रौतहट : रौतहट गौरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरिएको छ ।
बुधबार दिउँसो गौरस्थित गौरी शंकर क्याम्पस नजिकैको बाँसघारीमा छुरा प्रहार गरी युवकको हत्या गरिएको हो । मृतक राजपुर नगरपालिका वडा नम्बर २ फतुवा महेशपुर निवासी २२ वर्षीय शाबुद्दीन मिया हुन् ।
घटना भए लगतै प्रहरीको टोलीले घाइते अवस्थामा उनलाई अस्पताल पुर्याएको थियो । तर उनलाई डाक्टरहरुले मृत घोषणा गरेका थिए ।
प्रहरीले हत्या गरेको अभियोगमा गौर वडा नम्बर ३ बस्ने सोनु (सनोज राम) लाई नियन्त्रणमा लिएको छ । घटनास्थलबाट लागुपदार्थ (गाँजा) र वाटर गण समेत फेला परेकोले दुई जनाले नै गाँजा सेवन गरेको र विवाद हुँदा हत्या भएको हुनसक्ने अनुमान गरिएको छ ।
यसैबीच मृतकका आफन्तहरूले जिल्ला प्रहरी कार्यालय अगाडि न्यायको माग गर्दै प्रदर्शन गरेका छन् । अबिलम्ब न्याय पाउनको लागि भन्दै स्थानीयहरुले जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।