२०८१ मंसिर १७ गते सोमवार / Dec 02 , 2024 , Monday
२०८१ मंसिर १७ गते सोमवार

नेपाललाई आप्रवासी कामदारको स्रोत मुलुकमा राख्न आग्रह

ADV
रेशमराज पौडेल
२०८१ मंसिर १३ गते ०६:२५
नेपाललाई आप्रवासी कामदारको स्रोत मुलुकमा राख्न आग्रह

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले नेपाललाई इजरायलको आप्रवासी कामदारको स्रोत मुलुकमा राख्न आग्रह गरेका छन् । शिष्टाचार भेटवार्ताका लागि आएका नेपालका लागि इजरायली राजदूत सुमलिक एरी बाससँग बुधबार मन्त्रालयमा भएको  भेटवार्तामा मन्त्री भण्डारीले उक्त आग्रह गरेकाा हुन् ।

इजरायलले नेपालसहित थाइल्यान्ड, फिलिपिन्स, चीन, भारत र श्रीलंकाबाट कामदार लगिरहेको छ । 

भेटवार्तापछि विज्ञप्ति जारी गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाल र इजरायलबीच यसअघि भएको द्विपक्षीय श्रम सम्झौताको कार्यान्वयन, कामदारको स्रोत मुलुकका रूपमा नेपाललाई इजरायलले सूचीकृत गर्ने र इजरायलका दीर्घकालीन स्याहार केन्द्रका लागि केयर गिभरका रूपमा छनोट भएका नेपाली कामदारहरूलाई यथाशीघ्र इजरायल पठाउने  विषयमा छलफल भएको जनाएको छ ।     

मन्त्रालयका सहायक प्रवक्ता वसन्तबहादुर बोहराद्वारा जारी विज्ञप्तिमा मन्त्री भण्डारी र राजदूत बासबीच इजरायलको कृषि, निर्माणलगायत अन्य क्षेत्रमा नेपाली कामदार पठाउनका लागि पहल र सहजीकरण गर्ने, कृषि प्रविधि हस्तान्तरण गर्ने, सीप विकास, भाषा तालिम, स्वास्थ्य परीक्षण, श्रमिकको हक अधिकार संरक्षण र सुरक्षालगायत विषयमा छलफल भएको उल्लेख छ ।

छलफलमा इजरायलका राजदूत बासले इजरायलको केयर गिभिङका क्षेत्रमा नेपाली कामदार उत्कृष्ट रहेका र हाल इजरायलमा युद्ध विरामसमेत घोषणा भइसकेको हुँदा छनोट भएका सबै नेपाली कामदारहरूलाई क्रमशः लैजाने जानकारी दिएको मन्त्रालयले जनाएको छ ।

राजदूत बासले नेपाली कामदारहरूलाई कृषि, निर्माणलगायत अन्य क्षेत्रमा समेत लैजान सकिने धारणा राखेका छन् ।

मन्त्री भण्डारीले रोजगारीका लागि इजरायल जान यसअघि छनोट भई पर्खाइमा रहेका नेपाली कामदारलाई यथाशीघ्र पठाउन परराष्ट्र मन्त्रालयसँग समन्वय र पहल गर्ने बताएका  छन् । नेपालले गत ९ कात्तिकमा नेपाली कामदार इजरायलमा नपठाउने निर्णय गरेको थियो ।  

इजरायल जान केयर गिभरका लागि २ हजार ११२ जना नेपाली श्रमिक छनोट भएका छन् । त्यसमा १ हजार १५६ महिला र पुरुष ९५६ जना छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise