२०८१ चैत ३० गते शनिवार / Apr 12 , 2025 , Saturday
२०८१ चैत ३० गते शनिवार
Ads

सामुदायिक विद्यालयका छात्राहरुलाई आत्मरक्षा तालिम

draupadi film
महमद सदाब
२०८१ कार्तिक २७ गते १९:५८
सामुदायिक विद्यालयका छात्राहरुलाई आत्मरक्षा तालिम

वीरगञ्ज : वीरगञ्ज महानगरपालिकाले नगरभित्र रहेका सामुदायिक विद्यालय तथा निजी विद्यालय गरी करिब १० हजार भन्दाबढी छात्राहरुलाई आत्मरक्षाका लागि एक दिने तालिमको आयोजना गरेको छ ।

महानगरभित्र रहेको कक्षा ६ देखि १२ सम्मका छात्राहरुलाई तालिम दिन लागिएको हो । बुधबार बिहान १० बजेबाट शुरु हुने प्रशिक्षण कार्यक्रममा वीरगञ्जका सामुदायिक तथा निजी विद्यालय गरी  करिब १० हजार बढी छात्राहरुको सहभागिता रहनेछ ।

वीरगञ्ज महानगर पालिकाका प्रमुख रजेशमान सिंहका अनुसार एकसाथ १० हजार भन्दा बढी किशोरीलाई आत्मरक्षाको तालिम दिएर विश्व रेकर्डसहित गिनिज बुकमा धेरै किशोरीलाई एक साथ तालिम दिएर महानगरले विश्व कीर्तिमानमा  नाम लेखाउने तयारी समेत भएको छ ।

यो तालिम सफल रुपमा सम्पन्न भएमा वीरगञ्जको नाम अन्तर्राष्ट्रिय रुपमा चर्चित हुने भएको हुँदा आम नगरबासीलाई कार्यक्रम सफल पार्न नगर प्रमुख सिंहले आग्रह गरेका छन् । 

वीरगञ्ज महानगरपालिकाको आयोजना तथा नेपाल भारत सहयोग मञ्चको समन्वयमा भारतका ख्यातिप्राप्त मार्शल आर्ट प्रशिक्षक डाक्टर चिता यजनेश शेट्टीलाई बोलाएर किशोरीहरुलाई प्रशिक्षण दिन लागिएको र किशोरीहरूलाई आत्मरक्षामा प्रशिक्षित गर्दै भविष्यका लागि तयार पार्ने प्रयास मात्रै नभइ महानगरलाई एक सकारात्मक पहिचान दिने लक्ष्य बोकेको र बुधबार हुन लागेको प्रशिक्षणलाई व्यवस्थित बनाउन महिला स्वयंसेवीहरु खटाइने महानगपालिकाका उपप्रमुख इम्तियाज आलमले बताए । 

उनले भने,‘महानगरको यस कदमले किशोरीहरूको सुरक्षामा मात्र नभइ समग्र समाजमा सकारात्मक प्रभाव पार्नेछ ।’ आदर्शनगर रंगशालामा हुने प्रशिक्षणको सम्पूर्ण तयारी भइसकेको र छात्राहरुलाई ल्याउने लैजाने व्यवस्थासहित सुरक्षाको व्यवस्था मिलाइसकिएको वीरगञ्ज महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले जानकारी दिए ।

भारतबाट आएका प्रशिक्षक शेट्टी अभिनेता, निर्देशक, निर्माता, मार्शल आर्टिस्ट र फिटनेस प्रशिक्षक समेत हुन् । शेट्टीले अमिताभ बच्चन, सलमान खान, अजय देवगन, गोविन्दा, फरहान अख्तर, ऋतिक रोशन, रेखा, करिश्मा कपुर, रवीना टन्डन, माधुरी दीक्षित, रोजर मूर, ज्याकी च्यान जस्ता धेरै बलिउड र हलिउड स्टारहरूलाई आत्मरक्षा सम्बन्धी प्रशिक्षण दिइसकेका छन् ।

ख्यातिप्राप्त प्रशिक्षकद्वारा दिइने तालिमले छात्राहरु (किशोरी) आत्मरक्षाका लागि सक्षम हुने विश्वास नेपाल भारत सहयोग मंचका अध्यक्ष अशोक वैद्यले व्यक्त गरे ।

पत्रकार सम्मेलानमा प्रशिक्षक शेट्टीले आफू नेपालका छात्राहरुलाई प्रशिक्षण दिन आउन पाउँदा खुसी लागेको बताए ।   

महानगरको यो पहललाई बिरगंज वासीले सकारात्मक रूपमा लिएका छन् । नगरका विभिन्न सामाजिक तथा महिला संगठनहरूले यो तालिमले किशोरीहरूको आत्मविश्वास बढ्ने र भविष्यमा चुनौती सामना गर्ने क्षमतामा वृद्धि हुने विश्वास व्यक्त गरेका छन् । वीरगञ्जका स्थानीयबासिन्दा समेत यो तालिमको तयारी देखेर उत्साहित छन् ।

तालिम सफलतापूर्वक सम्पन्न भएमा वीरगञ्जको नाम वर्ल्ड रेकर्डमा समावेश हुनेछ, जसले नगरको पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा अझ बलियो बनाउनेछ । तालिमले अन्य महानगरहरूलाई पनि यस्ता कार्यक्रम गर्ने प्रेरणा दिने सम्भावना रहेको  छ ।

ADV

सम्बन्धित खबर

Advertise