२०८१ मंसिर ६ गते बिहिवार / Nov 21 , 2024 , Thursday
२०८१ मंसिर ६ गते बिहिवार

भारतीय सेनाध्यक्ष नेपालमा, गोर्खा भर्ती र सैन्य ऋणबारे नेपाल–भारत चासो

ADV
निमिष झा
२०८१ मंसिर ६ गते ०६:४५
भारतीय सेनाध्यक्ष नेपालमा, गोर्खा भर्ती र सैन्य ऋणबारे नेपाल–भारत चासो

काठमाडौं : प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी ५ दिने भ्रमणको क्रममा बुधबार काठमाडौँ आएका छन् ।

गत १६ असारमा सेनाध्यक्ष भएका द्विवेदीको यो पहिलो नेपाल भ्रमण हो । ५ सदस्यीय भ्रमण दलमा उनकी श्रीमती तथा भारतीय सेनाको सैनिक श्रीमती कल्याण संघकी अध्यक्ष सुनिता द्विवेदी पनि सहभागी छन् ।

भ्रमणका क्रममा जनरल द्विवेदीलाई बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम छ । यो कार्यक्रम राष्ट्रपति भवन शीतल निवासमा हुनेछ । नेपाल र भारतबीच सन् १९५० देखि एकअर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा छ ।

यसअघि भारतका राष्ट्रपति रामनाथ कोविन्दले नेपालका तत्कालीन प्रधानसेनापति प्रभुराम शर्मालाई २४ कात्तिक २०७८ मा भारतीय स्थलसेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गरेका थिए ।

यसअघिका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २० भदौ २०७९ मा नेपाली सेनाको मानार्थ महारथी पद प्रदान गरेकी थिइन् ।

सन् १९५० मा भारतका सेनाध्यक्ष जनरल केएम परिअप्पालाई पहिलो पटक नेपाली सेनाको मानार्थ महारथी प्रदान गरिएको थियो । २०२६ सालमा तत्कालीन प्रधानसेनापति सुरेद्रबहादुर शाहलाई पनि पहिलो पटक भारतीय सेनाको मानार्थ महारथीबाट सुशोभित गरिएको थियो ।

मित्र राष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीको यस किसिमको भ्रमणले २ देशबीचको सैनिक सम्बन्धलाई अझ विस्तार एवं प्रगाढ पार्न थप मद्दत पुग्ने नेपाली सेनाका प्रवक्ता गौरव केसीले बताए ।

भारतीय सेनाध्यक्षले राष्ट्रपति पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानवीर राईलगायतसँग भेटवार्तासमेत गर्ने छन् ।

द्विवेदीले १ नोभेम्बर २०२४ देखि भारतीय स्थल सेनाको २९औं प्रमुखको जिम्मेवारी सम्हालेका थिए । यसभन्दा अघि उनी उत्तरी क्षेत्रको सेनाको कमान्डर थिए ।

नेपाली सेनाका अनुसार सेनाध्यक्ष द्विवेदीले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जलि अर्पण र जंगी अड्डामा सम्मान गारतको निरीक्षण गर्ने छन् । उनले कमान्ड तथा स्टाफ कलेजका विद्यार्थीसँग अन्तरक्रिया र पश्चिम पृतनाको भ्रमण गर्ने छन् ।

नेपाल भ्रमणका क्रममा सेनाध्यक्ष द्विवेदीले पशुपतिनाथ र मुक्तिनाथको दर्शन गर्नुका साथै पोखरा तथा सगरमाथा क्षेत्रको समेत अवलोकन भ्रमण गर्ने कार्यक्रम छ ।

नेपाल र भारतका सैनिकबीच विभिन्न तह र तप्कामा ‘सूर्यकिरण सैनिक अभ्यास’ पनि भइरहेको छ ।

२ विषयमा मुख्य चासो

भारतीय सेनाध्यक्ष द्विवेदीको भ्रमणका क्रममा गोर्खा भर्ती र सैन्य ऋणबारे छलफल हुने संकेत अधिकारीहरूले दिएका छन् । 

२ देशका प्रधानसेनापतिबीच हुने भेटमा भारतको गोर्खा भर्तीमा नेपालीको सहभागिताका विषयका कुराकानी हुन सक्ने जनाइएको छ । भारत सरकारले भारतीय सेनामा लागू गरेको अग्निपथ योजनामा नेपालले असन्तुष्टि जनाएपछि गोर्खा भर्ती हुन सकेको छैन । भारत सरकारको यो योजना सन् १९४७ नोभेम्बरमा नेपाल, भारत र बेलायतबीच गोर्खा भर्तीसम्बन्धी त्रिपक्षीय सम्झौताअनुकूल नभएको नेपालको निष्कर्ष छ । 

यस्तै, २०६२ देखि नेपाली सेनाले भारतीय सेनासँग किनेको हतियारसहितका सैन्य सामग्रीको भुक्तानी भएको छैन । नेपालले तिर्नुपर्ने भुक्तानी रकम ४ अर्ब रुपैयाँ पुगेको छ । नेपाली सेनाका लागि खरिद भएका हतियार तथा सैन्य सामग्रीमा भारतले ६० प्रतिशत अनुदान दिएको छ । 

नेपाली सेनाका अधिकारीका अनुसार ऋण नतिर्दा भारतबाट नेपाली सेनालाई चाहिएअनुसार हतियार तथा सैन्य सामग्री खरिद गर्न अप्ठ्यारो भएको छ । नेपालले भारतलाई तिर्नुपर्ने सैन्य ऋण मिनाह गरिदिनुपर्ने पक्षमा छ । भारतीय सेनाध्यक्षसँगको छलफलमा नेपालले यस्तो कूटनीतिक पहल गरिदिन प्रस्ताव राख्न सक्ने नेपाली सेनाका एक अधिकारीले बताए ।

अर्थपूर्ण भ्रमण

प्रधानमन्त्री केपी शर्मा ओली १७ मंसिरमा चीन भ्रमणमा जानुअघि भारतीय स्थल सेनाध्यक्ष नेपाल आएका हुन् ।

यसअघि हालै पनि भारत र अमेरिकाका सुरक्षा निकायका उच्च अधिकारी नेपाल भ्रमण गरी फर्किसकेका छन् ।

अमेरिकी सेनाका लेफ्टिनेन्ट जर्नेल जोसुआ एम. रड फर्किसकेका छन् । यस्तै, भारतीय सीमा सुरक्षा बल (एसएसबी)का महानिर्देशक अमृतमोहन प्रसाद पनि गत हप्ता नेपाल भ्रमण गरी फर्किसकेका हुन् ।

प्रधानमन्त्रीको भ्रमणपूर्व भारत र अमेरिकाका उच्च सैनिक अधिकारीको भएको भ्रमणलाई सुरक्षा मामिलाका जानकार र कूटनीतिज्ञहरूले अर्थपूर्ण मानेका छन् ।

अमेरिकी सेनाका अधिकारी रडको भ्रमण अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता गर्ने उद्देश्यले भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आशंका गरेका थिए ।

यस विषयमा रक्षामन्त्री मानवीर राईले अमेरिकी सुरक्षा अधिकारीको भ्रमण विशुद्ध औपचारिक भएको स्पष्टीकरण दिएका थिए ।

हालै अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको सम्बन्धले दक्षिण एसियाको भूराजनीतिमा प्रभाव पार्न सक्ने अनुमान गरिएका बेला यी २ देशका उच्च सैनिक अधिकारीको नेपाल भ्रमणले नेपालमा राजनीतिक चासो बढेको हो ।

प्रधानमन्त्री ओली चीन भ्रमणमा गएका बेला चीनसँग पाइपलाइनमा रहेको बीआरआई सम्झौता अगाडि बढाइने विषयलाई अहिले भारत र अमेरिकाले नजिकबाट अवलोकन गरिरहेका छन् । भारत र अमेरिका नेपालले चीनसँग बीआरआई सम्झौता नगरोस् भन्ने पक्षमा छन् । 

खासमा ओलीको चीन भ्रमणलाई लिएर अमेरिका र भारतले नेपालमा आफ्ना सुरक्षा अधिकारीहरू पठाएको कतिपयको बुझाइ छ । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा बीआरआई परियोजनाका विषयमा छलफल हुने भनिए पनि सत्ता गठबन्धनको अर्को दल नेपाली कांग्रेस भने विपक्षमा छ । कांग्रेस बीआरआई ऋणमा नभई अनुदानमा लिनुपर्ने पक्षमा छ ।

ADVADV

सम्बन्धित खबर

Advertise