कठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीहरूलाई प्रधानमन्त्री र मन्त्री बनाउनुभन्दा पशुपतिका बाँदरलाई मन्त्री बनाए राम्रो हुने टिप्पणी गरेका छन् ।
शनिबार झापामा आयोजित एमालेको जागरण सभालाई सम्बोधन गर्ने क्रममा तीनकुने घटनाका बारेमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन् ।
तीनकुनेमा शान्तिपूर्ण सभा गर्नेहरू आगजनी, तोडफोड, ढुङ्गा मुढा, आगजनीमा उत्रको भन्दै प्रधानमनत्री ओलीले यस्ता क्रियाकलापले देश नबन्ने बताए ।
यस्ता पात्रले राजा फर्काएर प्रधानमन्त्री, मन्त्री बनाउने भन्दै उनले कटाक्ष गरे । राजा ल्याएर यस्तालाई प्रधानमन्त्री र मन्त्री बनाउनुभन्दा त पशुपतिका बाँदरलाई मन्त्री बनायो भने अलिकति राम्रो हुने प्रधानमन्त्री ओलीले भने ।
तीनकुने घटनाजस्ता हिंसक गतिविधि स्वीकार्य नहुने पनि प्रधानमन्त्री ओलीले बताए ।
ओलीले राजनीति नै नबुझेकाहरू राजा फर्काउन हिँडेको भन्दै व्यंव्य गरे । उनले गाडीको हुटमा चढेर हात हल्लाउँदै हिँडेर राजा नआउने भन्दै राजावादीहरूको गतिविधिको आलोचना गरे ।
नेपालमा अब राजसंस्था फर्कने सम्भावना नभएको बताउँदै प्रधानमन्त्रीले राजनीति भनेको नै थाहा नपाएका ढुंगा हान्न जानेकाले देश चलाउँछु भनेर उधुम मच्चाएको टिप्पणी गरे ।
प्रधानमन्त्री ओलीले आफ्नो पार्टीले सरकारको नेतृत्व गर्दा सधैं सकारात्मक काम भएको जिकिर गरे । ओलीले झापा जिल्लामा पार्टीका संगठनहरू कमजोर हुँदै गएको भन्दै चिन्ता व्यक्त गरे ।
उनले नयाँ जोश, जाँगरका साथ अगाडि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिए ।