काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको महाष्टमीको दिन आज बिहान काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गरेकी छन्।
पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित भगवती मन्दिरमा उनले आज बिहान करिब दश मिनेट पूजाअर्चना गरेकी हुन्। उनी बिहान १०ः३० बजे मन्दिर पुगेकी थिइन्। राष्ट्रपति भएपछि उनले यो मन्दिरमा पूजाअर्चना गरेको तेस्रोपटक हो। गत वर्ष कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण मन्दिरमा हुने पूजाआजा रोकिएको थियो।
राष्ट्रप्रमुखले बडादशैँको अवसरमा पलाञ्चोक भगवतीको दर्शन गर्ने परम्परा चलिआएको छ। राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसी, पनौती नगप्रमुख भीम न्यौपाने, धुलिखेल नगरप्रमुख अशोककुमार ब्याञ्जू, बनेपा नगरप्रमुख लक्ष्मीनरसिंह वादे श्रेष्ठ, पलाञ्चोक भगवती विकास तथा सेवा समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, पाँचखाल नगर उपप्रमख लक्ष्मी दनुवारलगायत स्थानीय जनप्रतिनिधिले स्वागत गरेका थिए।
हेलिकप्टरमार्फत पाँचखालस्थित नेपाली सेनाको शान्ति तालिम केन्द्रमा अवतरण गरेकी राष्ट्रपतिलाई कडा सुरक्षाका साथ करिब पाँच किलोमिटर दूरीमा अवस्थित मन्दिरसम्म पुयाइएको थियो ।
करिब १७ सय वर्षअघि अर्थात् संवत् ४२५ मा मानदेव प्रथमको पालामा स्थापित पलाञ्चोक भगवती, नक्साल भगवती र शोभा भगवती दिदीबहिनीमध्ये पलाञ्चोक भगवती ठूली दिदी हुन् भन्ने लिच्छवीकालीन किंवदन्तीमा उल्लेख भएको पाइन्छ। यो मन्दिरमा विशेष गरी दशैँ, माघे सङ्क्रान्ति र वैशाख पूर्णिमामा भक्तजनको घुइँचो हुने गर्दछ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies