डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति निर्वाचित भएपछि संसारभर पर्ने असरबारे बहस चलिरहेको छ । विशेषगरी विश्व अर्थतन्त्र, युद्ध, आप्रबासी समस्यासँग सम्बन्धित असरहरुबारे अनेक अनुमान भइरहेका छन् । ट्रम्प राष्ट्रपति निर्वाचित भए लगत्तै विश्वका धनीहरुको धन अझ धेरै बढिरहेको तथ्य सार्वजनिक भएको थियो । राष्ट्रपति निर्वाचित हुने निश्चित भएसँगै ट्रम्पले एलन मस्कको खुलेरै प्रशंसा गरेका थिए । समर्थकहरु सम्बोधन गर्ने क्रममा मस्कलाई नयाँ स्टारको परिचय दिएका थिए । ठूला ब्यापारीहरु ट्रम्पको जितमा उत्साहित बनेका छन् । उनलाई जिताउन पनि धनी ब्यापारीहरु नै लागेका थिए । उनका प्रतिस्पर्धा कमला ह्यारिसले मध्यम वर्ग, सामाजिक न्याय, कल्याण जस्ता एजेण्डालाई प्राथमिकतामा राखेकाले ट्रम्प धनी ब्यापारीको पक्षमा उभिन पुगेका थिए । अवैधानिक बाटो भएर अमेरिका जानेहरुमाथि कडाइ गर्ने र वैधानिक तरिकाले अमेरिका जानेबारे पनि ट्रम्पले अनुदार नीति लिन सक्ने अनुमान गरिदैछ ।
यी सबै भन्दा बढी आशा गरिएको विषय हो, युद्ध । मध्यपूर्वमा चलिरहेको युद्ध रोक्ने भूमिका ट्रम्पले खेल्छन् भन्ने ठूलो विश्वास देखिन्छ । ट्रम्पले चुनाव जित्नुअघि र जितेपछि पनि युद्ध रोक्ने सार्वजनिक घोषणा गरेका छन् । अहिले चलिरहेको रुस–युक्रेन युद्ध होस् अथवा हमास र इजरायल युद्धमा कतै न कतै अमेरिकाको भूमिका रहेकाले पनि ट्रम्पको घोषणामा विश्वास गरिएको प्रष्ट छ । यदि एउटा पक्षलाई अमेरिकाले नबोक्ने हो भने युद्ध नलम्बिने धेरैको विश्लेषण छ । नेपालीहरुमा पनि ट्रम्पप्रति त्यही विश्वास छ । उनले युद्धको विपक्षमा उभिने निर्णय लिए भने त्यसको लाभ नेपाललाई पनि पुग्नेछ । किनकि रोजगार, शिक्षा, ब्यापार र अरु कुटनैतिक निकायहरुमा काम गर्नेगरी नेपालीहरु संसारभर फैलिएका छन् । युद्धरत क्षेत्रमा पनि नेपाली छन् । युक्रेन र रुसबीच चलिरहेको युद्धमा त नेपालीहरु त्यहाँका सेनामा भर्ती भएरै लडिरहेका छन्, ज्यान गुमाइरहेका छन् । त्यसैले ट्रम्पले युद्ध रोक्ने घोषणा गर्दा नेपालीले आशाका साथ हेरेका हुन् ।
युद्ध रोकियोस् र त्यसमा ट्रम्पको भूमिका रहोस्, त्यो सकारात्मक र स्वागतयोग्य कुरै हो । युद्धका कारण नेपालीहरुले ज्यान गुमाउने मात्र नभएर त्यसको प्रत्यक्ष असर देशभित्रै परिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा परेको असरका कारण नेपाली उपभोक्तामाथि मूल्यको चर्को बोझ बढिरहेको छ । त्यसैले संसारभर फैलिएका नेपालीहरुका निम्ति मात्र नभएर मुलुकको अर्थतन्त्रको सुधारमा पनि युद्ध बाधक बनिरहेको छ । तर ट्रम्पप्रति आशा गर्नु वा नगर्नु अलग विषय हो । सोच्नुपर्ने कुरा भनेको जोखिमयुक्त क्षेत्रमा युवाहरुलाई पुग्न नदिने र सुरक्षित तरिकाले मुलुकमा ल्याउने विकल्प हो । देशभित्रै नागरिकले सपना देख्ने अवस्था सिर्जना गर्नु हो । त्यो नै दीर्घकालीन समाधान हो । अन्तर्राष्ट्रिय परिस्थितिको सुधार र बिगारलाई सहायक कुरा मात्र मान्नुपर्छ ।