सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्री र एक राज्यमन्त्री पदमुक्त भएका छन्। मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख देवराज जोशीले उनीहरुलाई पदमुक्त गरेका हुन।
पदमुक्त हुनेमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट सरकारमा सहभागी सामाजिक विकासमन्त्री झपटबहादुर साउद, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेशसिंह धामी र उद्योग, पर्यटन तथा वातावरण राज्यमन्त्री गीतादेवी माल छन्। साथै मन्त्रीद्वय साउद र धामीले सम्हाल्दै आएको मन्त्रालय मुख्यमन्त्री शाहले आफू मातहत राखेका छन्।
मुख्यमन्त्री शाहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका दुई मन्त्री र एक राज्यमन्त्रीलाई पदमुक्त गरिएको जानकारी दिए। उनले भने, ‘केन्द्रमा सत्तासमीकरण फेरिएपछि प्रदेश सरकारमा मन्त्री हेरफेर गर्नुपरेको हो, प्रदेशको विकास र समृद्धिका लागि म सबै दलसँग वार्ता, संवाद सहमतिका लागि खुला छु ।’
काठमाडौं : नेकपा एमालेको प्रमुख सचेतकमा महेश बर्तौला मनोनीत भएका छन् ।
एमाले प्रमुख सचेतक पदम गिरी मन्त्री नियुक्त भएपछि बर्तौलाले प्रमुख सचेतकको जिम्मेवारी पाएका हुन् ।
एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई प्रमुख सचेतक तोकेका हुन् । बर्तौला यसअघि सचेतक थिए ।
यस्तै सचेतकमा भने सुनिता बराल मनोनीत भएकी छन् । प्रमुख सचेतक बनेका बर्तौला र सचेतक बराल दुवैजना अनेरास्ववियुको राजनीति गरेर आएका युवा नेता हुन् ।
काठमाडौं : कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका तीन जना मन्त्रीहरूले राजीनामा दिएका छन् । उनीहरुले मंगलबार दिउँसो पत्रकार सम्मेलन गर्दै राजीनामा दिंदै सरकारबाट बाहिरिएको जानकारी दिएका हुन् ।
अर्थमा बेदराज सिंह, सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्ण कुमार बिसीले मुख्यमन्त्री राजकुमार शर्मासमक्ष राजीनामा बुझाएका हुन् ।
माओवादीका मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन पनि फिर्ता लिएको उनीहरूले पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् ।
काठमाडौं : गण्डकी प्रदेशमा माओवादी केन्द्रका दुई मन्त्री बर्खास्त भएका छन् । नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रका सामाजिक विकास मन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई पदबाट हटाएका हुन् ।
प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार कांग्रेससँग गठबन्धन तोड्दै नेकपा (एमाले) र रास्वपासहित नयाँ गठबन्धन बनाएका थिए । नयाँ गठबन्धनले संघीय र प्रदेश सरकारहरूमा पनि आलोपालो सरकार चलाउने सहमति गरेको थियो ।
संघमा प्रधानमन्त्री दाहालले गठबन्धन तोडेकोले त्यसको असर प्रदेशमा पनि देखिएको छ ।
आरके डिसी/मध्यान्ह
काठमाडौं : अन्ततः सत्ता समीकरण फेरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ समीकरणमा सहभागी दलहरुसँगको सहमतिमा ४ सदस्यीय मन्त्रिपरिषद बनाएका छन् । नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डीपी अर्यालले मन्त्रीको शपथ लिएका छन् ।
१० पुस २०७९ मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले करिब डेढ महिनापछि गठबन्धन परिवर्तन गरेका थिए ।
उनले एमालेसँगको सहकार्य छाडेर नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीसँग मिलेर मन्त्रिपरिषद गठन गरेका थिए ।
जसमा कांग्रेसका ९ जना, माओवादी केन्द्रका ५ मन्त्री र एक राज्यमन्त्री, जनता समाजवादी पार्टीका २ मन्त्री र एक राज्यमन्त्री, एकीकृत समाजवादीका २ मन्त्री र एक राज्यमन्त्री, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका १/१ जना मन्त्री थिए ।
यो समीकरणमा भएका सबै दलका मन्त्री हटेर नयाँले शपथ लिएसँगै प्रचण्ड नेतृत्वमा सरकार बनेको एक वर्षमै तेस्रोपटक सत्ता समीकरण बदलिएको हो । यो सत्ताको रिले दौडमा कांग्रेस र एमाले एक बाहिरिँदा अर्को भित्रिरहेका छन् । यसपटक पनि त्यस्तै भएको हो ।
प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चाबन्दी हुँदै बृहत बामएकतासम्मको लक्ष्य अनुसार नयाँ समीकरण बनाएको बताएका छन् ।
सहिद सप्ताहअन्तर्गत शहिद प्रतिष्ठान नेपालले राजधानीमा गरेको ‘शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा पनि बृहत बाम एकताकै लागि नयाँ समीकरण बनेको बताउँछन् । भन्छन्, ‘समाजवादी मोर्चाबन्दीका माध्यमबाट बृहत बाम एकताको लक्ष्य राखिएको छ । त्यस आधारमा नयाँ समीकरण गरेर अगाडि जान खोजिएको हो ।’
राष्ट्रिय सभामा भागबण्डा
नयाँ सत्ता गठबन्धन बनाएका दलले आठ बुँदे सहमति गरेका छन् । चार दलका प्रमुखले हस्ताक्षर गरेको सहमतिमा राष्ट्रिय सभा अध्यक्षमा माओवादी र उपाध्यक्षमा एमालेलाई समर्थन गर्ने उल्लेख छ । राष्ट्रिय सभाको अध्यक्षको निर्वाचन यही फागुन २९ गते गर्ने कार्यतालिका छ ।
सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलसँग पनि संवाद अगाडि बढाउने बताइएको छ भने चार दलले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अविलम्ब टुंग्याउन पनि सहमति गरेका छन् । माओवादीको चाहनाअनुरुप नेकपा एमालेले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका अधिकांश बुँदामा सहमति जनाइसकेको छ ।
सरकारको काम अघि बढाउन संयुक्त तीन तथा कार्यक्रम बनाउने सहमति पनि चार दलले गरेका छन् ।
मुकुन्द लामिछाने/मध्यान्ह
काठमाडौं : गत वर्ष २५ फागुनमा सम्पन्न राष्ट्रपतिको निर्वाचनदेखि सुरु भएको नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन अन्ततः भत्किएको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १४औं पटक मन्त्रिपरिषद् पुनर्गठन गरी सत्ता समीकरण परिवर्तन गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले यसअघिका सबै मन्त्रीको जिम्मेवारी खोसेका छन् । सबै मन्त्रालयको जिम्मेवारी आफै लिएर प्रधानमन्त्री प्रचण्डले सोमबार नै तीन मन्त्रीलाई नियुक्त गरेका छन् ।
नयाँ मन्त्रीमा माओवादी केन्द्रबाट हितबहादुर तामाङ, नेकपा एमालेबाट पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डीपी अर्याललाई बिना विभागीय मन्त्री नियुक्त गरिएको हो । मन्त्रीहरु नियुक्त भएपछि एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाका पार्टी प्रमुखहरुले हस्ताक्षर गरेर नयाँ राजनीतिक समीकरण घोषणा गरेका छन् ।
उक्त ८ बुँदे सहमति अनुसार, राष्ट्रियसभाको अध्यक्ष माओवादीले र उपाध्यक्ष एमालेले लिनेछन् । अरु सहमतिमा सरकार सञ्चालन सहित संक्रमणकालीन न्याय टुंग्याउने विषय उल्लेख छ । तर मुख्य एजेण्डा सरकारलाई पूर्णता दिने र सञ्चालन विधिलाई सहमतिमा राखिएको छ ।
यसअघि पनि यस्तै सहमति कांग्रेस नेतृत्वको गठबन्धनमा पनि भएको थियो । गत वर्ष २५ फागुनमा पनि प्रचण्डले एमालेसँग गठबन्धन तोडेर कांग्रेससँग सहकार्य गर्दा यस्तै सहमति गरेका थिए । तर कांग्रेससँगको समीकरण एक वर्ष पनि टिकेन ।
अझ कांग्रेसका मन्त्रीहरुले त्यति अवधि पनि काम गर्न पाएनन् । कांग्रेसबाट सरकारमा सहभागी हुने मन्त्रीहरुले गत वर्ष १७ चैत र ५ वैशाखमा शपथ लिएका थिए । फेरि प्रचण्डले समीकरण बदलेकाले मन्त्रिपरिषद् १४औं पटक पुनर्गठन गर्नुपरेको हो ।
अर्थात् प्रधानमन्त्री बनेको १४ महिनामा प्रचण्डले १४औं पटक मन्त्रिपरिषद् पुनर्गठन गरे । यो आफैमा राजनीतिक अस्थिरता रहेको प्रष्ट उदाहरण हो ।
तर अझैपनि राजनीतिक अस्थिरता अन्त्य हुनेमा ढुक्क हुने अवस्था छैन । किनकि वर्तमान संसद्को कार्यकाल भर्खर एक वर्ष सकिदैछ । अझै चार वर्ष बाँकी छ ।
अनि नेताहरुको सत्ताकै निम्ति गठबन्धन बदलिरहने प्रवृत्ति डरलाग्दो देखिएको छ । किनकि अहिलेको सरकारको नेतृत्व गरेको माओवादीसँग संसदमा ३२ सिट मात्रै छ । संसद्को सवैभन्दा ठूलो दल कांग्रेस भने सत्ता बाहिर पुगेको छ ।
नयाँ सत्ता समीकरणभित्र देखिन सक्ने शक्ति संघर्ष र कांग्रेसले सत्ता बदल्ने चाहना राख्दा फेरि पनि राजनीतिक अस्थिरता बढ्ने खतरा देखिन्छ ।
काठमाडौं । नवनिर्मित सत्ता गठबन्धनका चार दलबीच नयाँ गठबन्धन बनाएर जाने लिखित सहमति भएको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीले सोमबार नयाँ गठबन्धन बनाउने र मन्त्रिपरिषद् पुर्नगठन गर्ने लिखित सहमति गरेका हुन ।
सहमतिमा हालका प्रधानमन्त्री पुष्पकमल दाहाललाई नै निरन्तरता दिने, मन्त्रालयको बाँडफाँट सहमतिका आधारमा गर्ने, संक्रमणकालीन न्यायसम्बन्धी कानूनलाई अघि बढाउने, संघीयताको कार्यन्वयन गर्ने जस्ता विषय छन् । त्यस्तै रिक्त राष्ट्रियसभा अध्यक्ष माओवादीले र उपाध्यक्ष एमालेले लिने सहमति भएको छ ।
चार दलले साझा न्यूनतम कार्यक्रम तयार गर्ने र गठबन्धनमा आउन सकरात्मक दलसँग संवादअघि बढाउने समेत सहमति गरेका छन् ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठकले नयाँ गठबन्धनको गुण र दोषका आधारमा सरकारलाई सहयोग गर्ने निर्णय गरेको छ।
पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज केन्द्रीय सचिवालय बैठकले सरकारको उद्देश्य, प्रक्रिया र संरचना प्रस्ट भएपछि पार्टी सरकारमा सहभागी हुने वा नहुने विषयमा छलफल गर्ने निर्णय गरेको पार्टी कार्यालय सचिव जीवनराम श्रेष्ठले जानकारी दिए। ‘नयाँ समीकरणको उद्देश्य, प्रक्रिया र संरचना अझै स्पष्ट भइसकेको छैन, प्रधानमन्त्रीले लिएको निर्णयका उद्देश्य र संरचनाका बारेमा सबै विषय अगाडि आएपछि तिनको गुण–दोषका आधारमा नेकपा (एकीकृत समाजवादी)ले आफ्ना नीतिहरु स्पष्ट पार्नेछ,’ बैठकको निर्णय सुनाउँदै उनले भने।
पछिल्लो समय विकासित राजनीतिक घटनाक्रमले मुलुकमा अर्को राजनीतिक समीकरण निर्माण भएको विश्लेषण गर्दै बैठकले गठबन्धन फेरिएपछिको अवस्थामा पार्टीको धारणा प्रस्ट गरेको हो।बामपन्थी धु्रवीकरणको सम्भावना, समाजवादी मोर्चालगायत विषयमा विस्तृत छलफल गरिएको बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीले सरकारमा रहँदा गरेका कार्यको समीक्षा गरिएको थियो।
कार्यालय सचिव श्रेष्ठका अनुसार सरकारको नेतृत्व गरेको माओवादी केन्द्रले एकीकृत समाजवादीलाई सरकारमा सहभागिताका लागि गरेको आग्रहलाई सकारात्मक रूपमा लिन केही नेताहरूले बैठकमा सुझाव दिनुभएको थियो।
काठमाडौं । नवनियुक्त बिना विभागीय तीन मन्त्रीले शपथ लिएका छन् । सोमबार राष्ट्रपति भवन शितलनिवासमा माओवादी केन्द्रबाट हितबहादुर तामाङ, नेकपा एमालेबाट पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोरप्रसाद अर्यालले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन ।
नयाँ सत्ता गठबन्धनमा भागबन्डा मिलेपछि उनीहरुले मन्त्रालयको जिम्मेवारी पाउने बताइएको छ । सुरुमा तीन जनालाई मन्त्री बनाउने सहमति नयाँ गठबन्धनमा बनेको थियो।
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू नमर्दासम्म देशमा उथलपुथल भइरहने बताएका छन् । सोमबार काठमाडौंमा शहीद प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफू जीवित रहुञ्जेलसम्म देशमा उथलपुथल भइरहने बताएका हुन् ।
गठबन्धन परिर्वतन गरेका प्रधानमन्त्री प्रचण्डले निरन्तरतामा क्रम भंगता भएको बताए । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले सोमबार नेपाली कांग्रेससँग गरेको गठबन्धन तोड्दै नेकपा एमालेसँग नयाँ गठबन्धन गरेका छन् ।
माओवादी निरन्तरतामा रमाएर बस्न नसक्ने भएकाले निरन्तरतामा क्रम भंग गरेको उनको भनाइ छ । घेरा हालेर सिध्याउने कोसिस भएपनि त्यसलाई तोड्दै आएको उनले बताए । उनले भने, ‘म नर्मदासम्म देशमा उथलपुथल भइराख्छ ।’
उनले माओवादी पार्टी नेपाली राष्ट्र र जनताको घोडा भएको पनि टिप्पणी गरे । त्यसैबीच आफूलाई प्रतिक्रियावादीले उपयोग गर्न खोजे कुनै पनि लात्ताले हानेर निस्कन सक्ने पनि बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies