२०८२ असार १५ गते आइतवार / Jun 29 , 2025 , Sunday
२०८२ असार १५ गते आइतवार
Ads

डोल्पाको त्रिपुराकोट स्वास्थ्य चौकीमा दुईदिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन

shivam cement
पुर्ण कुमार
२०८१ कार्तिक २३ गते ११:४९
डोल्पाको त्रिपुराकोट स्वास्थ्य चौकीमा दुईदिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन

डोल्पा : हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१ स्थित त्रिपुराकोट स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजना तथा त्रिपुरासुन्दरी नगरपालिका डोल्पाको समन्वयमा दुईदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

स्वास्थ्य शिविरको शुक्रबार कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा सामाजिक विकासमन्त्रीसँगै सामाजिक विकास मन्त्रालयका सचिव दीर्घबहादुर पोखरेल, कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खतिवडा, सुर्खेत आँखा हस्पिटलका अधक्ष्य तथा सुर्खेत रेडक्रस सोसाइटीका सभापति रामलाल आचार्य, औषधि वितरण संघ कर्णाली प्रदेशका अध्यक्ष प्रेम भण्डारीलगायतको उपस्थिति रहेको थियो ।

दुर्गम जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका क्षेत्रका नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको सामाजिक विकास मन्त्रालयका सचिव पोखरेलले बताए । दुई दिनसम्म सञ्चालन हुने स्वास्थ्य शिविरमा कर्णाली प्रदेशका विशेषज्ञ चिकित्सकले सेवा दिने त्रिपुरासुन्दरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख तुलबहादुर श्रेष्ठले जानकारी दिए । शिविरमा आँखा, कान, घाँटी, नाक, हाडजोर्नीलगायत स्वास्थ्यसम्बन्धी चेकजाँच गरिने छ ।

दुईदिने निःशुल्क स्वास्थ्य शिविरमा नेपाल रेडक्रस सोसाइटी र सुर्खेत आँखा अस्पतालको आयोजनामा निःशुल्क मोतियाबिन्दुको शल्यक्रियासमेत गरिने भएको छ । त्रिपुरासुन्दरी नगरपालिका, नेपाल रेडक्रस सोसाइटी, तिलगंगा आँखा अस्पताल, सुर्खेत आँखा अस्पतालको आर्थिक तथा प्राविधिक सहयोगमा तथा नेपाल रेडक्रस डोल्पा शाखा दुनै र उपशाखा त्रिपुराकोट डोल्पाको आयोजनामा निःशुल्क मोतियाबिन्दु शल्यक्रिया शिविरको आयोजना गरिएको हो । 

सुर्खेत आँखा अस्पतालका अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटी सुर्खेतका सभापति आचार्यले रेडक्रसले दुर्गम जिल्लाका हरेक क्षेत्रमा विपद्मा समेत सहयोग गर्दै आइरहेको बताए । 'रेडक्रससँग दुर्गम जिल्लाका स्थानीय तहले समन्वय गरी आफ्नो क्षेत्रका नागरिकको अन्धोपनाको समस्या जागरूकताका साथ लागेर अन्त्य गर्नुपर्छ,' उनले भने, 'रेडक्रसले स्थायीरूपमा हस्पिटलको निर्माण गरी सेवा दिइरहेको छ र हरेक वर्ष यस्तै शिविरको समेत आयोजना गर्दै आइरहेको छ ।'

दुईदिने शिविर शनिबार समापन हुने छ । शिविरमा जटिल प्रकारका शल्यक्रिया गर्नु परे त्रिपुरासुन्दरी नगरपालिका तथा सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको आर्थिक सहयोगमा प्रदेश अस्पताल सुर्खेतमा निःशुल्क गरिने समेत बताइएको छ ।

ADV

सम्बन्धित खबर

Advertise