२०८१ मंसिर ११ गते मङ्गलवार / Nov 26 , 2024 , Tuesday
२०८१ मंसिर ११ गते मङ्गलवार

बीआरआईमा सरकार स्पष्ट, कांग्रेसकै लाइनमा एमाले

ADV
निमिष झा
२०८१ मंसिर ११ गते ०६:३०
बीआरआईमा सरकार स्पष्ट, कांग्रेसकै लाइनमा एमाले

काठमाडौं : १७ मंसिरमा चीनको औपचरिक भ्रमणमा जान लागेका प्रधानमन्त्री केपी शर्मा ओलीका लागि गाँठो परेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)को सकस तत्कालका लागि टरेको छ ।

सत्ता गठबन्धनका प्रमुख दल नेपाली कांग्रेसले बीआरआई परियोजनमा ऋण लिन नसिकने स्पष्ट अडान राख्दा प्रधानमन्त्रीको चीन भ्रमणमा बीआरआई के हुने भन्ने आशंका उत्पन्न भएको थियो ।

प्रधानमन्त्री भएपछि पहिलो भ्रमणको रूपमा चीन जान लागेका ओलीमाथि राजनीतिक, आर्थिक र भू–राजनीतिक दबाब छ । त्यही दबाबले गर्दा बीआरआईका विषयमा ओली निर्णायक अवस्थामा पुग्न सकेका थिएनन् ।

आसन्न चीन भ्रमणको विषयमा सुझाव लिन सोमबार पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरूसँग प्रधानमन्त्री ओलीले छलफल गरे ।

छलफलमा प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणका क्रममा बीआरआई ऋणसम्बन्धी कुनै सम्झौता नहुने स्पष्ट पारे । प्रधानमन्त्री ओलीको भनाइ सत्ता साझेदार कांग्रेससँग मिल्दोजुल्दो छ । कांग्रेसले बीआरआईमा ऋण लिनै हुन्न भन्दै अडान राख्दै आएको छ ।

छलफलमा प्रधानमन्त्री ओलीले भ्रमणमा बीआरआई ऋण परियोजना कार्यान्वयनमा हस्ताक्षर गर्ने तयारी नभएको जनाउँदै चीनसँग ऋण लिने र नलिने भन्ने अहिले विवादको विषय नभएको बताए । 

‘हामीलाई आवश्यक भएमा जुनसुकै देश र निकायबाट राष्ट्रिय स्वार्थका आधारमा ऋण वा अनुदान लिन सक्छौं । ऋणको पासोमा पार्न ऋण लिइँदै छ भनेर गरिने अनावश्यक हल्लामा हामी लाग्नु हुँदैन’, प्रधानमन्त्रीले छलफलमा भने ।

सरकारमा रहेका दलहरू कांग्रेस र एमालेबीच भ्रमणका विषयमा विवाद छ भनेर भ्रम फिँजाउनुको कुनै अर्थ नभएको उनको भनाइ थियो ।

छलफलमा प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरूका सुझाव त सुने तर बीआरआईमा सम्झौता गर्ने वा नगर्ने भन्नेमा २ धार देखियो । ओलीले त्यसको जबाफमा बीआरआईमा सम्झौता गर्ने वा नगर्ने प्रस्ट त पारेनन् तर चीनबाट ऋण नलिने भन्ने दोहोर्‍याए । 

बीआरआई परियोजनामा अनुदान, सहुलियत ऋण र व्यापारिक ऋणका विकल्पहरू छन् । अनुदान मात्र लिने भन्नुको अर्थ घुमाइफिराई बीआरआई अस्वीकार गर्नु हो । ऋण नलिने ओलीको भनाइले उनी कांग्रेसको दबाबमा झुकेको अर्थमा विश्लेषण हुन थालेको छ । सत्ताको निरन्तरताका लागि कांग्रेसको दबाबमा बीआरआई कार्यान्वयन योजनामा सम्झौता नहुने संकेत उनले दिएका छन् ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणको क्रममा बीआरआई परियोजना कार्यान्वयन सम्झौता, पोखरा विमानस्थलको ऋण मिनाह र कनेक्टिभिटीलाई सरकारले प्राथमिकतामा राखेको छ । यी ३ वटै योजनामा अगाडि बढ्ने ओलीको संकेतकै कारण कांग्रेसले ओलीमाथि दबाब बढाएको थियो । यसका कारण बीआरआई कार्यान्वयन सम्झौताबाट ओली पछि हटेका हुन् ।

अहिलेलाई बीआरआई सम्झौता अगाडि नबढाउने ओलीको कदममा भू–राजनीतिक स्वार्थ पनि जोडिएको छ । भारत र अमेरिकाले नेपालमा बीआरआई कार्यान्यवन नहोस् भन्ने चाहेका छन् । भारतले प्रधानमन्त्री ओलीलाई भ्रमणका लागि नबोलाएपछि  भारतलाई सकभर नचिढ्याउने पक्षमा ओली छन् । त्यस कारण भारतको अनिच्छाका कारण बीआरआईमा सम्झौता गर्ने मुडबाट पनि ओली पछि हटेका हुन् ।

बीआरआई सम्झौता नगर्ने कांग्रेस र एमाले अहिले एक ठाउँमा उभिए पनि प्रमुख विपक्षी माअ‍ोवादी केन्द्र दोधारमै छ भने नेकपा एकीकृत समाजवादी यसको कार्यान्वयन गर्ने पक्षमा उभिएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले बीआरआई सम्झौता गर्नुपर्ने प्रधानमन्त्रीलाई सुझाव दिए ।

नेपाल र खनालले ऋण लिँदै नलिने भन्ने सोच गलत रहेको भन्दै देशको हितमा हुने सम्झौता गर्नबाट पछि हट्न नहुने सुझाव दिएका थिए ।

बीआरआईमा कांग्रेस विपक्षमा उभिएपछि ओली पनि कांग्रेसकै लाइनमा आइपुगेका छन् । सरकार बचाउने र गठबन्धनको निरन्तरताका लागि ओलीले कांग्रेसको दबाबलाई स्वीकार गरेको विश्लेषण गरिएको छ ।

ओलीले काठमाडौंमा पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरिरहँदा  जनकपुरधाम पुगेर कांग्रेस सभापति शेरबहादुर देउवाले चीनसँग ऋण लिनै नहुने कांग्रेसको अडान दोहोर्‍याए ।

प्रधानमन्त्री १७ मंसिरमा र परराष्ट्रमन्त्री १३ मंसिरमा चीन जाने

प्रधानमन्त्री ओली १७ मंसिरमा चीन भ्रमणमा जाने कार्यक्रम तय भएको छ । चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओली चीनको भ्रमण  गर्दै छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली १७ मंसिरान चीन प्रस्थान गर्ने छन् । १८ मंसिरमा चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री छ्याङसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने छन् ।

राष्ट्रपति जिनपिङ र प्रधानमन्त्री छ्याङसँगको भेटवार्तामा २ देशबीच सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर हुने छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ प्रधानमन्त्रीले दिवाभोज आयोजना गर्ने छन् भने चिनियाँ जनमुक्ति सेनाको गार्ड अफ अनरसहित प्रधानमन्त्री ओलीलाई चिनियाँ नेतृत्वले स्वागत गर्ने छ ।

प्रधानमन्त्री ओली १८ मंसिरमा बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने र नेपाली तथा चिनियाँ उद्योगी व्यवसायीहरूसँग छलफल गर्ने छन् । प्रधानमन्त्री ओली २० मंसिरमा स्वदेश फर्किने छन् ।

प्रधानमन्त्री ओली चीन गए पनि राजधानी बेइजिङबाहेक कुनै चिनियाँ शहर जाने कार्यक्रम छैन । 

प्रधानमन्त्री ओलीको चीन भ्रमणअघि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीन जाने छन् । मन्त्री राणा १४ मंसिरमा बेइजिङ जाने कार्यक्रम तय भएको छ । उनले १४ मंसिरमा चिनियाँ समकक्षी वाङ यीसहित चिनियाँ नेताहरूसँग भेटवार्ता गर्ने छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise