्वय समितिको बैठकले गत असार ७ गतेदेखि बीपी राजमार्गमा साँझ ६ः३० बजेदेखि बिहान ५ बजेसम्म करिब दश घण्टा १५ दिन तथा थप असार मसान्तसम्म सोही समयमा सडक सञ्चालनमा रोक लगाइएको थियो । यस अवधिमा काठमाडौंबाट जाने सवारीलाई काभ्रेको काभ्रेभञ्ज्याङ र काठमाडौंतर्फ आउने सवारीलाई सिन्धुलीको खुर्कोटमा रोकिएको थियो । 

बितेका एक हप्ताको समयमा बाढीपहिरोले करिब चार पटक उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा सडक अबरुद्ध भइसकेको छ । गतसाल असोजको बाढीपहिरोले बीपी राजमार्गअन्तर्गत काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको वर्षेखोलासम्मको आठ किलोमिटर सडकखण्डमा सडक नै बगाएका कारण खोलामा कतै एकतर्फ, कतै दुईतर्फी यातायात सञ्चालन हुनेगरी अस्थायी सडक सञ्चालनमा ल्याइएको छ । 

बाढीपहिरोले राजमार्गको कुल १६० किमीमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा बढी क्षति पुर्‍याएको थियो । कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामासमेत अघि बढाइरहेको छ । पूर्वीनेपाल जोड्ने छोटो दुरीका रूपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौं यातायातका साधन आवतजावत हुने गर्छ । 

ADV

सम्बन्धित खबर

Advertise