हरिकृष्ण काफ्ले, चन्द्रपुर–४, रौतहट
(१)
फस्टाउने शक्ति भए, संसार ढाक्छ एउटै बिउले ।
महाभारत युद्व भाथ्यो, दाजुभाइको सानै निउँले ।
हस्तिनापुर हातपार्न कैयौं युद्व लड्नु पर्छ,
विपनामा जीउ लाग्दैन, सपनामा खाको घिउले ।।
(२)
जस्को हातमा घाउ देख्छु ठेलादेख्छु खील देख्छु,
अक्सर तिनकै वरिपरि, परिस्थिति जटील देख्छु ।
कस्ले कोर्यो समाजको कारुणींक चित्र यस्तो ?
छचल्किने हर आँखामा,उन्मुक्तिको अपील देख्छु ।।
(३)
कि चिप्लाले मार्छन् बाजि, कि मालदार हुनुपर्छ ।
यो संसारमा टिकिराख्न, कि खुंखार हुनुपर्छ ।
घरवारदेखि बिरक्तेर मान्छे जोगी बनी हिँड्छन्
जोगी भाको भोलिपल्टै, पाकेटमार हुनुपर्छ ।।
(४)
गजब देख्छु दुनियाँको, चालचलन गजब हेख्छु,
कुनै घरमा रुवाबासी, कुनै घरमा उत्सव देख्छु ।
जीवनजलको अभावमा कतै जीवन धरापमा छ,
कतैचाहिँ कालोधनको, वेसुमार फैलाव देख्छु ।।
(५)
न कुराले छाकटर्छ, न छानामा कलम छाउनु,
नियति नै बनिसक्यो, लाञ्छना र जलन पाउनु ।
अन्यौलमै बित्नेभयो यो ‘हरि’को जिन्दगानी !
सयौं घाउ जीउमा छन्, कुनमा मात्रै मलम लाउनु ?
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies