२०८२ कार्तिक ११ गते मङ्गलवार / Oct 28 , 2025 , Tuesday
२०८२ कार्तिक ११ गते मङ्गलवार
Ads

जेनजी आन्दोलन र पुराना दलमाथिको चुनौती

shivam cement
ईश्वर बुढाथोकी
२०८२ कार्तिक ११ गते ०६:०५
जेनजी आन्दोलन र पुराना दलमाथिको चुनौती

नेपालको राजनीतिक धरातल हाल एक नयाँ मोडमा प्रवेश गरेको छ, जहाँ सत्ताका पुराना सूत्रहरू, दलका पुराना अभ्यास र नेतृत्वका पुराना सोच युवा पुस्ताले प्रत्यक्ष प्रश्न गर्न थालेका छन् । यो पुस्ता हो, ‘जेन–जी’ अर्थात् उत्तरआधुनिक युगमा जन्मिएका, विश्वका प्रवृत्तिहरूमा जोडिएका, प्रविधि र सञ्जालका माध्यमबाट सोच्ने र प्रतिवाद गर्ने पुस्ता । यो पुस्ता राजनीतिक आदर्शका ठुला भाषणभन्दा पनि व्यवहारका परिणामहरूलाई विश्वास गर्छ । जसले विगत दुई दशकमा दलहरूले दोहोर्‍याउँदै आएका वाचा र प्रतिबद्धताका खाली खोल देखेको छ । संविधान र कानुनका नाममा भ्रष्टाचार, नातावाद र असक्षमता ढाकछोप गरिँदा उनीहरूमा आक्रोश जाग्नु स्वाभाविक थियो ।

जेनजीको आन्दोलन कुनै एक दलको विरोध वा कुनै नारा मात्र थिएन, यो त बिस्तारै थिचिँदै गएको युवा चेतनाको विस्फोट थियो । उनीहरूले सडकमा देखाएको शान्तिपूर्ण प्रदर्शन देशमा दसकौंदेखि थिचिएको असन्तुष्टिको अभिव्यक्ति थियो । तर दुर्भाग्यवश, सरकारले समयमै बुद्धिमत्ता देखाउन सकेन, जसको परिणामस्वरूप ठुलो मानवीय क्षति र राष्ट्रिय सम्पत्तिको विनाश भयो । यो केवल राजनीतिक असफलता होइन, राज्य संयन्त्रकै असंवेदनशीलताको प्रतिफल थियो ।

सत्तामा बस्नेहरूले आन्दोलनलाई सुरुवातमै गम्भीरतापूर्वक लिएर संवाद खोजेका भए, घुसपैठकारी तत्वहरूले मौका पाउने थिएनन् । बरु असन्तुष्ट युवाहरूलाई देश विकासमा सहभागी गराउन सकिन्थ्यो । तर यहाँ त ठुला दल आफ्नै सत्ता समीकरणमा रमाइरहेका थिए, जसले देशलाई संकटको दिशातिर धकेल्यो ।

जेनजी पुस्ता अब केवल ‘टिकटक बनाउने’ वा ‘सोसल मिडियामा रमाउने’ पुस्ता होइन भन्ने कुरा यो आन्दोलनले स्पष्ट ग¥यो । उनीहरू विश्व नागरिक हुन्– जो नेपालका सिमानाभित्र रहेर पनि विश्वका हरेक राजनीतिक रूपान्तरणमा सहभागी अनुभूति गर्छन् । जब उनीहरूको सञ्जाल, अभिव्यक्ति र स्वतन्त्रतालाई प्रतिबन्ध लगाइन्छ, त्यसको प्रतिवाद पनि उनीहरूले विश्वस्तरीय ढंगले गर्छन् । यो पुस्ता मूलतः व्यवहारवादी छ । उसले नेताहरूको भाषणभन्दा तिनको आचरण मापन गर्छ । दसकौंदेखि दलहरूले ‘सफा शासन’, ‘शून्य भ्रष्टाचार’ र ‘नयाँ नेपाल’का नारा दिए तर व्यवहारमा तिनै दलका नेताहरू अनियमितता र व्यक्तिगत लाभमा लिप्त रहे । जेनजीले यो दोधार देख्यो र सोध्यो– के देश केवल नारा र वाचा बाँड्ने मञ्च हो ?

जेनजीको आक्रोशको मूलमा असमानता, बेरोजगारी र भ्रष्टाचार छन् । उनीहरूलाई लाग्छ, नेपाल प्राकृतिक स्रोतसाधनले धनी छ तर नेतृत्वको लोभ र स्वार्थले देश गरिब बनाएको छ । उनीहरूले देखे, आफूभन्दा अगाडिका पुस्ता वैदेशिक रोजगारीमा गएर देश छोड्न बाध्य भए । त्यसै मार्गमा आफू पनि हिँड्नुपर्ने भविष्य देख्दा उनीहरू असहज भए र अन्ततः सडकमा ओर्लिए । त्यो आन्दोलन अल्पकालीन थियो तर त्यसले सत्ता र पुराना दलहरूमा गहिरो धक्का दियो । जनताको चेतना फेरि जाग्यो, नेताहरूले आत्ममूल्यांकन गर्न बाध्य भए । जेनजी आन्दोलनले सन्देश दियो– जनताको सहनशीलता अनन्त हुँदैन, जब नेतृत्व अकर्मण्य हुन्छ, परिवर्तनको लहर अनिवार्य बन्छ ।

जेनजी आन्दोलनले अर्को महत्वपूर्ण पाठ पनि दियो– लोकतन्त्रमा नेतृत्व दलको आशीर्वादले होइन, जनताको विश्वासले तय हुन्छ । अब कुनै पनि निर्वाचनमा उम्मेदवार जनमुखी निष्ठा, इमानदारी र लोकप्रियताका आधारमा छनोट हुनुपर्छ । नातावाद र पैसाको बलमा टिकट बाँड्ने पुरानो चलन अब टिक्दैन भन्ने चेतावनी यो आन्दोलनले दिएको छ ।

नेपालको राजनीतिक इतिहास हेर्दा, २०१५ र २०४८ सालको पहिलो निर्वाचनमा केही हदसम्म इमानदार र निष्ठावान् उम्मेदवारहरू अगाडि आएका थिए । तर २०५१ सालपछिका चुनावहरूमा आफन्तवाद, पैसाको खेल र नेताको तजबिजले दलहरूभित्र नै लोकतन्त्र हरायो । जेनजी आन्दोलनले त्यस संस्कृतिलाई नै चुनौती दिएको छ, नेता भक्ति र दल भक्ति ठुलो होइन ।

यस आन्दोलनको अर्को गहिरो सन्देश छ– राजनीति अब धनसञ्चयको माध्यम होइन, सेवाको माध्यम हुनुपर्छ । राजनीतिज्ञको सम्पत्ति पारदर्शी हुनुपर्छ, मिहिनेत र वंशजको कमाइबाहेक बाँकी सम्पत्ति राष्ट्रको नाममा फिर्ता गर्नुपर्छ भन्ने आवाज यो पुस्ताबाट उठ्नु अनौठो होइन । जेनजी पुस्ताले केवल प्रश्न गरेको छैन, उनीहरूले नैतिकताको नयाँ मानक पनि देखाएका छन् । उनीहरूले देखाएका शान्तिपूर्ण प्रदर्शन, अनुशासन र नागरिक चेतनाले नेपालको लोकतान्त्रिक आन्दोलनको रूपरेखा नै बदल्ने संकेत दिएको छ । यो आन्दोलनले देखाएको बाटो भावी राजनीतिका लागि नैतिक दिशानिर्देश बन्न सक्छ ।

अब जिम्मेवारी पुराना दल र नेताहरूको हो, उनीहरूले यो चेतनालाई बेवास्ता गर्ने दुस्साहस गर्नुहुँदैन । यदि दलहरूले यो सन्देश नबुझे, आत्ममूल्यांकन नगरे र पार्टी शुद्धीकरणको बाटो नअपनाए, इतिहासले तिनलाई किनारा लगाइदिनेछ । हामीले गणेशमान सिंह, मनमोहन अधिकारी, तुलसीलाल अमात्य, कृष्णप्रसाद भट्टराईजस्ता नेता देख्यौं, जसको राजनीतिमा इमानदारी र निष्ठा थियो । तर ती गुणहरू पछि पुस्तामा हराउँदै गए । जेनजी आन्दोलनले अब त्यस इमानदारीको पुनरुत्थानको माग गरेको छ । राजनीतिक दलहरूले अब एकअर्कालाई सिध्याउने संर्कीण मनोभावमा उल्झिएर होइन, आत्मसुधारको बाटो रोज्नुपर्छ । जसरी वैज्ञानिकहरूले गल्तीबाट सिकेर नयाँ खोज गर्छन्, राजनीतिले पनि जनताको असन्तुष्टि र आक्रोशलाई सुधारको अवसरका रूपमा लिनुपर्छ ।

लोकतन्त्रमा आन्दोलन दोष होइन, यो त सुधारको माध्यम हो । जेनजी आन्दोलनले लोकतन्त्रको विकल्प अधिनायकवाद होइन, सुधारिएको लोकतन्त्र हो भन्ने सन्देश दिएको छ । अब जिम्मेवारी दल र राज्यका निकायहरूको हो, यो चेतनाको लहरलाई दमन होइन, सम्बोधन गर्ने उपाय खोजिनुपर्छ ।

देशलाई बलियो, पारदर्शी र उत्तरदायी बनाउन अब नयाँ सोचको नेतृत्व चाहिन्छ । जसले युवा पुस्ताको विश्वास जित्न सकोस्, जसले शासनलाई शक्ति होइन, सेवा ठानोस् । जेनजी आन्दोलनले हामी सबैलाई एउटा स्पष्ट चेतावनी दिएको छ– यदि नेतृत्वले समयमै आफूलाई सुधार्न सकेन भने इतिहास फेरि नयाँ पुस्ताको हातबाट लेखिनेछ । र त्यो इतिहासमा भ्रष्टाचार, नातावाद र स्वार्थका लागि ठाउँ हुनेछैन ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise