२०८१ मंसिर २७ गते बिहिवार / Dec 12 , 2024 , Thursday
२०८१ मंसिर २७ गते बिहिवार

शिवराजमा बजार अनुगमन, फुटपाथ व्यवस्थापन गर्ने अभियान सुरु

ADV
अर्जुन बेल्बासे
२०८१ मंसिर १२ गते २१:१७
शिवराजमा बजार अनुगमन, फुटपाथ व्यवस्थापन गर्ने अभियान सुरु

कपिलवस्तु : कपिलवस्तुको शिवराज नगरपालिकाले बजार क्षेत्रका सडकपेटी र फुटपाथ खाली गराउने अभियान सुरु गरेको छ । नगरपालिकाले यसअघि पटक–पटक सूचना जारी गर्दा समेत अटेरी भएपछि नगरप्रमुख अजय थापाकोनेतृत्वमा अनुगमन टोलीले बजार अनुगमनलाई तीव्रता दिएको हो । नगर प्रमुख थापाले बजार क्षेत्र व्यवस्थित र सुन्दर बनाउँदै दुर्घटनाको जोखिम कम गर्न फुटपाथ खाली गराउने अभियान सञ्चालन गरिएको बताए ।

नगर प्रमुखको नेतृत्वमा प्रहरीसहितको टोलीले चन्द्रौटा मुख्य बजारदेखि रुद्रपुर चोकसम्मको बजार क्षेत्र अनुगमन गरेको छ । अनुगमनका क्रममा फुटपाथमा व्यापार गर्ने व्यवसायीलाई हटाउनुका साथै म्याद गुज्रेका सामान, फलामका ढक, र सेतो अन्डा जफत गरिएको छ । अनुगमन टोलीले पसलहरूमा मूल्यसूची स्पष्ट देखिने गरी राख्न, बिल बिजक राख्न, र व्यवसायका सम्पूर्ण कागजात व्यवस्थित राख्न निर्देशन दिएको छ । फुटपाथ खाली गराएपछि चन्द्रौटामा सार्वजनिक प्रतीक्षालय निर्माण गर्ने योजना रहेको प्रमुख थापाले बताए । उनले भने, ‘नगरपालिकाले सरसफाइका लागि व्यापक अभियान सुरु गरेको छ ।’ यदि   अटेरी  गरेमा  जरिवानाको व्यवस्था गरेर भए  पनि  अभियान सफल पार्ने बताए । 

नगरपालिकाका कृषि शाखा प्रमुख तारा चन्द्र चौधरीले माछा पसलहरूमा विशेष ध्यान दिइएको बताए । उनले भने,‘सडकपेटीमा अव्यवस्थित रूपमा स्वास्थ्यलाई असर गर्ने गरी माछा बिक्री भइरहेको पाइएको छ । माछा व्यवसायीले ताजा माछा बिक्री गर्नुपर्ने, खरीद गरेको बिल अनिवार्य रूपमा बिक्री स्थलमा राख्नुपर्ने निर्देशन दिएका छौं ।’ यदि यो निर्देशन पालना नगरेको अवस्थामा नियमानुसार कारबाही गरिने उनले बताए । 

 अनुगमनमा म्याद सकिएका सामान जफत गरी नष्ट गरिएको छ भने फोहोर व्यवस्थापन कमजोर पाईएपछि सरसफाइ सुधार गर्न निर्देशन दिइएको छ । मूल्य सूची अनिर्वाय  राख्न निर्देशन दिएको छ । नगरपालिकाकाले बजार व्यवस्थापनलाई सुदृढ गर्न र सर्वसाधारणका लागि सुरक्षित र व्यवस्थित वातावरण प्रदान गर्न भन्दै यो अभियान सुरु गरेको हो ।

ADVADV

सम्बन्धित खबर

Advertise