२०८१ मंसिर ६ गते बिहिवार / Nov 21 , 2024 , Thursday
२०८१ मंसिर ६ गते बिहिवार

सिरहामा नवजात शिशुको असामयिक मृत्यु : उपचारको अभाव कि दुर्भाग्य ?

ADV
मध्यान्ह
२०८१ कार्तिक २९ गते २३:१७
सिरहामा नवजात शिशुको असामयिक मृत्यु : उपचारको अभाव कि दुर्भाग्य ?

 प्रदीप सिंह/मध्यान्ह

सिरहा । सिरहाको औरही गाउँपालिका–५ की राधादेवी दासले गत सोमबार बर्धमान अस्पताल, गोलबजारमा शल्यक्रियामार्फत नवजात शिशुलाई जन्म दिइन् । तर, शिशुको कमजोर स्वास्थ्यको कारणले गर्दा अस्पतालको प्रयासको बाबजुद पनि नवजातको असामयिक मृत्यु भएपछि यो घटनाले संवेदनशीलता थपेको छ।

राधादेवीलाई प्रादेशिक अस्पताल सिरहाबाट गम्भीर अवस्थामा रेफर गरिएको थियो। अस्पतालमा आउँदा बच्चाको दुई खुट्टा बाहिर निस्किएको अवस्था थियो। बर्धमान अस्पतालका सञ्चालक डा. तेज शंकर यादवका अनुसार, बच्चा उल्टो अवस्थामा रहेकोले आमा र बच्चा दुवैको ज्यान जोखिममा थियो। “परिवारको सहमतिपछि शल्यक्रिया गरियो, जसमा आमालाई सफलतापूर्वक बचाउन सकियो। तर बच्चाको तौल कम भएकोले थप उपचार आवश्यक थियो,” डा. यादवले जानकारी दिए ।

अस्पताल प्रशासनले नवजात शिशुको प्राथमिक उपचारको थालनी गरेको भए पनि भेन्टिलेटर अभावका कारण परिवारलाई तुरुन्त नजिकको अस्पताल लैजान सुझाव दिएको थियो। तर अन्य अस्पताल लैजाने क्रममा शिशुको बाटोमै मृत्यु भएपछि यो घटनाले स्वास्थ्य सेवामा आधारभूत पूर्वाधारको अभावबारे प्रश्न खडा गरेको छ ।

घटनापछि परिवार शोकमा छ। तर, राधादेवीकी सासू जलेश्वरी दासले भने अस्पतालको सेवा र चिकित्सकहरूको प्रयासप्रति सन्तुष्टि व्यक्त गर्दै थप अनुसन्धानमा सहयोग गर्ने प्रतिवद्धता देखाइन्। उनले भनिन्, 'यहाँका चिकित्सकहरूले आमा र बच्चाको ज्यान बचाउन सकेसम्म प्रयास गर्नुभयो ।'

यस घटनामा राधादेवीको माइतीपक्षले शिशुको मृत्युप्रति असन्तोष व्यक्त गर्दै प्रहरीमा उजुरी दिएपछि प्रहरीले घटनाको आवश्यक अनुसन्धान थालिसकेको छ। अनुसन्धानअन्तर्गत मृतक शिशुको शव निकालेर पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल लहान पठाइएको छ।

अर्कोतर्फ, बर्धमान अस्पतालले भने परिवारका आपसी द्वन्द्वले घटना जटिल बनाएको हुन सक्ने भन्दै अस्पतालमाथि अनावश्यक आरोप नलगाउन आग्रह गरेको छ। अस्पतालका अनुसार, राधादेवीका श्रीमान् चन्दन दास वैदेशिक रोजगारका सिलसिलामा भारतमा रहेका छन्, र अस्पतालले आफ्नो तर्फबाट कुनै लापरबाही नगरेको प्रष्ट पार्दै घटनामा अन्यायपूर्ण आरोप नलगाउन अनुरोध गरेको छ।

ADVADV

सम्बन्धित खबर

Advertise