२०८१ मंसिर ७ गते शुक्रवार / Nov 22 , 2024 , Friday
२०८१ मंसिर ७ गते शुक्रवार

फाल्गुनन्द जयन्ती : 'सत्य धर्म मुचुल्का' समाज सुधारको उच्चतम नमुना

ADV
लेखनाथ सिकारु
२०८१ कार्तिक २५ गते १२:१७
फाल्गुनन्द जयन्ती : 'सत्य धर्म मुचुल्का' समाज सुधारको उच्चतम नमुना

१६औं राष्ट्रिय विभूति तथा समाज सुधारक फाल्गुनन्द लिङ्देनको १४०औं जन्म जयन्ती आइतबार उनको कर्मभूमि पाँचथरसहित देश विदेशमा विभिन्न कार्यक्रमका साथ मनाइएको छ । विक्रम संवत् १९४२ कात्तिक २५ गते इलाम जिल्लाको तत्कालीन इभाङ ५ चुक्चिनाम्वा (हाल माङसेवुङ २) मा जन्मिएका नरध्वज लिङ्देन कर्मले फाल्गुनन्द हुन पुगेका थिए । उनी सिकिस्त बिरामी परेपछि निको हुने भन्ने जनविश्वासका आधारमा फलामका चुरा लगाइ दिएपछि फलामसिं हुँदै कर्मले फाल्गुनन्द भएर उदाएको पाइन्छ ।

१६ वर्षमा बर्मामा ब्रिटिश सैनिकको रुपमा काम गर्न थालेका उनले युद्धमा काटमार र मानव-मानवको हत्या हिंसा देखेपछि उनी मानव-मानवबीचको लडाइँ र काटमारबाट विश्व शान्ति नहुने भन्दै सैनिक जागिरसमेत छाडेर नेपाल फर्किएका थिए । त्यसपछि उनी पाँचथरको अहिलेको फिदिम नगरपालिका ३ चोकमागुलगायतका क्षेत्रमा लिम्बू समुदायमा भएको धर्म संस्कार र संस्कृतिमा देखा परेका विकृति, विसंगति र सुधार गर्नुपर्ने पक्षका बारेमा सचेतना जगाउने काममा लागेका थिए ।

उनले लिम्बूहरूको जन्म, विवाह, मृत्यु संस्कारलाई समयानुकूल परिवर्तनका लागि कार्य गरेका थिए । संस्कृतिभित्र झाँगिएका विकृतिलाई समयननुकूल परिमार्जन र परिवर्तन गरेर सभ्य र सुसंस्कृत समाज निर्माण गर्नुपर्छ भन्ने नैतिक सन्देश उनले जगाएका थिए । पूर्वको लिम्बुवानी समाजका सुधारक, मुन्धुम (लिम्बू जातिको वेद)को संरक्षणकर्ता, ध्यानी योगी तथा धार्मिक अगुवाका रुपमा फाल्गुनन्दलाई चिनिन्छ ।

No description available.

उनले ८ वर्षकै उमेरबाट हत्या हिंसा गर्न हुँदैन, झुटो बोल्न हुँदैन, नारीहरू सृष्टिकर्ता भएकाले उनीहरुलाई समाजमा उच्च सम्मान दिनुपर्छ, आफ्ना कूल देवतालाई चोखो नितो भइ बिहान बेलुका पूजा आराधना गर्नुपर्छ, मासु मांस तथा मदिरा पान गर्न हुँदैन, देवी देवतालाई मासु मांस र मदिरा चढाउन हुँदैन भन्ने जस्ता कुराहरु अभियानकै रुपमा सञ्चालन गरेका थिए ।

तत्कालीन अवस्थामा धर्म संस्कार र संस्कृतिको रुपममा देखिएका विकृति, विसंगति र कुरीतिहरुलाई संशोधन गरी राम्रा रीतिरिवाजको संरक्षण र खराब कुराहरुलाई सच्याउनुपर्ने भन्दै विक्रम संवत् १९८८ वैशाख २५ गते तत्कालीन १० लिम्बूवान १७ थुमका सामाजिक व्यक्तित्वको भेला गराइ पाँचथर जिल्लाको फिदिमस्थित लब्रेकुटीमा धर्म संस्कार र संस्कृतिमा देखा परेका विकृति कुरीति र कुसंस्कारको विरुद्ध १० बुँदे सत्य धर्म मुचुल्का तयार गरी प्रचार प्रसारका साथै लागू गरिएको थियो ।

उनले ताप्लेजुङसँग जोडिएको कुम्भकर्ण हिम शृंखलालाई किराँतीहरुको पवित्र धार्मिक स्थत तथा तीर्थ स्थलको रुपमा विकास समेत गरेका थिए । सोही अनुरूप अहिलेसमेत किराँतहरूसहित विशेषगरी कोशी प्रदेशका बासिन्दाले कुम्भकर्णलाई पवित्र स्थलको रुपमा आराधना गर्ने गरेका छन् । उनले त्यस बेलामा समेत आन्तरिक तथा बाह्य पर्यटनलाई बढावा दिने प्रयास गरेको पाइन्छ ।

किराँतीहरुको मौलिक धर्म र संस्कृतिको प्रचार प्रसार गर्दै भारत, भुटान र नेपालका विभिन्न स्थानमा भ्रमण गरेका उनले तत्कालीन अवस्थामा देशद्रोहीको आरोप समेत खेप्नु परेको थियो । लिङ्देनको विक्रम संवत् २००५ मा पाँचथरको इम्वुङ गाविस (हाल फाल्गुनन्द गाउँपालिका २) हाङयक भन्ने स्थानमा मृत्यु भयो । उनको मृत्युपछि किराँत धर्म संस्कार र संस्कृति मान्ने साथै उनको समाज सुधारको अभियानलाई मान्ने संघ संस्थाले कात्तिक २५ गते जन्म जयन्ती मनाउँदै आएका छन् ।

लिङ्देको समाज सुधारको महान कार्यको सम्मान गर्दै नेपाल सरकारले २०६६ साल मंसिर १६ गते फाल्गुननन्दलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । उनको समाज रुपान्तरणको अभियानलाई महत्व दिइएको छ । सरकारले उनको स्मरणमा २०५० सालमा रु १५ को हुलाक टिकट प्रकाशनमा ल्याएर सम्मान गरेको थियो । यस्तै उनको सम्मान स्वरुप पाँचथर जिल्लामा एक गाउँपालिकाको नाम फाल्गुननन्द गाउँपालिका राखिएको छ । कोशीको दमक, झापा, इलाम, ताप्लेजुङ, पाँचथर हुँदै चीन जोड्ने सडक मार्गलाई पनि नेपाल सरकारले फाल्गुननन्द राजमार्ग नामकरण गरेको छ । यसका अलावा पूर्वमा फाल्गुनन्दका नाममा थुप्रै प्रतिष्ठान र संघ संस्थाहरुले सामाजिक कार्य गरिरहेका छन् । 

समाजको आर्थिक, समाजिक, सांस्कृतिक पक्षको सुधारमा लागेका फाल्गुनन्दले पापले सकिन्छ धर्मले बढिन्छ, बोलेन भने झगडा हुँदैन, हजारौं तारा भएर के हुन्छ एउटा जुनले काम चल्छ, खराब धेरै छोरा भएर के हुन्छ एउटा असल सन्तानले घर सुहाउँछ जस्ता समाज सुधारका उपदेशहरु अहिलेसमेत उपयोगी र समयसापेक्ष छन् । आफ्नो मौलिकतालाई बिर्सेर पथ भ्रष्ट हुनु हुन्न, धर्म संस्कार र संस्कृतिका नाममा तडक भडक गर्नु हुन्न, आफ्नो गच्छेअनुसार धर्म संस्कार र संस्कृति मनाउनुपर्छ, मदिरा सेवन गरी आर्थिक र समाजिक रुपले भ्रष्ट हुनु हुन्न, अरुलाई खुसी तुल्याउन अरुको ज्यान लिनु हुन्न अर्थात पशु बली गर्नु हुन्न, भगवानको पूजा आराधना त नैवेद्य तथा फलफूल चढाएर गर्नुपर्छ जस्ता सामाजिक चेतना फैलाएर समाज सुधारमा लागेका फाल्गुनन्दको समाज सुधारको नीति विश्वसामु अनुकरणीय छ ।

राष्ट्रिय विभूति, किराँत धर्मका पथ प्रदर्शक, अहिंसाका पूजारी, मानव कल्याण र विश्व शान्तिका पक्षधर साधक तथा दार्शनिक फाल्गुनन्दको कर्म भूमि तथा तपोभूमि पाँचथरको लब्रेकुटी समाधिस्थल रहेको छ । यसलाई किराँत धर्मका अनुयायीहरुले पवित्र भूमिको रुपमा मान्ने गरेका छन् । नेपाल सरकारले राजा जनक, सीता, गौतम बुद्ध, अंशु वर्मा, राम शाह, पृथ्वी नारायण शाह, भीमसेन थापा, अमरसिं थापा, बलभद्र कुंवर, भक्ति थापा, त्रिभुवन, कलाकार अरनिको, युवाकवि मोतिराम भट्ट, आदिकवि भानुभक्त आचार्य, समाज सुधारक शंखधर साख्वा, महिला पर्वतारोही पासाङ ल्यामु शेर्पापछि समाज सुधारक महागुरु फाल्गुनन्द लिङ्देनलाई १६औं राष्ट्रिय विभूतिको रुपमा घोषणा गरेको थियो ।

फाल्गुनन्दका प्रमुख कार्यहरु

फाल्गुनन्द किराँत समुदायका धर्मगुरु भएपनि पूर्वी नेपालमा बसोबास गर्ने सबै समुदायले समान श्रद्धा र आस्था राख्ने व्यक्तित्व हुन् । उनले तयार पारेको सत्यधर्म मुचुल्का तत्कालीन अवस्थामा सबैभन्दा महत्वको विषय हो । लिम्बू समुदायका परम्पराभित्रका कुसंस्कारहरुलाई परिवर्तन गर्न तत्कालीन १० लिम्बूवान क्षेत्रका शासक, विद्वान र धार्मिक तथा सामाजिक अगुवाहरुलाई वि.सं. १९८८ साल वैशाख १० गते पाँचथरको फिदिमा भेला गराइ फाल्गुनन्दको अगुवाइमा सत्यधर्म मुचुल्का खडा भएको थियो ।

सत्यधर्म मुचुल्कामा छोरी चेलीको विवाह गर्दा सोत–रीत (पैसा) लिन नहुने, भगवानको पूजा गर्दा प्राणीको हत्या गर्न नहुने, मद्यपान र मासु सेवन कम गर्दै लैजाने, मृत्यु संस्कार तीन दिनमा सम्पन्न गर्नेजस्ता समाज सुधारका महत्वपूर्ण सामाजिक र सांस्कृतिक पक्षहरु समेटिएका छन् ।

No description available.

मुचुल्का र समाजसुधार

सत्यधर्म मुचुल्का निर्माण भएको दिन वैशाख १० गतेलाई समाज सुधार दिवसको रुपमा मनाउने गरिएको छ । सत्यधर्म मुचुल्काले किराँत समुदायको धार्मिक, सांस्कृतिक र पारम्परिक पक्षलाई सुधार गर्ने महत्वपूर्ण प्रयत्न गरेको किराँत समुदायका अगुवाहरुको भनाइ छ । यसअघि किराँत समुदायमा छोरीको विवाहमा सुन, चाँदी, नगद, मासु र रक्सीको माग गर्ने चलन थियो । मुचुल्का खडा भएपछि मात्रै छोरीलाई विवाहमा मोल नै तोकेर सोतरित लिने चलन अन्त्य हुँदै गएको पाइन्छ ।

लिङ्गीय विभेद र दमनबाट संस्कृतिलाई अलग राख्नुपर्नेमा मुचुल्काले जोड दिएको पाइन्छ । मुचुल्काले सबै प्राणीको अस्तित्वलाई सम्मान गर्ने र सबै प्राणीलाई भगवानको सन्तानको रुपमा व्याख्या गर्ने प्रयास गरेको छ । शाकाहारी जीवन पद्धतिमा मुचुल्काले जोड दिएको छ । मादक पदार्थ तथा मदिरा सेवनले सामाजिक र आर्थिक रुपमा नकारात्मक असर पार्ने भएकोले यसको सेवन नगर्ने कुरा मुचुल्कामा समावेश गरिएको छ । मुचुल्का निर्माण भएको झण्डै एक शताब्दीपछि पनि यसको सान्दर्भिकता अझै बढ्दै गएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise