२०८१ मंसिर ६ गते बिहिवार / Nov 21 , 2024 , Thursday
२०८१ मंसिर ६ गते बिहिवार

सहकारी प्रकरण : आँखा छल्न बयान-बहाना

ADV
निमिष झा
२०८१ मंसिर ४ गते ०६:४५
सहकारी प्रकरण : आँखा छल्न बयान-बहाना

काठमाडौं : यतिबेला सहकारी ठगी प्रकरणको देशव्यापी व्यापक रूपमा चर्चा चलिरहेको छ । यसै प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने प्रहरी हिरासतमा छन् ।

सहकारी ठगी र संगठित अपराधमा रवि पक्राउ त अहिलेको सर्वत्र चर्चामा रहेको विषय मात्र हो । तर, पछिल्लो १ वर्षमा सहकारीमा भएको अनियमिततासम्बन्धी देशभर कुल १४९ वटा मुद्दा दर्ता भएका छन् ।

एमालेका सांसद् सूर्यबहादुर थापाको संयोजकत्वमा सरकारले १५ जेठमा ‘सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति’ गठन गरेको थियो ।

तत्कालीन प्रतिपक्षी र हालको प्रमुख सत्ता घटक नेपाली कांग्रेसको मागबमोजिम छानबिन समिति गठन गरिएको थियो । सुरुवातमा रास्वपाका सभापति तथा पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेले सहकारीको रकम हिनामिना गरेको चर्चा चौतर्फी चुलिए पनि पछिल्लो समय अन्य नेताहरूको नाम पनि यस प्रकरणमा जोडिन थालेको हो ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनअनुसार संघीय सरकारअन्तर्गत दर्ता भएका २२ वटा सहकारीको मात्र ३६ अर्ब २८ करोड ९६ लाख ८१ हजार ७८० रुपैयाँ अपचलन हुँदा ६२ हजार १८१ बचतकर्ता पीडित छन् । 

समितिले प्रतिवेदन दिएपछि सत्ता र प्रतिपक्षमा रहेका नेताहरू एकपछि अर्कोगरी मुछिने क्रम बढ्दै छ ।

रास्वपा र उसका नेता तथा समर्थकहरूले भनेजस्तै सहकारी ठगीमा लामिछानेबाहेक कोही पनि पक्राउ नपरेका भने होइनन् ।

प्रहरीले २ कात्तिकमा काठमाडौंबाट लामिछानेलाई प्रक्राउ गरेको हो । उनी अहिले प्रहरी हिरातमा छन् । कास्की जिल्ला अदालतले सहकारी ठगी मुद्दामा लामिछानेसँगै १४ जनालाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

पोखराको सूर्यदर्शन सहकारीको ६५ करोड रुपैयाँ ठगी प्रकरणमा गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेको संलग्नता देखिएपछि संसदीय समितिले गरेको सफारिसका आधारमा लामिछाने पक्राउ परेका हुन् ।

लामिछानेका व्यापारिक साझेदार छविलाल जोशी पनि कास्की प्रहरीको हिरासतमा छन् । जोशी पनि लामिछाने जस्तै गोर्खा मिडिया नेटवर्क प्रा.लि.का संचालक थिए । सहकारी ठगीको आरोपमा गोर्खा मिडिया नेटवर्कका अर्का संचालक कुमार रम्तेल लामो समयदेखि कास्की कारागारमा छन् ।

बचतकर्ताहरूको १६ अर्ब रुपैयाँभन्दा बढी रकम दुरुपयोग गरेको आरोप लागेका सूर्यदर्शन सहकारी संस्थाका पूर्वअध्यक्ष गितेन्द्रबाबु (जीबी) राईसहित ७ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ पुर्जी जारी गरिसकेको छ तर उनी अहिलेसम्म फरार छन् ।

ठगीमा अरू नेताहरू पनि

सहकारी संस्थाको रकम हिनामिनामा पछिल्लो समय अन्य पार्टीका नेताहरू पनि मुछिएका छन् । ठगी प्रकरणमा उनीहरूको नाम आए पनि अनुसन्धान सुस्त छ भने लामिछानबाहेक कुनै पनि नेता पक्राउ परेका छैनन् । 

सहकारी ठगीमा लामिछाने पक्राउलाई रास्वपाले राजनीतिक प्रतिशोध साँधेको दाबी गरिहेको छ ।

‘सभापति लामिछानेविरुद्ध गरिएको कारबाही राजनीतिक प्रतिशोधको निकृष्ट कृत्य हो’, सोमबार रास्वपाले जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘यो कारबाही सत्तारूढ राजनीतिक दलहरूले रास्वपाको बढ्दो प्रभाव र जनसमर्थनलाई दबाउन गरेको सुनियोजित षड्यन्त्र हो ।’

सहकारी प्रकरणमा दलका नेतामध्ये लामिछाने मात्र पक्राउ पर्नु र अन्य दलका नेताहरूमाथि अनुसन्धान पनि नहुँदा रास्वपाले गरेको दाबीमा अन्यथा नरहेको पनि केही विश्लेषकहरू बताउँदै आएका छन् । लामिछाने पक्राउ पर्दा अरू नेताहरू किन बाहिर ? भन्ने प्रश्न पनि उठ्न थालेको छ ।

अनुसन्धान सुरु नै भएन

सहकारी ठगी प्रकरणमा लामिछाने पक्राउ भएपछि यसमा संलग्न अन्य नेताहरूमाथि अनुसन्धान हुने अपेक्षा थियो । अहिलेसम्म लामिछानेबाहेक कुनै पनि नेतामाथि अनुसन्धान सुरु भएको छैन । सहकारी ठगी प्रकरणमा मुछिएका नेताहरूको फेहरिस्त पनि लामै छ ।

सत्ता साझेदार कांग्रेसका उपसभापति धनराज गुरुङ, एमालेका सांसद्‌ तथा संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल, माओवादी केन्द्रका सांसद्‌ शक्तिबहादुर बस्नेत, रास्वपाका उपसभापति डीपी अर्याल, सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीदेखि कांग्रेस सांसद्‌ शान्ति परियार वि.क.सम्मको नाम मुछिएको छ । यस्तै, राप्रपाकी सांसद गीता बस्नेत पनि मुछिएकी छन् ।

कांग्रेस उपसभापति गुरुङविरुद्ध ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी सेभिङ एन्ड क्रेडिड को–अपरेटिभका अध्यक्ष कुम्भराज गुरुङले उजुरी दिएका छन् । धनराज र उनकी श्रीमती ज्योति मिलेर सहकारीबाट निकालेको १४ करोड ८१ लाख रुपैयाँ नतिरेको भन्दै कुम्भराजले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र एमाले सांसद्‌ थापा संयोजकत्वको संसदीय समितिमा पनि उजुरी दिएका हुन् । यद्यपि, प्रहरीले गुरुङसँग बयान लिएको छ । 

यस्तै, संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल मोरङको धनपालथान गाउँपालिका– ४ मा उमागौरी कृषि सहकारी संस्थामा भएको करोडौं रुपैयाँ ठगीमा मुछिएका छन् । उनकी श्रीमती अञ्जला कोइराला झण्डै १४ करोड रुपैयाँ अपचलनमा मुछिएपछि लेखा समिति सभापति पोखरेलको नाम सहकारी ठगीमा जोडिएको हो । पोखरेलकी पत्नी अञ्जला ऋण नतिरेका कारण डेढ वर्षदेखि कालोसूचीमा छन् । 

रास्वपाका उपसभापति अर्याल हाम्रो नयाँ कृषि सहकारी संस्थाको उपाध्यक्ष हुँदा निक्षेपकर्ताले ४ करोड रुपैयाँभन्दा बढी रकम फिर्ता नपाएको विषय रहेको र त्यसबेला उक्त सहकारीको संचालक समितिको सदस्यमा बुर्लाकोटीसमेत रहेका थिए ।

उक्त रकम हिनामिनामा माओवादी केन्द्रका सांसद्‌ शक्तिबहादुर बस्नेतको पनि नाम जोडिएको छ । उनी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री हुँदा नै सहकारी ठगीमा मुछिएका हुन् ।

तत्कालीन ऊर्जामन्त्री बस्नेत हाम्रो नयाँ कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष हुन् । बस्नेतपछि उनकी पत्नी सत्या पहाडी र त्यसपछि सूर्यबहादुर गुरुङ सहकारीका अध्यक्ष बनेका थिए । गुरुङ नाताले बस्नेतका साला पर्छन् । गुरुङपछि उक्त सहकारीको अध्यक्ष जीबी गुरुङ बनेका थिए । रास्वपा उपाध्यक्ष अर्याल जीबी गुरुङ अध्यक्ष बन्दा उपाध्यक्ष बनेका थिए ।

पछिल्लो समय सहकारी संस्थाको रकम हिनामिनामा कांग्रेस सांसद्‌ शान्ति परियार वि.क.को नाम पनि जोडिएको छ । चितवनको इच्छाकामना गाउँपालिका– ५ मा अवस्थित छिमेकी कृषि सहकारी लिमिटेडबाट लिएको ऋण चुक्ता नगरेपछि उनको नाम सहकारी ठगी प्रकरणमा जोडिएको हो ।

सांसद्‌ वि.क.ले ५ असार २०७१ मा १ लाख ५० हजार रुपैयाँ ऋण लिएर चुक्ता नगरेको सहकारीका अध्यक्ष विष्णुप्रसाद अर्यालले आरोप लगाएका छन् । 

यसअघि एमालेका तर्फबाट संविधानसभा सदस्य रहिसकेका सिभिल सहकारीका संचालक इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएर जेल परिसकेका छन् ।

उनलाई २०८० माघमा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सम्पत्तिको स्रोत नखुलेको भन्दै सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको थियो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले १६ भदौ २०७९ मा इच्छाराजविरुद्ध सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरेको थियो । उनीमाथि सहकारीको रकम आफ्ना विभिन्न कम्पनीमा लगानी गरेको र कम्पनीको नाफा अन्यत्र लगानी गरेको आरोप छ ।

यस्तै, रास्वपाका निलम्बित सांसद्‌ ढाकाकुमार श्रेष्ठ पनि सहकारीको विवादमा मुछिने नेतामा पर्छन् । कास्कीको पोखरास्थित रत्नचोकमा उनी आफैंले स्थापना गरेको साथी किसान सहकारी संस्थाका बचतकर्ताहरूको बचत रकम डुबेको छ ।

एमाले निकट कृष्णबहादुर (केबी) उप्रेती पनि सहकारीको करिब ७ अर्ब रुपैयाँ ठगी गरेको आरोपमा डिल्लीबजार जेलमा छन् ।  प्रहरीले सहकारी ठगीको आरोपमा बाग्लुङको ढोरपाटन नगरपालिका मेयर देवकुमार नेपालीलाई दिल्लीबाट भारतीय प्रहरीको सहयोगमा पक्राउ गरी नेपाल ल्याएको थियो । बचतकर्ताको १ अर्ब ८० करोड रुपैयाँ फिर्ता गर्न बाँकी रहेको अवस्थामा उनी पक्राउ परेका हुन् । सहकारीको अध्यक्ष हुँदा श्रेष्ठले बचतकर्ताको रकम आफ्नै व्यवसायमा लगेर फसाएको आरोप पदाधिकारीको छ । 

नवलपुरको छिपछिपे सहकारी ठगी प्रकरणमा राप्रपा सांसद गीता बस्नेतलाई पक्राउ पुर्जी जारी भएको छ । छिपछिपे सहकारीको रकम हिनामिना पार्ने काम गरेको भन्दै उजुरीका आधारमा प्रहरीले पक्राउ गर्न लागेको हो ।

राप्रपा सांसद बस्नेतसहित केही जनालाई पक्राउ पुर्जी जारी गरिएको प्रहरी स्रोतले जनाएको छ । संघीय संसद् सचिवालयको अनुमति लिएर पक्राउ गर्नुपर्ने भएकाले प्रक्रियामा गएको प्रहरीको भनाइ छ ।

राप्रपा सांसद बस्नेतको संलग्नतामा नवलपुरसहित बुटवल र बर्दियामासमेत गरी सहकारीको रकम ठगी भएको आरोप छ । प्रहरीले बस्नेतमाथि संगठित अपराधमा पनि अनुसन्धान गरिरहेको छ । उनी हाल फरार छन् ।

एमाले बागमती प्रदेश सांसद ज्ञानबहादुर तामाङ पनि सहकारीको रकम अपचलनमा मुछिएका छन् । काठमाडौंको सामाखुसीस्थित नेसनल नमोबुद्ध सहकारीका तत्कालीन अध्यक्ष तामाङसहितका पदाधिकारीका कारण ११ हजार बचतकर्ताको करिब २ अर्ब रुपैयाँ जोखिममा परेको छ । बिचल्लीमा परेका बचतकर्ताका छुट्टाछट्टै समूहले प्रदेश सहकारी रजिस्ट्रार कार्यालयमा उजुरी दिए पनि कुनै सुनुवाइ भएको छैन ।

सहकारी बचत रकम अपचलनमा हालसम्म २४ हजार २२४ बचतकर्ताले प्रहरीमा उजुरी दिएका छन् । ती उजुरीका आधारमा प्रहरीले अहिलेसम्म ६०० जनाभन्दा बढीलाई अनुसन्धानका लागि पक्राउ गरेको छ ।

नेपाल प्रहरीको तथ्यांकअनुसार पछिल्लो २ वर्षमा ३४६ जना पक्राउ परेका छन् । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise